PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

बिब्लाँटेको फूलपाती नोस्टाल्जियाः द्वन्द्वकालीन त्यो स्थिति…



मुकुन्द घिमिरे

बिब्लाँटेको फूलपाती नोस्टाल्जियाः द्वन्द्वकालीन त्यो स्थिति…

‘यस्तो लुगा होइन, मलाई आर्मीको जस्तो लुगा चाहिन्छ। सबैले त्यस्तै किनेका छन्,’ म बाबासँग भन्दै थिएँ।

प्रसंग हो २०६२ साल तिरको। माओवादी जनयुद्ध चलेको थियो। दशैं आएको थियो। दशैं अघि फूलपाती। त्यतिबेला केटाकेटीमा एक प्रकारले रहर थियो आर्मी, पुलिस या माओवादीले लगाएजस्तै कम्ब्याट लगाउने।

हुन त बच्चालाई जे देख्यो त्यही चाहिन्छ। धेरै आर्मी, माओवादी र प्रहरी देखेर होला, हाम्रो पनि उनीहरुहरुको जस्तै कपडा लगाएर फूलपातीमा जाने योजना थियो। त्यसका लागि घरमा बार्गेनिङ चलेको थियो।

अरुबेला त्यस्तो कुनै जात्रा या मेला नलाग्ने बिब्लाँटेमा फुलपातीमा ठूलै उत्सव हुने गर्छ। बच्चादेखि बुढाबुढीसम्म मेलामा आउँछन्। थरीथरी खेल। थरीथरीका मान्छे। वर्षभरी नभेटिएका मान्छेहरु मेलामा भेटिने। फुलपातीमा बिब्लाँटे गएपछिमात्रै दशैं आएजस्तो हुने।

बिब्लाँटेमा फूलपाती हेर्न टाढाटाढाबाट मानिसहरु आइपुग्छन्। सांस्कृतिक कार्यक्रमदेखि पिलो फाइट, डोरी तान्ने, हाजिरी जवाफ, हाँडी फुटाउने, भाले झिक्ने लगायत दर्जन बढी कार्यक्रम हुन्छ।

यसमा केटाकेटीको सुर अर्कौतिर हुन्थ्यो। नयाँ लुगा लगाएर फुलपाती हेर्न जाँदा गफ पनि उही ठाँटका हुने।

‘थाहा छ, पुलिस भन्दा आर्मी खत्रा हुन्छ रे! आर्मी भन्दा माउवादी खत्रा हुन्छ रे,’ मेरो साथी मिलन हामी सबैलाई वरिपरि राखेर गर्वसाथ भन्थ्यो। हुन पनि ठूलामा त्रास थिए, हामीमा चाहिँ जिज्ञासा।

त्यतिबेला खेलौनामा पनि बन्दुक, पेस्तोलहरु आउँथे। रहर पनि त्यही खेलाउन नै लाग्ने। एक पटक त फुलपातीमा किनेको पटका कक्षामा पड्काउँदा कुमार सरको नराम्ररी गाली खाएको थिएँ। धन्न सर नयाँनयाँ भएकाले कुरो घरसम्म पुगेन।

त्यसो त, त्यतिबेला शिक्षकले विद्यार्थी नै चिन्न गाह्रो। माओवादीले निजी स्कुल बन्द गरेकाले हामी एउटै कक्षामा १ सय ७५ जना बस्थ्यौं। पछाडि बस्नेलाई सर आएको नि थाहा नहुने गएको पनि।

भदौ लाग्दादेखि नै दशैं कहिले आउँछ भनेर दिनगन्ती सुरु हुन्थ्यो। त्यसो त, फुलपातीको दिनमात्र अरु मान्छे भेला भए पनि हामी भने घटस्थापना देखि नै फुलपाती आयोजना हुने मैदानमा पुगिसक्थौं। किनकि फुलपातीमा फाइनल सक्ने गरी पहिलेबाटै फुटबल प्रतियोगिता सुरु भइसक्थ्यो।

बिब्लाँटेका दाइहरु फुलपाती कार्यक्रमको तयारीका लगि सक्रियता बढाउँथे। खेल मैदान तयारीदेखि आर्थिक पक्षसम्म बिब्लाँटे आफैले जोहो गर्थ्यो। र, फुलपातीका दिन भने बिब्लाँटे, बरबोटे, ओख्रे, सुम्बेक, सुलुबुङसम्मका मान्छेहरु पनि आइपुग्थे। त्यही स्थानीय स्तरबाट खर्च जोहो गरेरै ठूलो प्रतियोगिता आयोजना गर्नु चानचुन विषय होइन।

बिब्लाँटेमा फुटबल आयोजना गर्न धेरै गाह्रो। डाँडाको मैदान। एक पटक राम्ररी बल हान्यो भने तल गल्छीमा पुग्ने। अझ ठूलो मैदानमा अभ्यास गरेर आएका खेलाडीहरुको त ठूलै प्रहार। धेरै हान्दा गोलहरु हराउने।

हामी चाहीँ त्यो हराएको बल खोजेर ल्याउन जान्थ्यौं। एकपटक बल ल्याएबापत एउटा चुइङ्गम मिल्थ्यो। कहिलेकाहीँ त सबै बल हराएर खेल नै रोकिन्थ्यो। यिनै समस्याबीच फुटबल आयोजना चाहिँ हुन्थ्यो।

‘माथिबाट सहयोग आउँदैन’ भनेको पनि सुन्ने गर्थें। तर, कहाँबाट के आएन मेरो समझ बाहिरको विषय थियो। बाहिरी सहयोग नआउँदा मैदानको प्रतिस्थापन भने हुन सकेन। तर, समस्याहरुको बाबजुत फुलपातीले भने निरन्तरता पाइरह्यो।

फुलपातीको दिन माहोल अर्कै हुन्थ्यो। फुटबलको फाइनल र अरु रमाइला खेल। बिहानै भेला भएका केटाकेटी विभिन्न प्रतियोगितामा भाग लिएर भाले झिक्न जान्थे।

म त त्यसै पनि रुख चड्न नसक्ने। बाँसमा त कहिल्यै आँट आएन।

भाले झिक्ने प्रतियोगितामा एउटा लामो बाँस खुर्केर गाडिएको हुने। अझ चिल्लो बनाउन तेल पनि दल्दिने। त्यसको टुप्पामा एउटा पेरुङ्गो। त्यो पेरुङ्गोलाई जसले छुनसक्यो, भाले उसैको। भाले जित्न धेरैले प्रयास गर्थे। तर, चिल्लो बाँसमा चढेर भाले झिक्न कहाँ त्यति सजिलो हुन्थ्यो र!

अझ, दशैंमा किनेको नयाँ लुगा लगाएर गएका केटाकेटीले त कति लुगा विगारे बिगारे। तर, यो एकदमै मनोरञ्जको श्रोत थियो। दिनभरी बाँस चढेर पनि कसैले पेरुङ्गो छुन नसके जो माथि पुग्थ्यो त्यही विजेता हुन्थ्यो।

त्यहाँ भेला हुने युवाहरु भने पिलो फाइट र डोरी तान्न सुरिन्थे। पिलो फाइटमा दुईवटा बाँस गाडेको हुन्छ। र, त्यसमा माथिबाट अर्को बाँस अड्याएको हुन्छ। त्यो माथिको बाँसमा २ जना प्रतिस्पर्धीलाई राखिन्छ। उनीहरुलाई हिर्काउन सिरानी दिइन्छ। जो विपक्षीको प्रहार सहेर आफू पनि प्रहार गर्दै एउटा बाँसमा धेरैबेर टिक्छ, उही विजेता। यो हेर्न पनि सारै रमाइलो।

फूलपातीमा हुने पिलो फाइट, छेलो र डोरी तान्नेमा गाउँ घरका कहलिएका बलियाहरु आउँथे। तिनीहरुको बल हेर्न अरु मान्छे।

 

फूलपातीले फेरेको मनोविज्ञान

६१/६२ साल तिर माओवादी जनयुद्द चर्को। कहिले ‘गाविस पड्काए रे!’ भन्थे। कहिले ‘इलाम भिडन्त भयो रे’ भन्थे। कहिले सानविरेमा ‘माओवादीले आर्मी मारे रे’ भन्थे। म सानै थिएँ। ठूलाको कुरा धेरै बुझ्दिन थिएँ। तर, मजस्तै साथीहरु बीच भने यस्ता कुराको चर्चा परिचर्चा धेरै फैलिन्थ्यो।

‘बन्दुकको गोलीको माला बनाएर लगायो भने राति भुतले तर्साउँदैन रे,’ साथी झलक आत्मविश्वासी हुँदै भन्थ्यो, ‘मँसँग सानविरेको भिडन्तमा भेटाएको गोली छ।’

म त्यसै पनि राति डराउने। डाह लागेर आउँथ्यो उसको कुराले।

माओवादी, आर्मी र पुलिसको चर्चा केटाकेटीमा धेरै हुन्थ्यो। ‘मैले त माउवादी चिनेको छु,’ सुजनले भन्थ्यो। हामी डराउँथ्योँ। ‘माउवादीले त उडीउडी बन्दुक चलाउँछन्।’ यसलाई कल्पनामा उतार्दाउतार्दै गर्दा उसले भनेको अरु कुरा बुझ्नु हाम्रो समझ भन्दा बाहिरको हुन्थ्यो।

६०/६१ तिरको फुलपातीले हामीलाई बढी प्रभावित बनाएको थियो। म त्यतिबेला अमर माविमा कक्षा ३/४ तिर पढ्थें। त्यतिबेला त्यो स्कुललाई छात्रावास पनि भनेर बढी चिनिन्थ्यो। हामीलाई त्यहाँ प्रेम सुब्बा सरले गणीत पढाउनु हुन्थ्यो।

त्यस साल फूलपातीमा भएको झगडाले गर्दा अर्को पटकदेखि फूलपाती नै हुँदैन भन्नेसम्मको हल्ला फिँजिएको थियो।

‘फूलपातीमा आज झगडा भयो रे। प्रेम सरले आर्मी कुटेर भाग्नुभयो रे,’ यसोदा दिदीले सुनाउनु भयो। म झसङ्ग भएँ। प्रेम सर हाम्रो स्कुलमा विद्यार्थीले सबैभन्दा मन पराएको शिक्षक। ‘आर्मीले फूलपाती हेर्न आएका केटीहरुलाई जिस्काए रे। त्यही भए प्रेम सरहरुले आर्मीलाई कुट्नु भएको रे,’ दिदीले थप सुनाउनु भयो।

‘त्यस्तो राम्ररी स्थानमान तालिका र भागा पढाउने सर आउनु होला या आउनु हुन्न?’ भन्ने मनमा धेरै लागि रह्यो।

त्यसपछि मान्छेपिच्छे हल्ला फैलिए। कसैले के भने कसै के। प्रेम सरबारे धेरै सोच्न फुर्सद भएन, दशैं आएको थियो।

दशैंपछि स्कुल लाग्यो। विब्लाँटेबाट आउने साथीहरुले प्रेम सरका बारेमा अनेक हल्ला ल्याए।

‘अर्को पटकदेखि फूलपाती गर्न दिँदैनन् रे!,’ कसैले भन्दै थियो, ‘प्रेम सरलाई आर्मीले लगेको छ रे। अब आउनुहुन्न।’

हामीमा दुई विषयको चिन्ता थियो। पहिलो अब फूलपाती हुँदैन भन्ने। दोस्रो प्रेम सर आउनुहुन्न भन्ने। यी विषयमा महिनौ चर्चा चल्यो। तर, पछि प्रेम सर आउनु भयो र अर्को साल फूलपाती पनि भयो।

तर, त्यतिबेलाको त्यस घटनाले हाम्रो बाल मस्तिष्कमा दरै प्रभाव परेछ। मनोविज्ञानका पिता सिग्मन्ड फ्रायडले भने झै, ‘जीवन तनाव र आनन्दमा घुमेको हुन्छ।’ सायद केही हदसम्म यही सिद्धान्त पो लागू भयो कि? जे होस् बिब्लाँटेमा फूलपातिको कार्यक्रम अझै चलेकै छ।

आज फूलपाती। आज पनि लगभग तिनै कार्यक्रम छन्। बालबालिका त्यसरी नै फूलपाती जान इच्छुक देखिन्छन्। फूलपातीमा अझ पनि फुटबल चलिरहेकै छ। भाले झिक्ने, पिलो फाइट, छेलो, सांस्कृतिक कार्यक्रम आज पनि छन्।

यस पटकको फुलपातीमा पनि जिल्ला र जिल्लाबाहिरका २० वटा टोली सहभागी रहेछन्। प्रतिस्पर्धात्मक खेलहरु। राम्रा टिमहरु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell