PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वीरगन्जमा भित्र्याइयो फूलपाती, तराईका शक्ति पीठमा श्रद्धालुको भीड



राधेश्याम पटेल

वीरगन्जमा भित्र्याइयो फूलपाती, तराईका शक्ति पीठमा श्रद्धालुको भीड

वीरगन्ज : आज दशैँको सातौँ दिन अर्थात फूलपाती भित्र्याउने दिनमा वीरगन्जको माईस्थानस्थित गहवामाईमा फूलपाती भित्रयाइएको छ। वीरगन्जको विर्तास्थित मालपोत कार्यालयमा रहेको निशानी माई भागवती मन्दिरबाट बिहान शुभ साइतमा बाजागाजासहित डोलालाई महानगरको परिक्रमा गर्दै माईस्थानस्थित गहवामाईमा फूलपाती भित्रयाइएको हो।

बिहान विधिपूर्वक पूजाआजा गरी गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको हो। फूलपाती भित्र्याएपछि चन्डीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सलामी दिएका थिए। फूलपाती हेर्न सीमावर्ती भारतीय शहर रक्सौल, छिमेकी जिल्ला बारा, रौतहट र पर्साका ग्रामीण भेगबाट आएका श्रद्धालु भक्तजनको भीड लागेको थियो। फूलपाती भित्र्याउने डोलामा वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, उपप्रमुख शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, चन्डीनाथ गणका गणपति सृजन बहादुर मल्ल, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, दिपेन्द्र कुंवर, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार खड्का, गहवामाई सञ्चालन समितिका अध्यक्ष ओमप्रकाश जयसवाल, व्यवस्थित वीरगन्जका संयोजक दिलिपराजकार्की लगायतको सहभागिता रहेको थियो।

बारामा पनि फूलपाती

फूलपातीको अवसरमा बाराको कलैयामा आज बिहान हर्ष बढाई गरिएको छ। सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण, चन्दननाथ गण लगायतको सहभागितामा कलैयामा हर्ष बढाई गरिएको हो।

बरेवास्थित दुर्गा मन्दिरबाट शुरु भएको हर्ष बढाईमा सहभागी सुरक्षाकर्मीहरुले चिमनी माई मन्दिर, बेलपाती माई मन्दिर, राजदेवी मन्दिरमा पूजा गरी फेरी दुर्गा मन्दिर बरेवामा पुगेका थिए। उक्त अवसरमा नेपाली सेनासहितका सुरक्षाकर्मीले सलामी समेत दिएको थियो। दुर्गा पूजा समितिले बोकाको बली दिएपछि सेनाले पनि बोकाको बली दिएको थियो।

फूलपाती भित्र्याउने कार्यक्रममा नवरात्री गरेका महिलापुरुष तथा स्थानीयहरुलाई कलैया नगर एकता समूहले भरतचोकमा सहभागिहरुलाई सरबत, जुस, पानी तथा फलफुल वितरण गरिएको समूहका अध्यक्ष योगेन्द्र कुशवाहाले बताए।

दुर्गा पूजामा मुर्तीको आँखा खोलियो

यसैवीच, बारा, पर्सा, रौतहट लगायतको जिल्लाको शहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा दुर्गा भवानीको आज आँखा खोलिएको छ। फूलापातीका दिन विशेष तान्त्रिक पूजाअर्चनापछि दुर्गा भवानीको आँखा खोलिएको हो।

निजी र सामूहिक रूपमा दुर्गा पूजा गरिने परम्परा रहेका कारण सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन माटोबाट बनाइएका देवीदुर्गाको प्रतिमाको स्थापना गरिने चलन रहेको छ। सप्तमीका दिन पूजा गरेपछि मात्र आँखा राखिन्छ।

सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ। शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रणा दिइएको हतियारबाट एकैपटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजास्थलतिर लगिन्छ। पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखी सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ। जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ। 

शक्ति पीठमा श्रद्धालुको घुइचो तथा मेला

फूलपातीको दिन बारा, पर्साको शक्ति पिठहरुमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुँईचो लागेको छ। पर्साको गहवामाई, विर्तामाई, विन्दवासनीमाई मन्दिरमा दर्शनार्थीहरुको विहानैदेखि घुँईचो लागेको छ। वीरगन्जको घण्टाघरदेखि माईस्थानसम्म मेला भर्न आएका दर्शनार्थीहरुको घुँईचो लागेको छ।

यसैगरी बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा विहानैदेखि दर्शनार्थीहरुको घुँईचो लागेको छ। गढीमाई मन्दिरमा नेपालको विभिन्न स्थानसहित छिमेकी राष्ट्र भारतबाट दर्शनार्थीहरुको बिहानैदेखि घुँईचो लागेको छ।

प्रत्येक वर्ष दशैँमा गढीमाई मन्दिरमा दर्शनार्थीहरुको घुँईचो लाग्ने गरेको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिए। बाराको कलैया नगरक्षेत्रभित्र रहेको राजदेवी मन्दिर, बेलपाती मन्दिर, चिमनीमाई मन्दिर, सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढ बजारमा रहेको कंकालीमाई मन्दिरमा समेत दर्शनार्थीहरुको घुँईचो लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell