PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

लफडामा खुलामञ्चको बसपार्क : ढलान त रोकियो तर अब विकल्प चाहिँ के त?



सहयोग रञ्जित

लफडामा खुलामञ्चको बसपार्क : ढलान त रोकियो तर अब विकल्प चाहिँ के त?

असोज १७ गते शुक्रवार। दशैंका लागि मानिसहरु घर जान खुल्लामञ्चमा स्थानान्तरण गरिएको पुरानो बसपार्कमा टिकट काट्न जम्मा भए। तर, उनीहरुले बसपार्कमा प्रवेश पाएनन्। छोटो र लामो दुरीका बसहरु बसपार्क बाहिरै रोकिए। पाँच बज्दासम्म पनि बसपार्क खोलिएन। बसपार्कलाई जस्ताले घेरेर बन्द गरियो। दशैंको चटारोमा घर जान तयार परेकाहरुलाई रोकेर बसपार्कभित्र भने सडक ढलान गर्ने काम भइरहेको थियो।

साँझ पर्दैजाँदा बसपार्क बाहिर रहेका यात्रुहरु निकै आक्रोशित भए। उनीहरुले बसपार्कलाई बन्द गर्न लगाइएका जस्तापाताहरु भत्काएर र बसहरुलाई बसपार्कभित्र प्रवेश गराए।

त्यो दिन त्यसै बित्यो। जनताले गरेको विद्रोहले धेरै चर्चा भएन। शनिवार बिहानैदेखि बसपार्कमा ढलान गर्ने काम जारी रह्यो। बेलुकी खुल्लामञ्चमा रहेको बसपार्कमा डोजर सहित गाडीहरु पुगे। खाली बसपार्कमा सडक ढलान गर्ने काम रातभर भयो। आइतवार बिहानसम्म फेरि बसपार्क जस्तापाता लगाएर बन्द गरियो।

दशैंमा घर जान बसपार्क पुगेहरु फेरि रोकिए। गाडीहरुलाई निषेध गरियो। बसपार्कमा भेटिएका ड्राइभर रामकृष्ण भट्टराईले भने, 'अस्ति पनि यस्तै गर्‍यो। चाँडबाडको बीचमा सरकारले जनतालाई दु:ख दिने काम मात्रै गर्‍यो। आक्रोशित जनताले जस्तापाता भत्काए। आज फेरि त्यस्तै गरेछ। सडक बनाउनु नराम्रो होइन तर यो उपयुक्त समय होइन। त्यसैले जनतालाई आक्रोशित बनायो।'

आज बसपार्क बन्द भएका कारण घर जान अवरोध भोगेका यात्रुहरुको रीस एकातिर थियो। बसपार्ककै विरोधमा रहेका स्थानीयहरु थप आक्रोशित बने।

बसपार्क नै बन्द गरेर ढलान गरेपछि आज भने स्थानीय र यात्रुहरु मिलेर फेरि लगाएका जस्तापाता भत्काए। भर्खरै ढलान गरेको सडकमा बसहरु गुडे। जनताले तिरेको कर केही सीमित स्वार्थका कारण नराम्ररी खेर गयो। अहिले बसपार्क फेरि संचालनमा आएको छ।

+++

बस पार्कमा सडक नबनाउने त?

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २१ तल्ले भ्यू टावर सहितको व्यापारिक भवन बनाउने निर्णय गरेपछि त्यहाँको बसपार्क खुल्लामञ्च सारिएको थियो। व्यवसायिक भवन निर्माण र सञ्चालनको ठेक्का पायो मनोज भेटवालको जलेश्वर स्वच्छन्द बिकोइले।

बसपार्क स्थानान्तर भएपछि पुरानो बसपार्क रहेको खुल्लामञ्च क्षेत्र निकै अव्यवस्थित भएको जनगुनासो थियो। काठमाडौं उपत्यकाभित्र र बाहिर जाने बसहरु एकै स्थानबाट जाने आउने हुँदा समस्या छ। बस बिसौनीदेखि यात्रु चढाउने र ओराल्ने काम निकै असुरक्षित किसिमले हुँदै आएको थियो। मर्मतको कमीका कारण खाल्डाखुल्डीहरु पनि निकै बढेको थियो। वर्षाका समय बसपार्क पुग्ने यात्रुहरुले निकै सास्ती बेहोर्नुपर्थ्यो। त्यसैले बेलाबेलामा बसपार्कका सडक मर्मत सम्भार हुँदै आएको थियो।

त्यसैको निरन्तरता स्वरुप यसपटक पनि बसपार्कका सडक निर्माण गरिएको थियो। तर, यसपटको निर्माणमा भने जनताले साथ दिएनन्। साथ नदिनुको कारण थियो - अस्थायी बसपार्कमा स्थायी संरचना अर्थात् ढलान।

खुल्लामञ्चमा ढलान गर्ने कार्यको विरोध प्रदर्शनमा खुल्लामञ्चमा रहेको वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीसमेत थिए। उनी आफूहरुले पहिलादेखि नै सो स्थानमा बसपार्कको विरोध गर्दै आएको तर निश्चित समयका लागि भनेर बसपार्क बनाउन सहमति दिएको बताए। तर सबै काम अलपत्र पारेर खुल्लामञ्चको ऐतिहासिक पक्षमाथि आक्रमण गर्ने प्रयास हुन थालेपछि उनीहरु चुप नबसेको बताए।

भने, 'यसै त उनीहरुले भ्यू टावर बनाइरहेका छैनन्। त्यसमाथि स्थायी संरचना बनाएर उनीहरुले खुल्लामञ्च कब्जा गर्न लागे। यो सार्वजनिक जग्गा हो। हामी यहाँ ढलान हुनै दिँदैनौं।'

त्यसो भए बसपार्कका खाल्डा खुल्डी नपुर्ने त?

हाम्रो प्रश्नमा उनले भने, 'हाम्रो चाहना के हो भने बसपार्क छिट्टै त्यहाँबाट सारियोस्। तर, अस्थायी रुपमा बनेको बसपार्कमा कालोपत्रे गर्न हामीले रोकेका छैनौं। ढलान गरेकोमा हाम्रो विरोध हो।'

वडा अध्यक्ष खड्गीका अनुसार सडक ढलान गर्ने ठेक्का पनि हाल खुल्लामञ्चमा बसपार्क संचालन गरिरहेको जलेश्वर स्वच्छन्द बिकोइले पाएको थियो। तर, कम्पनीले महानगरले नै ठेक्का पाएको बताए पनि कागज देखाउन आनाकानी गरेपछि स्थानीय आक्रोशित हुँदै जस्तापाता निकालेको उनको दाबी छ।

ढलान गरेको सडकका कारण बन्द रहेको बसपार्क खुलाउन काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र काठमाडौं क्षेत्र ६ का प्रतिनिधि सभा सांसद भीमसेनदास प्रधान समेत पुगेका थिए।

विकल्प: अस्थायी प्रविधिको प्रयोग

आज खुल्लामञ्चमा रहेको बसपार्कमा ढलान गर्ने कार्य अवरोध भएपछि फेरि बसपार्क हिलाम्मे र धुलाम्मे हुने पक्का छ। बसपार्कमा निर्माण रोकिँदा असहज हुने यात्रुहरुलाई नै हो। त्यसैले स्थायी रुपमा पुरानो बसपार्क पुरानै स्थानमा स्थानतरण नभएसम्म अहिलेको अस्थायी बसपार्कलाई लथालिंग बनाउनु उचित हुँदैन पनि।

पूर्वाधार विज्ञ इन्जिनियर सूर्यराज आचार्च पुरानो बसपार्क अस्थायी रुपमा रहे पनि त्यसको मर्मत सम्भारको आवश्यक्ता रहेको बताउँछन्। तर, महानगरपालिकाले विज्ञ र सरोकारवालाहरुसँग छलफल नगरी ढलान नै गर्ने प्रयास गरेकाले जनता आक्रोशित बनेको हुनसक्ने उनको अनुमान छ।

भन्छन्, 'जनता सरकारप्रति निराश छन्। अस्थायी भनेको बसपार्कमा ढलान नै गर्दा उनीहरुलाई सरकारले सार्वजनिक जग्गा नै कब्जा गर्न लागेको डर लागेको हुन सक्छ। जनताको प्रतिक्रिया त्यही डरको उपज हुन सक्छ।'

काठमाडौंमा अव्यवस्थित शहरीकरण बढ्दै गएको र शहरी विकासको ढाँचाको अपूरो ज्ञान भएकाले यस्ता समस्या आइरहने भन्दै उनले हाललाई बसपार्कमा अस्थायी रुपमा सडक बनाउन सक्ने बताए।

भने, 'ढलान निकै महँगो पर्छ। पछि भत्काउनु पर्‍यो भने पनि निकै खर्चिलो हुन्छ। महानगरले यसप्रति ध्यान नदिएको पाइयो। अस्थायी रुपमा टायल र ब्लक प्रयोग गरेर पनि हाललाई सडक बनाउन सकिन्छ। त्यसका लागि जमिनको अवस्था र बेसहरु राम्ररी अध्ययन गर्नुपर्छ। पछि त्यो ब्लकहरु फेरि निकाल्न सकिन्छ। अस्थायी रुपमा सडक पिच गर्दै लग्न सकिन्छ।'

सडक जस्तो संवेदनशील विषयमा सरकार र महानगरले जनतालाई बुझाउन नसक्दा र अस्थाथी रुपमा प्रयोग गर्न सकिने आधुनिक प्रविधिको प्रयोगको ज्ञानको कमीका कारण नै हाल अस्थायी बसपार्कको मर्मत सम्भारमा समस्या आएको उनको तर्क छ।

'जनताले त्यहाँ पछि चाहेको खुल्ला चौर नै हो। त्यसैले जनताको विश्वास जित्दै पछि खुल्लामञ्च नै स्थापित गर्ने हेतुले अहिलेको निर्माण कार्य भए राम्रो,' उनले भने।

स्थानीयले पनि अहिले नै त्यहाँबाट बसपार्क हटाउनु पर्छ भनेको छैन। यस्तै, सडक कालोपत्रे गर्न अवरोध गरेका पनि छैनन्। उनीहरुले हाललाई बिग्रेको सडकमा कालोपत्रे गरेर सडक बनाउन माग गरेका थिए। तर, ठेकेदार पक्षले भने स्थानीयको मागको बेवास्ता गर्दै बसपार्कमा जस्तापाता लगाएर अवरोध गरेपछि स्थानीय संघर्षमा उत्रेको बताउँछन् अभियन्ता गणपतिलाल श्रेष्ठ।

भने,' अहिले नै बसपार्क सार्ने अवस्था छैन। ठेकेदार र महानगरबीच भएको सम्झौता सकिएको नि धेरै भइसक्यो। तर पनि हामीले बसपार्कमा कालोपत्रे गर्दा विरोध गरेनौं। अहिले पनि हामीले ठेकेदारलाई कालो पत्रे गर्न भनेका थियौं। आखिर सास्ती पाउने त जनता नै हो नि। तर उनीहरुले चाडवाडकाबीच यात्रुहरु अलपत्र पार्दै जवरजस्ती बसपार्क नै बन्द गराएर ढलान गर्न थालेपछि हामी प्रतिकारमा उत्रेका हौं।' 

+++

पुरानै समस्या

२०७१ माघ ११ गते महानगर र जलेश्वर स्वच्छन्द बिकोइबीच ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सहमति भएको थियो। भूकम्पका कारण काम रोकियो। २१ तल्ले टावर बनाउने भनेको टावर पछि १६ तल्ले मात्रै बन्ने भयो। नक्सा भने १२ तल्लाको मात्रै पास भएको थियो। यद्यपि, महानगर भने १२ तल्ले भन्दा ठूलै टावर बनाउने पक्षमा छ।

तर, निर्माण सुरु भएको वर्षौं हुँदा समेत भ्यू टावर बन्न सकेन। अहिले जमिन मुनिकै काम सकिएको छैन। टावर नबनुन्जेलसम्म खुल्लामञ्चलाई बसपार्क सारियो तर टावर निर्माणको काम अलपत्र रहँदा खुल्लामञ्च अझै साँघुरिँदै गयो।

आधा भागमा बसपार्क बनाउँदा राजनीतिक परिवर्तनको साक्षी बनेको खुल्ला मञ्च साँघुरियो। पछि फेरि खुल्लामञ्चको बाँकी रहेको आधा जग्गा वीर अस्पताल र दरबार हाइ स्कुललाई दिइएपछि खुल्लामञ्च जनताका लागि बन्दै रह्यो।

बसपार्कलाई खुल्लामञ्चमा सारिनुको विरोध स्थानीयले पहिलादेखि नै गर्दै आएका थिए। उनीहरुको एउटै माग थियो -खुल्लामञ्च यथावत् रहोस् बसपार्क पहिला कै स्थानमा सारियोस्।

गत वैशाखमा खुल्लामञ्चमा ठेकेदार कम्पनीले अवैध रुपमा सटर निर्माण गर्‍यो। आक्रोशित स्थानीयले सटर हटाउन माग गर्दै विरोध प्रदर्शन गरे। काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले चर्को आलोचना बेहोर्नु पर्‍यो। महानगरका कर्मचारीको मिलेमतोमा नै सटर निर्माणको काम अघि बढेको रिपोर्टहरु मिडियामा सार्वजनिक भए। पछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अवैध रुपमा भत्काइएका सटरहरुमा डोजर चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell