PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हराएको छैन, कास्कीको मट्टिखानबाट चर्खे पिङ



विष्णु गौतम

हराएको छैन, कास्कीको मट्टिखानबाट चर्खे पिङ
फोटो : एन्जल गुरुङ

पोखरा : असोज लागेपछि गाउँघरका चौतारी, विद्यालय, डाँडा, मन्दिरलगायतका सार्वजनिक स्थानमा मानिसहरुको भीड लाग्ने गर्छ। भीड लाग्नुको कारण हो, असोजसँगै उमंग बनेर आउने दशैँ अनि दशैँसँगै जोडिएर आउने पिङ खेल्ने संस्कृति। आजभोलि दशैँमा चर्खे पिङ खेल्ने संस्कृति लगभग हराएको अवस्थामा छ। तर कतिपय यस्ता ग्रामीण बस्तीहरु पनि छन्, जहाँका मानिसहरुले यो संस्कृतिलाई बिर्सेका छैनन्।

कास्कीको मट्टिखानका युवाहरुले यो संस्कृतिलाई जोगाएका हुन्। उनीहरु भन्छन्, संस्कृति हराए हामी हराउँछौ अनि हाम्रो अस्तिस्व हराउँछ। केहि वर्ष अगाडीसम्म सबै स्थानमा दशैँ आउन १५ दिन अघिदेखि नै चर्खे वा काठे पिङका सामान जुटाइन्थ्यो। गाउँघरका सबै मिलेर चर्खे पिङ बनाउँथे। तर अहिले कास्कीका अधिकतम स्थानमा यस्ता पिङका दृश्य एकादेशको कथाजस्तै बनेको छ। दशैँमा रमाइलो गर्ने माध्यम मानिने चर्खे पिङ हराउदै गएको हो।

रोजगारीका लागि गाउँबाट अधिकांश युवा बाहिरिन थालेपछि चर्खे पिङ बनाउने परम्परा पनि मासिन थालेको हो। प्रत्येक टोलमा बनाइने चर्खे पिङ अहिले पुरै गाउँमा एउटै देख्न पनि मुस्किल हुन्छ।

चर्खे पिङमा एकैचोटी १२ देखि १८ जनासम्म सामुहिक रुपमा खेल्न सकिन्छ। चर्खे पिङ बनाउँदा निकै मिहनेत पर्ने, काठ जुटाउनु पर्ने तर गाउँमा युवा नहुँदा चर्के पिङको परम्परा हराउँदै गएको संस्कृतिकर्मी तिर्थ श्रेष्ठ बताउँछन्।

पोखरा महानगरपालिका १९ का स्थानीय ५० वर्षीय जयराम गौतम भन्छन्, ‘काठ किनेर पिङ बनाउँदा अहिलेको हिसाबमा लगभग ३ लाखको काठ र ५० जना जतिको श्रम आवश्यक पर्छ। खर्च र काम गर्ने श्रमको अभावका कारण पनि काठे पिङ हराउँदै गएको हो। हामी युवा अवस्थामा हुँदा जंगलबाट निशुल्क काठ काटेर सामूहिक रुपमा ल्याएर पनि बनाइन्थ्यो अहिले पारिवारीक कारणले गर्दा त्यति घेरै समय दिन सकिँदैन, फुर्सद हुनेहरु फेसबुक र च्याटमा व्यस्त हुन्छन्, अनि कसले बनाइदिने काठे पिङ।’

विगतमा चर्खे पिङलाई दशैँमा महत्वका साथ लिने गरिन्थ्यो। चर्खे पिङमा सामुहिक भावना जोडिएको हुन्छ। चर्खे पिङ बनाउँदा, खेल्दा, खेलाउँदा समुहमै काम हुन्छ। एक्लो व्यक्तिले नत चर्खे पिङ बनाउन सक्छ, न खेलाउन सक्छ। 

कामका लागि बाहिर गएका व्यक्ति दशैँको अवसरमा गाउँघर पुग्ने चलन छ। दशैँमा रमाइलो गर्ने, पिङ खेल्ने, मिठो परिकार खाने परम्परा छ। तर समय र परिस्थितिले दशैँका कतिपय यस्ता विशेषता हराउन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell