PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गरे के नै हुन्न र!  सी जिनपिङको स्वागतका लागि सिँगारिएको काठमाडौं

गरे के नै हुन्न र! सी जिनपिङको स्वागतका लागि सिँगारिएको काठमाडौं

रोजन श्रेष्ठ/पहिलोपोस्ट


दशैंको चटारोमा काठमाडौंका सडकहरु चिटिक्क देखिन थालेका छन्।

चापरहित सडक, कम धुँवा धुलो र मानिसको भिडभाड नै कम हुन थालेको सहरमा मरीमरी काम गरिरहेका कामदार देख्नेलाई लाग्न सक्छ- 'अहो! दशैंको बेलामा पनि काम?'

अहिले काठमाडौंका मुख्य सडकमा कोही रेलिङ रङ्गाइ रहेका त कोही सडक बडार्दै गरेको भेटिन्छन्। खुइलिएका जेब्रा क्रसिङ पुन: रङ्ग्याउने र ठूल्ठूला खाल्डाखुल्डी परेका सडक मर्मत सम्भार गर्दै छन्। अझ तीनकुने चौरमा त धमाधम दुबो र बोट बिरुवा रोप्ने काम भइरहेको देख्न सकिन्छ। चर्को घाममा खटिएका कामदारलाई मर्मत, सम्भार, रङ्ग रोघनका लागि सरकारले खटाएको हो। उनीहरुलाई न पिङको मज्जा न खसी र चङ्गाको।

उनीहरु सडक श्रृङ्गारी रहँदा मानिसहरु आफ्नै घरमा जमेको धुलो पुच्छ्दै र रङ्ग रोगनमा व्यस्त छन्।

तर, यो सबै काम दशैं केन्द्रित कुनै महोत्सवका लागि भएको भने होइन। यो त चिनियाँ राष्ट्रपति सी जिनपिङको अपेक्षित नेपाल भ्रमणका लागि गरिएको तयारी हो।

पाहुना आउनु अघि हामी अक्सर उस्तैगरी सफा गर्छौं नि।

शहरमा बनिरहेको पुलदेखि सडक पेटीका अस्तव्यस्तता ढाक्न कलात्कम चित्रहरुको प्रयोग गरिएको छ। त्यो पनि सांस्कृतिक महत्व झल्कने। भिआइपीहरुलाई यात्रा गराउने मुख्य सडकको खाल्डाखुल्डी बाँकी छैनन् रातारात गर्दै पुरियो र कालोपत्रे गरियो।

सी जिनपिङलाई नै देखाउनका लागि भने पनि काठमाडौंलाई चिटिक्क बनाइरहँदा नागरिकहरु भने सरकारले चाहे छोटो समयमा पनि राम्रो गर्न सक्ने रहेछन् तर त्यसका लागि विदेशी राष्ट्र प्रमुख नै आउन पर्ने रहेछ भन्न थालेका छन्। 

सी जिनपिङ दशैंको सेरोफेरोमा नेपाल आउने भनिए पनि कुन मिति, कुन बार भन्ने बारे आधिकारिक खबर सार्वजनिक भएको छैन। धेरैको अनुमान पाकिस्तान र भारत भ्रमणपछि केही घण्टाका लागि उनी काठमाडौंमा आउँदैछन्।

दशैंपछि आउने पिङका लागि मच्चिदै गरिएको विकास खेर नजाओस्। उनको भ्रमण रद्द नहोस्।



ट्रेन्डिङ पोस्ट

Ncell