PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

आजमात्र खुल्ने तलेजुमा घुइँचो, पूजारी भन्छन् : इष्ट देवीको सम्मान भएन



सहयोग रञ्जित

आजमात्र खुल्ने तलेजुमा घुइँचो, पूजारी भन्छन् : इष्ट देवीको सम्मान भएन

काठमाडौँ : हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु मन्दिर दर्शनमा जाँदैछन्। बडादशैंको महानवमीका दिन मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिन्छ। देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्छन्।

तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुन्छ। तलेजु भवानीको पूजाको लागि मात्रै बिहान ८ जना पूजारी खटिएका हुन्छन्। सबैको आ- आफ्नै भूमिका रहन्छ भने एक जनाको अनुपस्थितिमा पनि तलेजु भवानीको पूजा पूरा हुँदैन।

तलेजुमा एक वर्षमा कयौं पूजाहरु हुन्छ। एउटा पर्वको पूजाका लागि कम्तीमा नेवार समुदायबाट १६ जातका मानिसहरु सहभागी हुने गरेको बताउँछन् तलेजुका मुख्य पूजारी उद्धव कर्माचार्य।

मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ। भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित पनौती हुँदै भक्तपुर आएका थिए। तत्कालीन भक्तपुरका राजाले तलेजुलाई भक्तपुरमै स्थानपना गरिनुपर्ने भन्दै अडान लिएका थिए। तर, काठमाडौंका मल्ल राजाहरुले त्यो कुरा मानेनन्। यसै विषयलाई लिएर काठमाडौं र भक्तपुरबीच युद्ध समेत भएको थियो।

'यसबाट नै तलेजु भवानीको शक्तिका बारेमा थाहा पाउन। आफै उत्पत्ती भएकी देवी तलेजुलाई स्थापना गर्न मल्ल राजाहरुबीच युद्ध नै भयो। पछि उनलाई हनुमानढोकाको मूल चोकमा विधिवत् रुपमा ल्याएर स्थापना गरिएको थियो,' कर्माचार्यले भने।

कर्माचार्यका अनुसार अहिलेको तलेजु भवानीको मूर्ति ४० वर्ष लगाएर बनाइएको हो। पहिला ६ वर्ष लगाएर निर्माण भएको मूल चोकमा तलेजुलाई विराजमान गराएर पछि मन्दिरमा प्रतिस्थापना गरिएको थियो।

उनका अनुसार तलेजु भवानीको मन्दिरको निर्माण महिन्द्र मल्लको पालमा सुरु भएको थियो। महिन्द्र मल्लले मन्दिरको जग राखेको मन्दिरको निर्माणको काम प्रताप मल्लको पालमा सकिएको थियो।

राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको कथन छ। राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ। त्यसैले महानवमीका दिन सर्वसाधरणका लागि समेत तलेजु भवानीको मन्दिर खुल्ला गरिन्छ।

महाअष्टमीका दिन कालरात्रिका अवसरमा हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको थियो। यस्तै आज वसन्तपुर डबलीस्थित कोतमा समेत बली दिइएको थियो।

'व्यवहारमा इष्ट देवीको सम्मान भएन'

मूल पूजारी कर्माचार्य राज्यले तलेजु भवानीलाई इष्ट देवीका रुपमा पुज्दै आए पनि व्यवहारमा लागू नभएको बताउँछन्। पूजाका लागि आवश्यक सबै सामाग्री गुठी संस्थानले ठेकेदारबाट पठाउने हुँदा इष्ट देवीको पूजामा बाधा आइरहेको उनले बताए।

भने, 'कहिलेकाँही त चामल पनि बिग्रिएको पठाउँछन्। बलिका लागि चाहिने बोका पनि पनि मापदण्ड भन्दा बाहिर। हामी पूजा गर्ने कि सामान किन्न जाने? यसरी तलेजु भवानको पूजासँग राज्यस्तारबाट खेलवाड भइरहेको छ।'

२०१९ सालमा मात्रै गुठी संस्थान स्थापना भएको बताउँदै उनले त्यस अघि गुठीहरुले आवश्यक्ता अनुसार विधि पुर्‍याएर सामानहरु जोहो गर्ने गरेको बताए।

'तर जब देखि गुठी संस्थान स्थापना भयो। ठेकेदारी प्रथा लागू भयो। ठेकेदारी प्रथा लागू हुनु भनेकै नाफा खाने दाउ हुन्छ,' उनले भने।

गत साउन १४ गते समेत गुठी संस्थान ठेकेदारमा भर पर्दा तलेजुको पवित्रारोहण पूजा रोकिन लागेको थियो। त्यसैले राज्यस्तरबाट इष्टदेवी तलेजु भवानको पूजामा बाधाअड्चन नपर्ने गरी पूजाको वातावरण बनाउनपर्ने कर्माचार्यले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell