'म त भगवान् हो नि!'
५ वर्षिया ओजश्वी घुलु आफूलाई यसरी नै चिनाउने गर्छिन्। ८ महिनाको उमेरमा पनौतीको जीवित देवी कुमारी बनिन् उनी। तर आफूले निर्वाह गर्दै आएको भूमिकाबारे भने अहिले मात्र बुझ्दैछिन्। त्यसैले त साथी भाइसँग बस्दा आफूलाई 'भगवान्' भनेर चिनाउँछिन्।
दशैं अघि हामी उनको घरमा पुग्यौं। उनी त ठ्याक्कै विद्यालय जाने तरखरमा थिइन्। निलो रंगको सर्ट र स्कर्टमा तयार भइरहँदा उनले हामीलाई जानकारी दिएको भावमा भनिन्,'म त कुमारी।'
ओजश्वीले आफूलाई 'कुमारी' हुँ भन्दै गर्दा छेउमै रहेकी उनकी आमा रोहिनी घुलुले भनिन्,'पहिला त उसलाई कुमारी बारे केही पनि थाहा थिएन। अहिले अलि बुझ्ने भइन्। रमाइलो लागेर होला स्कुलका साथीहरुसँग, भाइसँग खेल्दा पनि आफू कुमारी भएको भनिरहन्छिन्।'
स्कूलका साथीभाइले पनि सामान्य विद्यार्थीलाई भन्दा फरक ढङ्गले चिन्न र व्यवहार गर्न थालेका छन्। तर, यसले ओजश्वीको पढाइमा असर भने पारेको छैन। त्यसैले कक्षाकी 'फस्ट गर्ल' हुन् उनी।
पढ्न बाहेक मेकअप गर्नमा खुब रुची छ उनको।
पढाई, खेलकुदसमग्रमा बच्पना सामान्य बालकालिकाको जस्तो भएपनि ओजश्वीको दैनिकी केही फरक बित्छ। पनौती बसपार्कमा रहेको घरको चौथो तलामा सानो कुमारी कोठा बनाइएको छ। त्यो कोठामा हरेक दिन कुमारी पूजा हुन्छ। शनिवार र विशेष चाडपर्वमा ओजश्वीलाई कोठामा रहेको आसनमा राखेर पूजा गरिन्छ। अरु स्थानमा जस्तै कुमारीलाई पूजा गर्छु भनेर आउने कोही छैन।
यद्यपि, कुमारी प्रतिस्थापना भएदेखि ओजश्वीलाई पनि अन्य कुमारीलाई जस्तै जुठो चल्दैन, कपालमा छुनु हुँदैन,सबै चोखो चाहिन्छ। केही तलमाथि भए ओजश्वी बिरामी भइहाल्ने विश्वास छ।
'नियम विपरित केही गरे उसलाई गाह्रो हुन्छ। त्यो बेला उसको व्यवहार अलि असामान्य नै हुन्छ। पछि पूजा कोठामा ल्याएर आसनमा राखेर पूजा गरिदिन्छु। त्यसपछि मात्रै शान्त हुन्छिन्', आमा रोहिनीले सुनाइन्।
साधारण मानिसको बुझाइमा कुमारी प्राय: रातो पहिरनमा हुन्छिन्। निधारमा त्रिकोणात्मक रातो टिका र गरगहना लगाएर हिँड्डुल गर्छिन्। काठमाडौंकी राजकीय कुमारी होस् या पाटन बुंगमतीकी कुमारी सबैजना रातो पहिरनमै हुन्छन्। तर, पनौतीकी यी कुमारीलाई भने त्यस्तो रोकतोक केही छैन। उनीले आफूलाई मन लागेको लूगा लगाउन पाउँछिन्। खुल्ला रुपमा हिँड्डुल गर्छ पाउँछिन्। साथी भाइसँग खेल्छिन्। उनलाई वर्जित कालो रंगको पहिरन थियो। अहिले भने ओजश्वीले कालो जुत्ता लगाउन थालिन्। विद्यालयमामा सबैले कालो जुत्ता लगाएको देखेर ओजश्वीलाई केही असजिलो भयो। त्यसपछि पूजा गरेर काल जुत्ता लगाइदिन सुरु गरेको बताउँछिन् उनकी आमा।
दशैं वा पर्व विशेषमा भने अन्य कुमारी सरह वस्त्र धारण गरी सर्वसाधरणलाई दर्शन दिन्छिन्।
नेपाल जीवित देवीको देश हो। इष्ट देवी तलेजु भवानीको प्रतिकमा बालिकालाई जीवित देवी कुमारीका रुपमा पूजिँदै आएको छ। काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा विराजमान जीवित देवी कुमारीलाई राजकीय कुमारीको रुपमा पूजा गरिन्छ। राजकीय कुमारी बाहेक काठमाडौंकै किलागल, मखन, टोखा, साँखु, पाटन, बुंगमती, भक्तपुर, नुवाकोटमा कुमारी परम्परा यथावत रहेको छ। तर, यी सबै ठाउँका कुमारीहरु भन्दा पनौतीकी कुमारी भने केही शहरीकरणको छायाँमा परेको आभाष हुन्छ।
स्थानियकै भाषामा भन्ने हो भने ओजश्वी ओझेलमा परेकी भगवान् हुन्।
**
ओजश्वीलाई २०७१ सालको चैत महिनामा ८ महिना पुगेकी बालिकालाई पनौतीकी जीवित देवी कुमारीको रुपमा प्रतिस्थापन गरिएको थियो। आफ्नी छोरीलाई कुमारी बनाउने प्रस्ताव आएपछि रोहिनी पहिला त अन्यौलमा परिन्।'कुमारी बनेपछि त बिहे गर्नु हुँदैन। त्यस्तै सुनेको थिएँ। के गर्ने के नगर्ने भन्ने दुविधामा थिएँ। पछि त्यस्तो होइन। सबै सामान्य नै हुन्छ भने पछि छोरीलाई कुमारीका रुपमा स्थापना गरियो।'
रोहिनी घुलु र पुस्कर घुल्लीकी छोरीलाई त्यसबखत ठूलै तामझामकाबीच पनौतीकी जीवित देवी कुमारीका रुपमा स्थापना गरियो। तलेजु परिसरमा भव्य कार्यक्रम गरियो। त्यसअघि पनौती धेरै वर्ष कुमारी बिहिन थियो। सुवाल कुलमा रजस्वला नभएकी बालिका नभएपछि कुमारी प्रथा रोकिन पुगेको थियो। २०७१ सालमा काठमाडौंको ह्युमत मिचा पुच: र स्थानीय संघसंस्थाको सक्रियतामा ओजश्वीलाई कुमारी चयन गर्दै विधिपूर्वक स्थापना गरिएको थियो।
पहिलो वर्ष बाजागाजा सहित कुमारीलाई दशैंमा तलेजु लगेर भात खुवाउने गरियो। पछि त्यो सबै रोकियो। काठमाडौंबाट आएको संघसंस्थाले कुमारीलाई चढाएको पैसा लगायतका कुराको भाग लगाउने कुरा गरे। त्यसमा कुमारीको परिवारको असहमती रह्यो। पछि उनीहरु आउन छाडे। गणतन्त्रको उपलब्धीका रुपमा आएको स्थानीय सरकार अन्तर्गत पनौती नगरपालिकाले पनि कुमारी प्रथालाई संरक्षण केही गरेको देखिँदैन।
ओजश्वीकी अजि (बज्यै) बालकुमारी घुलु भन्छिन्,'कुमारीको सबै खर्च हामीले नै बेहोरिरहेका छौं। हामी सक्छौं र त गरिरहेका छौं। नसक्ने त यो परम्परा कसरी चलाउँला। त्यसैले हामीले नगरपालिकालाई यो परम्परालाई निरन्तरता दिन केहि सहयोग गरभनेका हौं। तर व्यवहारिक रुपमा सहयोग प्राप्त भएको छैन।'
५ वर्ष भयो ओजश्वी कुमारी भएको। तर, नगरपालिकाको तर्फबाट गत वर्षमात्रै २५ हजार उनको परिवारले पाए। त्यसबाहेक कुमारीको पोशाक देखि गरगहना, पूजा सबै घुलु परिवारले आफ्नै खर्चमा गर्दै आएको छ।
'यसपटक पनि कुमारीका लागि भनेर केही रकम छुटाएको छ भन्ने सुनेकी छु। केही दिनपछि पाउँछ भनेका छन्।' बालकुमारीले भनिन्,' मैले त कुमारीकै नाममा बैंक खाता खोलौं त्यसमा नै पैसा राखिदिए उसको भविष्यलाई हुन्छ भनेको हुँ। तर सुनुवाइ भएको छैन।'
कुमारी परम्परालाई जीवन्त राख्न आर्थिक पक्षका बारेमा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेलाई प्रश्न गर्दा उनको उत्तर यस्तो रह्यो, ' पनौतीमा मात्रै १०० वटा भन्द बढी जात्रा छन्। अब जात्रा चलाएर मात्रै खर्च धान्न सकिँदैन। त्यसैले हामीले एउटा जात्रा व्यवस्थापन समिति गठन गरेका छौं। त्यसको लागि २५-३० लाखको बजेट छ। सबैको व्यवस्थापन उक्त समितिले गर्छ।'
**
पनौतीमा पहिलादेखि नै सुवाल र घुलु खलकका बालिका मात्रै कुमारी बन्दै आइरहका छन्। सिम्रौनगढबाट तलेजु भवानीलाई नेपाल भित्र्याउँदा पहिला पनौतीको दुमांगल टोलमा राखिएको विश्वास छ। त्यसबेला सिम्रौनगढदेखि दुमांगलसम्म सुवाल थरका नेवारले तलेजु भवानीलाई बोकेर ल्याएकोले पनौतीको कुमारीमा सुवाल कुलकी बालिका कुमारी बन्ने परम्परा रहेको बताउँछ ओजश्वीका हजुरबाजे रामकृष्ण घुलु। उनका अनुसार घुलु पनि सुवाल भित्रै पर्ने थर हो।
८० वर्षिय रामकृष्ण घुलुको कुलमा वर्षौंपछि कुमारी प्रतिस्थापन भएको हो। रामकृष्ण आफ्नै नातिनी भन्दा अगाडी आफ्नै दिदी गणेशमाया घुलु कुमारी बनेको देखेका छन्। दिदी पछि आफ्नै पनातिनीलाई कुमारीका रुपमा देख्न पाउँदा भने उनी आफैलाई भाग्यमानी ठान्छन्।
रामकृष्ण बाल्यकाल सम्झदै भन्छन्,' पहिलादेखि यहाँ कुमारीलाई बाहिरको जस्तो रोकतोथ थिएन। दिदीलाई दैशैंमा घरमा नै ल्याएर कोटबाट भात खुवाउन ल्याउँथे। सबै सामान्य थियो। अहिले पनातिनीको पालासम्म आउँदा केही परिवर्तन भएको छ।'
तर, ओजश्वीका हजुरबाजे रामकृष्ण पनि अहिले कुमारी प्रति गरिएको व्यवहारबाट खुशी छैनन्। दशैंभर यत्रो खर्च गरेर पूजाआजा हुने ठाउँमा कुमारीका लागि केही नगरिएको प्रति उनले प्रश्न उठाए। भने,' हामीले बाहिर जस्तो धेरै सुविधा मागेका होइनौं। हामीले कुमारीको अधिकार मात्रै खोजेका हौं। यहाँ त कुमारीको भागमा एक भाग भोज पनि छैन।'
**
रोहिनी घुलुलाई दशैंको घटस्थापनादेखि दशमीको दिन सम्म बिहान भ्याइनभ्याइ हुन्छ। बिहानै ओजश्वीलाई नुहाइदिएर उनलाई जीवित देवी कुमारीको रुपमा तयार गर्नमा नै उनको समय जान्छ।घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म ओजश्वीलाई पनौतीको तलेजु भवानीको मन्दिरमा लगेर पूजा गर्नुपर्छ। त्यसका लागि ओजश्वीलाईकुमारी बनाएर सिंगार्ने सबै दायित्व रोहिनी कै।
छोरी ओजश्वीलाई पनि दशैं नजिकिए पछि आफू कुमारीको रुपमा तलेजु जानुपर्छ भन्ने चेतको विकास भइसकेको छ। त्यसैले अरु बेला जिस्किँदै हल्ला गर्दै बस्ने उनी कुमारीका रुपमा श्रृंगारिँदै गर्दा मौन बस्छिन्।
घटस्थापनाको दिनदेखि दशमीसम्म ओजश्वीलाई पनौतीको महालक्ष्मीस्थानमा रहेको कोटबाट घरमैभात खुवाउन ल्याइन्छ। त्यो बेलासम्म ओजश्वीलाई श्रृंगार गराउने काम सकिसक्छ।
दश दिन ओजश्वीलाई विशेष तासको कपडाले बनेको पहिरन लगाउने गरिन्छ। हरेक दिन रोहिनी आफ्नी छोरीको निधारमा त्रिनिनयन र त्रिकोणात्मक रातो टिका बनाउने काम गर्छिन्। त्यसपछि कुमारीको गहना लगाइदिएर ओजश्वीलाई तलेजु लग्न तयार गर्छिन्।
ओजश्वीका बुवा पुस्कर घुलु ओजश्वीलाई बोकेर तलेजु लग्छन्। रोहिनी पूजा थाली समाउँदै अघिअघि।
घरबाट बसपार्क हुँदै तलेजु लग्दा कमैको ध्यानमात्रै कुमारीको यात्रामा रह्यो।
'पहिला त बाजा बजाएर आउँथ्यो। अहिले त्यस्तो छैन। दशैंको एक दिन चाहिँ बाजा बजाएर आउँछन होला। रामनवमीमा नि यहाँ मेला लाग्छ। त्यस बेला बाजा बजाएर सबै हामी नै गर्छौं। हामीले सकेछ यो परम्परालाई निरन्तरता दिइरहेका छौं। भोली नसक्ने त कसरी संचालन गर्ला'पुस्करले भने।
बसपार्कबाट पनौतीको पुरानो वस्ती लग्दै गर्दा सत्तलमा खेलिरहेका बालबालिकाहरु कुमारी आएको भन्दै हेर्दै थिए भने केही वृद्धाहरु ओजश्वीलाई ढोग्न पुगे। तर समग्रमा पनौतीको कुमारी ओझेलमा परिरहेको आभाष हुन्थ्यो।
तलेजु भवानीमा लगेर कुमारीलाई त्यहाँ पनिभात चढाउने गरिन्छ। केही मिनेटको विशेष पूजापछि उनीहरु फेरि घर फर्किन्छन्। घर फर्किएर ओजश्वी फेरि सामान्य कपडा नै लगाउँछिन्। दशैं भरी उनको दिनचर्या नै फेरिन्छ।
रोहिनी भन्छिन्,'बाहिर जस्तो गर्न यहाँ सकिँदैन। तर हामीले जति सक्दो गरिरहेका छौं। कहिले काहीँपनौतीमा पनि कुमारी छ भनेर यहाँकाले बिर्सिसके छ जस्तो लाग्छ।'