PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गाईको दूध मानव स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?



पहिलोपोस्ट

गाईको दूध मानव स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?
फोटोः दअर्गानिकफार्मरडटकम

ससाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले गाईको दूध स्वास्थ्यवर्द्धक र पोषणयुक्त मानेर उपभोग गर्छन्। मानवले हजारौ वर्षअघि पशुपालन शुरु गरेदेखि नै गाईको दूध खाँदै आएको छ। अझ नेपालीका लागि दशैं, तिहार, छठ, म्हःपूजा, तीज, ल्होसार वा बुवाआमाको मुख हेर्ने दिन लगायत विभिन्न चाडपर्वमा माछामासु नखानेका लागि त दूध र दूधबाट बनेका मिठाइ तथा परिकार नै अत्यधिक रुचाइन्छ। 

तर गाईको दूध यस्तो आहारा हो, जसबारे पोषणविदहरुले फरक फरक धारणा व्यक्त गर्छन् र यसैकारण वर्षौंदेखि नै गाईको दूध स्वास्थ्यवर्द्धक कि हानिकारक भन्नेमा विवाद रहँदै आएको छ। के गाईको दूध मानिसको भोजनमा समावेश गर्नुपर्छ? के यो मानवका लागि स्वास्थ्यवर्द्धक छ? यसबारे बिबिसी, द साइन्टिफिक अमेरिकन, द गार्जियन लगायतले बेला बेलामा लेखहरु प्रकाशित गर्दै आएका छन्।

हजारौं वर्षअघि गाईलाई घरपालुवा बनाइएपछि नै गाईको दूध र दूधबाट बनेका खानेकुराहरु मानिसको भोजनमा समावेश हुँदै आएको छ। केही वैज्ञानिकहरुका अनुसार १० हजार वर्षदेखि गाईको दूध हाम्रो भोजनमा समावेश हुँदै आएको छ। तर कतिपय पोषणविदहरु गाईको दूधलाई मानव स्वास्थ्यका लागि उपयुक्त मान्दैनन्। हिजोआज यो धारणाका समर्थकहरुको बढ्दो संख्या र स्वरले अधिकांशको ध्यानाकर्षण गरिरहेको छ।
शायद यसैकारणले पनि होला अहिले विश्वभरि नै दूधको खपत तीव्र गतिमा लगातार कमी हुँदै गएको छ।

अमेरिकामा घट्यो दूधको खपत

अमेरिकाको कृषि विभागका अनुसार सन् १९७० पछि त्यहाँ दूधको खपतमा ४० प्रतिशत गिरावट आएको छ। सोया मिल्क र बदाम मिल्कजस्ता दूधका विभिन्न विकल्पका कारण खपतमा कमी आएको विभागले जनाएको छ।

भेगन (पूर्ण शाकाहारी) हुने बढ्दो प्रचलनले पनि अमेरिकामा दूधको खपत घटाएको छ। त्यस्ता मानिसहरु जो माछामासु र पशुपक्षीसँग जोडिएका वा तीबाट उत्पादन हुने कुनै पनि खानेकुरा खाँदैनन्, उनीहरुलाई भेगन भनिन्छ। उनीहरु दूध, दही, घ्यु र अन्डासमेत खाँदैनन्।
यसबाहेक विश्वको करिब ६५ प्रतिशत जनसंख्यामा ल्याक्टोज ( दूधमा पाइने सुगर) पचाउन सक्ने पाचन क्षमता नभएकाले पनि दूधको खपतमा ठूलै गिरावट आएको छ।

तर मुख्य प्रश्न हो, दूध मानवका लागि स्वास्थ्यवर्द्धक छ कि हानिकारक? यसबाट हाम्रो शरीरमा पर्ने प्रभावबाट जोगिन के दूध खान छाड्नुपर्ने हो?

दूध कति स्वास्थ्यवर्द्धक छ?

सबैभन्दा पहिले मानिसका लागि दूध कति स्वास्थ्यवर्द्धक छ भन्ने कुरा गरौं। बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार गाईको दूध र यसबाट बनेका खानेकुरा जस्तै दही, पनिर, मख्खन आदिमा धेरै परिमाणमा क्याल्सियम र प्रोटिन पाइन्छ, जुन सन्तुलित भोजनका लागि आवश्यक तत्व हुन्। 

अमेरिकी पोषणविद डोनल्ड ह्यान्सरडका अनुसार क्याल्सियम र प्रोटिनबाहेक पनि दूधमा कैयौं भिटामिन पाइन्छन्। दूध भिटामिन ए र डीको राम्रो स्रोत हो।

‘सबै जना प्रष्ट हुन जरुरी छ कि गाईको दूध पौष्टिक र स्वास्थ्यका लागि फाइदाजनक छ,’ उनी भन्छन्, ‘तर शायद वर्षौंदेखि भनिँदै आएजस्तो यो अत्यन्त आवश्यक भने छैन।’

ब्रिटिश न्युट्रिशन फाउन्डेशनका अनुसार बालबालिका र वयस्कहरुलाई आवश्यक पर्ने आइरन, क्याल्सियम, भिटामिन, जिंक र आयोडिनको मात्रा भोजनबाट मात्र पुग्दैन तर दूधमा भने ती सबै आवश्यक पोषण हुन्छ।

‘प्राकृतिक दूधका विकल्पहरुमा केही समस्या छन्, तिनमा पोषक तत्व प्राकृतिक रुपमा हुँदैनन् र त्यसैले तिनमा कृत्रिम तरिकाले पोषक तत्व मिसाइन्छ,’ पोषणविद् शार्लोट स्टर्लिङ–रिड भन्छिन्, ‘यसैले हुनसक्छ यस्ता वैकल्पिक दूधले तपाईंले अपेक्षा गरेजति फाइदा नगर्न सक्छन्।’

गर्भवतीका लागि आवश्यक

प्राकृतिक तरिकाले उपलब्ध हुने दूध शारीरिक व्यायाम गर्नेहरुका लागि फाइदाजनक हुन्छ। पोषणविद् रेनी म्याकग्रेगरका अनुसार दूध आफै्रमा एउटा सम्पूर्ण आहारा हो, जसमा उपयुक्त अनुपातमा कार्बोहाइड्रेट र प्रोटिन हुन्छ। यसले मांसपेशी विकास हुनमा मद्दत गर्छ।

बालबालिकाका लागि क्याल्सियमको उपयुक्त स्रोत पनि हो दूध। किनभने दूधले गर्भमा विकसित हुने भ्रुणमा हाड बन्न र हाडको विकासमा समेत सघाउँछ। त्यसैले गर्भवतीहरुलाई दूध पिउने परामर्श चिकित्सकहरुले दिने गरेका छन्।

३ सय मिलिलिटर दूधमा करिब ३५० मिलिग्राम क्याल्सियम पाइन्छ, जुन १ वर्षदेखि ३ वर्षसम्मका शिशुलाई दैनिक चाहिने क्याल्सियमको मात्राको आधा हो। 

हुन त एनएचएसले भने १ वर्षमुनिका बालबालिकालाई गाईको दूध खान सल्लाह दिँदैन। 

गाईको दूधमा पाइने अतिरिक्त फ्याटको समस्या 

गाईको दूध खानुको एउटा ठूलो समस्या भनेको यसमा पाइने अतिरिक्त फ्याट हो। अर्थात् गाईको दूधमा फ्याट (बोसो)को मात्रा निकै हुन्छ। त्यसैले एनएचएसले किशोर वयका र वयस्कलाई समेत गाईको दूधबाट तर (छाली) हटाएर मात्र दूध खान सिफारिश गर्छ।

पोषणविद ह्यान्सरड यो कुरालाई यसरी बुझाउँछन्– वयस्कका लागि भिटामिन र आइरन पाउने एउटा राम्रो श्रोत दूध हो तर दूधबाट क्रिम भने झिकेको हुनुपर्छ अर्थात् यसमा फ्याट हुनु हुँदैन।उनी भन्छन्, ‘र तपाईंले पनिर, मख्खन र दहीबाट पनि सावधान रहनु पर्छ।’

पोषणविदहरुका अनुसार पनिरमा २० देखि ४० प्रतिशतसम्म फ्याट हुन्छ। मख्खनमा भने फ्याटसँगै स्याचुरेटेड फ्याट र नुनको मात्रा पनि निकै हुन्छ।

पोषणविद ह्यान्सरड भन्छन्, ‘यी खानेकुराले हामीलाई धेरै क्यालोरी दिन्छन्। तर हामीलाई त्यत्रो विधि क्यालोरीको आवश्यकता पर्दैन, जति बाल्यावस्थामा वा किशोरावस्थामा पर्छ। त्यसैले यी खानेकुरा अधिकांश मानिसका लागि मोटोपनको कारण बन्न पुग्छन्।’
त्यस्तै ल्याक्टोजको पनि एउटा समस्या छ– दूधमा पाइने यो सुगर सजिलै पचाउन सकिँदैन।

एलर्जी

गाईको दूध खाँदा आउन सक्ने अर्को समस्या पनि छ। त्यो हो– केही मानिसलाई यसको एलर्जी हुन सक्छ। कहिलेकाहिँ त दूधको एलर्जीले निकै गम्भीर समस्या निम्त्याउन सक्छ।

एचएचएसका अनुसार ५० जना बेलायती बालबालिकामध्ये एक जनालाई दूधको एलर्जी छ।

वल्र्ड एलर्जी अर्गनाइजेशनले दूधको एलर्जीलाई एउटा ‘कष्टदायक सार्वजनिक स्वास्थ्य समस्या’ भनेको छ। यसका अनुसार दूधबाट हुने एजर्जीका बिरामीको संख्या बढ्दो छ।

अर्को एउटा अचम्मलाग्दो तथ्य के पनि छ भने अन्य स्तनधारीहरू वयस्क भइसकेपछि भने मानिसले जस्तो दूध खाँदैनन्। यसको एउटा कारण के हो भने ल्याक्टोज पचाउन चाहिने इन्जाइम बाल्यकालमा मात्र शरीरमा धेरै उत्पादन हुन्छ।

विश्वको जनसंख्याको ठूलो हिस्साले ल्याक्टोज पचाउन सक्दैन, खासगरी एशियाका बासिन्दाहरु। दूधले मानिसको पाचन शक्ति कमजोर बनाउँछ र यसले अन्य स्वास्थ्य समस्या समेत निम्त्याउँछ।

यसैकारणले दूधबाट कैयौं फाइदा भए पनि यसका बेफाइदाबारे नै अहिले विश्वभरि चर्चा र विवाद भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell