PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टीका र जमरा नै लगाउँछन् मन्त्री मोहम्मद इस्तियाक, भन्छन् : यो आपत्तिको विषय होइन



कुञ्जरमणि भट्टराई

टीका र जमरा नै लगाउँछन् मन्त्री मोहम्मद इस्तियाक, भन्छन् : यो आपत्तिको विषय होइन

यतिखेर दशैंको माहोलले छपक्कै छोपेको छ। विदेशमा श्रम गर्न गएकाहरु दशैं मान्नका लागि आफ्नै थातथलो फर्किएका छन्। शिक्षा, रोजगारी लगायतका विभिन्न सिलसिलमा राजधानी पसेकाहरु दशैँका लागि आफ्नै घरगाउँ। केही दिनयता राजधानीको चहलपहल सुनसान। के धनी के गरीव न कुनै जात र धर्म सबैलाई लागेको छ दशैं।

यस्तैमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि दशैंका लागि घर जाने तर्खर गरिरहँदा भेटिए। गत बिहीवार मन्त्रालयमा भेटिएका मन्त्री इस्तियाक राई शुक्रबार (१७ गते) बेलुकी (बाँके) घर जानका लागि केही कामहरु सक्ने धुनमा थिए। जन्मजात मुस्लिम भए पनि धुमधामका साथ दशैं मनाउने तयारी थियो उनको। मन्त्री इस्तियाक राईले हामीसँग आफ्नो दशैं अनुभव सेयर गरेका छन्।

मन्त्री राईलाई दशैँ हिन्दुहरुको मात्रै चाड हो भन्ने भान कहिल्यै भएन। बाल्यकालबाट नै उनले दशैंलाई नजिकबाट साक्षात्कार गर्ने अवसर पाए। घरबाट थोरै दूरीमा रहेको रामलीला मैदानमा बाल्यकालमा देखेको त्यो उल्लास उनी आज पनि खोजिरहेका छन्।

'नेपालगञ्जको रामलीला मैदानमा दशैंको दशौं दिनसम्म बाँके, बर्दिया दाङ र भारतका विभिन्न ठाउँबाट जनमानस भेला हुन्थे। नेपालगञ्ज भरिभराउ नै हुन्थ्यो,’ उनले सम्झिए, 'त्यसमा राम, सीता, लक्ष्मण, हनुमानका शताब्दी पहिलेका कथाहरु जिवन्त रुपमा चित्रित हुन्थे। न त्यो मेलामा कुनै जातलाई रोकिन्थ्यो न धर्मलाई। मुसलमान भएर पनि हामी त्यो हेर्न जान्थ्यौं।'

अहिले पनि नाटक मञ्चन हुन्छ। तर, अहिले र दुई चार ठाउँमा मात्र। त्यतिखेर जस्तो रमाइलो पाउँदैनन् उनी।

बाल्यकालमा बनेको त्यो छाप नै दशैको अविस्मरणीय पल बन्यो। यसपाला दशैमा उनी पाँच दिन गाउँघरमै रमाउने योजनामा छन्। दशैभरका लागि विभिन्न स्थानमा जाने कार्यक्रमको सेड्युल पनि बनिसकेको छ उनको। पाँच दिने बसाईका लागि मन्त्री राईको व्यस्त सेड्युल छ।

दशैमा आपसी सद्भाव बाड्ने, शुभकामना अदानप्रदान गर्ने योजना त छँदैछ, जनताका समस्या बुझ्ने, विकासका गतिविधिवारे छलफल गर्ने योजना पनि रहेको सुनाए उनले।

'नेपालगञ्ज उपमहानगरपालिका र डडुवा गाउँपालिकमा छ वडा छन्। सकभर सबै वडामा जाने सबैतिर जानेछु। शुभकामना अदानप्रदानसहित विकासका योजना र समस्या बुझ्ने काम हुनेछ,' उनले सुनाए।

दशैंलाई हिन्दुहरुको मात्र पर्व भन्नु गलत भएको उनी बताउँछन्।

'सांस्कृतिक, धार्मिक आस्था फरक हुनसक्छ। सांस्कृतिक, भौगोलिक, धार्मिक विविधाताले युक्त समाज छ हाम्रो। राम्रा कुरालाई अंगीकार गर्नुपर्छ। विविधतायुक्त समाजलाई भाड्ने काम कसैले गर्छ भने त्यो ठीक होइन,’ उनले भने।

हिन्दु धर्म मान्नेहरुले पनि इदमा पनि आपसी सद्भाव साटासाट गर्नु र मुलमानले दशैंमा शुभकामना अदानप्रदान गर्नु नौलो विषय नभएको उनको भनाई छ।

उनले एक उदाहरण दिँदै भने, 'मुलिम समुदायले बनाएको खराउ पहिलेका ऋषिमुनिले प्रयोग गर्दथे। मुस्लिमले मूर्ति बनाउँछ। त्यसलाई रुप दिने र मान्ने फरक कुरा हो। तर, समाजमा केही तत्वहरुले धर्म जातिका नाममा गलत विचार फैलाउने गरेका छन्।'

उनी दशैंमा टिका र जमरा ग्रहण गर्छन्। भन्छन्, 'टिका थाप्छु। जमरा पनि लगाउँछु। यो आपत्तिको विषय होइन। सद्भाव साटासाट गर्दैमा कसैको धर्म ग्रहण गरेको भन्न मिल्दैन।'

उनले समाजमा ढोङ्गी प्रवृत्ति पनि बढ्दै गएको बताए। भने, 'कतिपय मानिसहरु ढोङ्ग पनि गर्छन्। तर हामी हिन्दु भएर जाँदैनौं, टीका थाप्नु जमरा लगाउनु सम्मान गर्नु हो। ढोङ्गको तरिका फरक सम्मानको तरिका फरक हुन्छ। अहिले राजनीतिक ढोङ्ग पनि देखिन थालेको छ।'

दशैंमा मासुलाई महत्वका साथ पनि लिइन्छ। दशैंमा मासु चाहिँ खानुहुन्छकी नाईँ ?

'हाम्रो परम्परा अनुसार हामी हलाल गरेर खान्छौं। तर, दशैको मासु चाहिँ खादैनौं। खान मिल्ने चिज खान्छौं। उहाँहरु हाम्रोमा आउँदा खान मिल्ने चिज खानुहुन्छ। कतिपय कुरामा जबरजस्ती भन्ने कुरा हुँदैन।'

मन्त्री इस्तियाक राईले दशैँको दायरा पनि फराकिलो बनेको बताए। पहिले साथीभाइसँग मात्रै दशै मनाउँथे उनी। मन्त्री भएपछि सबैसँग मनाउँछन्। उनी अरुबाट दशैंको टीका थाप्छन् भने अरुलाई टीका लागाइदिन्छन् पनि। भन्छन्, 'टीका लगाउन पुग्दा हिन्दु धर्म मान्ने साथीहरुलाई राम्रो लाग्छ। हामी पनि खुशी हुने नै भयौं।'

उनी मात्र होइन, उनका घरपरिवारका सदस्य र छरछिमेकी पनि दशैं मनाउँछन्। उनी भन्छन्, 'नेपालगञ्जका लागि यो नौलो होइन। यो त धार्मिक विकृति भित्र्याउनेहरुलाई गतिलो झापड यो।'

दशैंमा पनि केही विकृति भित्रिएको अनुभव सुनाए उनले।

'रक्सी र मासुको पर्व जस्तो हुन थालेको छ। यसले गर्दा कतिपय घटना हुने गरेका छन्। मुस्लिम समुदायमा पनि विकृति भित्रँदो छ,’ उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell