PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

दशैँको मौका छोपी मध्यतराईका जिल्लामा तस्कर सक्रिय, ३६ लाखको सामानसहित ५ जना पक्राउ



राधेश्याम पटेल

दशैँको मौका छोपी मध्यतराईका जिल्लामा तस्कर सक्रिय, ३६ लाखको सामानसहित ५ जना पक्राउ

वीरगन्ज : जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट तस्करी गरेर अवैध रुपमा भित्र्याइएको करिव ३४ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ।

प्रहरीले कपडा तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

बाराको सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोलस्थित मोजाहिर मियाँको घरमा भण्डारण गरी राखिएको ३३ लाख ९० हजार रुपैयाँ बराबरको भारतीय कपडा प्रहरीले बरामद गरेको हो। विशेष सुचनाको आधारमा प्रहरीले मियाको घरमा छापा मार्दा २२ वटा बोरामा रहेका कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

कारोबारीले सिमावर्ती भारतीय बजारबाट कपडा खरिद गरी पाँच वटा मोटरसाइकलमार्फत मियाको घरमा ल्याएको खनालले बताए। कपडा तस्करीमा संलग्न बाराको आदर्शकोतवाल गाउँपालिका–५ का रामरतन यादव, जयमंगलप्रसाद यादव र हेमचन्द्र तिवारी प्रहरीको नियन्त्रणमा छन्।

प्रहरीले कपडा तस्करीमा प्रयोगमा गरिएका भारतीय नम्बर प्लेटका ४ र नेपाली नम्बर प्लेटको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका ३ जनालाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक खनालले बताए।

रौतहटमा २ लाखको समानसहित तस्कर पक्राउ

इलाका प्रहरी कार्यालय राजपुर रौतहटले अवैध रुपमा राजस्व छलि भित्र्याइएको २ लाख मुल्य बराबरको भारतीय कपडा, दुुईवटा मोटरसाईकल र दुई जना कारोवारीलाई पक्राउ गरेको छ।

प्रहरीले रौतहटको राजपुर–५ स्थित नहर सडक खण्डमा अवैध रुपमा भारतबाट कपडा भित्र्याइरहेको अवस्थामा बिआर ०५ ए ५२६२ र ना ६४ प ५१९४ नम्बरको मोटर साईकलसहित रौतहट बौधीमाई नगरपालिका वडा नम्बर–५ कोपवा निवासी मोतिम हास्मी र सुरेश यादवलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ। बरामद कपडा र मोटरसाईकलसहित पक्राउ परेका हास्मी र यादवलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell