PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

दशैँ नोस्टाल्जिया : पहिलो पटक दशैँमा निधार खाली हुँदा विच्याटमा हजुरआमाको मेसेज, 'कान्छा टीका लगाउन आउँदैनस् र?'



विधुर ढकाल

दशैँ नोस्टाल्जिया : पहिलो पटक दशैँमा निधार खाली हुँदा विच्याटमा हजुरआमाको मेसेज, 'कान्छा टीका लगाउन आउँदैनस् र?'

चीनको ७० औं स्थापना दिवसका लागि भएको साता लामो विदापछि आजदेखि लेक्चर शुरु भयो। आजै नेपालमा हिन्दुहरुको महान पर्व विजया दशमी। 

कक्षाकोठामा पढ्दै गर्दा दाङका एक जना नेपाली दाजु दीपक अधिकारीको म्यासेज आयो दशैँको दिन पनि यसरी पढ्नुको पीडा समेटिएको। मास्टरले पढाइरहेको तस्विर पठाएका थिए उनले। बिदापछिको आज पहिलो कक्षा 'कम्प्रिहेन्सिभ चाइनिज'। चिनियाँ भाषामा परिवारका सदस्यहरुलाई सम्बोधन कसरी गर्ने भन्दै लेक्चर दिँदै थिइन्, लाओसी लोङ मेइ।

मामा, पापा, गगभन्दै सँगै रहेकी नेपाली साथी निसा मोबाइलमा फोटो हेर्दै थिइन्, अघिल्ला दशैँको। उनका आँखा भरिए। कक्षामै आँशु बगाइन्।

मेरो लागि पनि यो पहिलो दशैँ थियो घर परिवार बाहिरको। 

बिहानको पहिलो कक्षा सकिएर बाहिर निस्किँदा मानव ट्राफिक जामको बीचमा घरबाट विच्याटुमा फोन आयो। फोनमा ९५ वर्षकी हजुरआमा भन्दै थिइन्- 'कान्छा टीका लगाउन आउँदैनस र?' मेरा आँखा नै रसाए। 

सान्तवनाको झुट बोले- 'आउँदै छु आमा।'

आँखाको दृष्टि कमजोर भइसकेका कारण मान्छे पनि चिन्न छाडिसकेकी हजुरआमाले मलाई भने मेरो आवाजले नै चिन्न सक्छिन्। घरबाट काठमाडौं फर्किँदा हरेक पटक सोध्ने गर्थिन्-  ‘फेरी कहिले आउँछस्।’

मैले जवाफ दिन्थेँ। भोलीपर्सी। त्यस्ता भोलीपर्सी कति बित्थे। हरेक पटक फोनमा कहिले भन्ने जवाफमा भोली पर्सी नै दिन्थे। 

गत महिना अध्ययनका लागि चीन आउनु अगाडि घरमा विदाइका बेला पुगेको थिए। त्यसबेला मलाई हजुरआमाको नियमित प्रश्नले सताएको थियो। ९५ वर्ष नाघेकी हजुरआमाले कहिले आउँछस् भनेर सोध्दै गर्दा दशैँको मुखमा देश छाड्न लागेको मैले अमिलो मन पारेर दशैँमा भनेर जवाफ दिएको थिएँ।

तर परदेशमा आज दशैँ खाली निधारमा नै बित्यो।

साथीभाइसँग हासखेल त भइरहेको छ। तर, दशैँमा निधारमा रातो टीका लगाइदिने हात सम्झिँदा निशाको मात्र होइन मेरा पनि आखाँ रसाएर आए। 

दशैँको दिन नै कक्षा भएकाले अघिल्लो दिन नै यस विश्वविद्यालयमा रहेका नेपालीहरुको सानो जमघट भने भयो। 

सामान्य रुपमा अरुबेला खसीको मासु खान नपाइने दशैंमा त खानै पर्यो। 

साता अगाडि देखि नै दशैँमा त खसी खानु पर्छ है सबैले भन्दै आएका थिए। ‘विधुर सर दशैँमा खसी खानुपर्छ है,’ हरेक दिन निशाले भन्ने गर्थिन्। ‘बोका ढाल्ने हो चिन्ता नगर न’ मैले जवाफ दिन्थे। 

‘राजिव दाई दशैँमा खसीको मासु ल्याउनुपर्छ है,’ शनिवार युनिभर्सिटी भित्रै चिकन ममु बनाएर खाँदै गर्दा मैले जनकपुरका राजिव यादवलाई भनेको थिएँ।

उनै दाई र म सोमबार दिउँसो खसीको मासु खोज्न निस्केका ५ घण्टा लगाएर खसीको मासु फेला पारेका थियौँ। 

हुन त छेन्दुमै रहेको काठमाडौं रेस्टुरेन्टले नेपालीहरुका लागि भनेर दशैँको अघिल्लो दिन दशैँ कार्यक्रम राखेको थियो। 

म पढ्दै गरेको युनिभर्सिटीमा रहेका ११ जना नेपालीले युनिभर्सिटीमै दशैँ मनाउने निर्णय गरेका थियौँ। खसीको मासु, घ्यु हालेको भात खाएर।

घरबाट आउने बेलामा आमाले हालिदिएको लोकल घ्यु दशैँकै लागि भनेर साँचेर राखेको थिएँ। 

साँझ दशैँ मनाउँदै गर्दा काठमाडौं रेस्टुरेन्ट दशैँको टीका चलिरहेको थियो। विच्याटुमा फोटो आयो। एक जना साथीले भने हामी पनि टीका लगाउँ न। 

रातो टीका खोज्दा पाइएन्। ठिकै छ।

सफ्ट्वेयर इन्जिनियरीङ गरिरहेका मजाकी दीपक दाइ भन्दै थिए। समय अनुसार अपडेट हुनुपर्छ। बिना टीका पनि दशैँ मनाउनुपर्छ। आज विहान कक्षा कोठामा उनै बढी झोक्राएका। उनैले विच्याटमा फोटो पठाउँदै दशैँमा पनि कक्षा लिँदाको पीडा भन्दै पठाएका।

त्यसपछि छेन्दुमा रहेका नेपालीहरुले एकाएक विच्याटको ग्रुपमा कक्षाकोठाको फोटो पठाउन थाले। 

त्यत्तिकैमा एक जना चिनियाँ साथीले वीच्याटमा मेरो मोमेन्ट हेरेर म्यासेज गरे- ‘ह्याप्पी दशैं। यु आर फार फ्रम योर होम बट नट फ्रम योर फेम्ली। वी आर अल्सो योर फेम्ली।’

घरमा टिकाको उत्सव चल्दै गर्दा यो आलेख लेख्न बसेको म बेलाबेलामा रसाएका आखाँका आँशुलाई छेल्दै छु। पहिलो पटक घरबाट टाढा खाली निधार, ल्यापटपमा प्रोफेसरले दिएको जिम्मेवारीलाई पूरा गर्दै यता आँखा डुलाउँदै छु।

प्रोफेसर युहान जाङले एउटा जिम्मेवारी दिएकी थिइन्। कक्षाका सबै विद्यार्थीको असाइन्मेन्ट जम्मा गर्ने र लिस्ट तयार पार्ने। मैले लिस्ट तयार पार्दै गर्दा उनको म्यासेज आयो- ‘विधुर यु आर ग्रैट टु योर फेम्ली। बी स्ट्रोङ एण्ड स्टेप फरवार्ड। योर ग्रेन्डमा विइस यु वी ह्याप्पी एण्ड सक्सेस।’

पोहोरको दशैँको फोटो विहानै वीच्याटको मुभ्मेन्ट्समा राखेको थिएँ। हजुरआमाले टिका लगाइदिँदै गरेको। सायद उनले यही देखेर म्यासेज गरेकी थिइन्। र म अहिलेसम्मका दशैँमा हजुरआमाले दिएका आशिर्वादलाई आत्मसात गर्दै फेरी अर्को यात्रामा निस्किँदै छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell