मौसम परिवर्तन हुने यो समयमा भाइरल ज्वरोका बिरामी बढेका छन्। वातावरणमा परिवर्तन आउने क्रममा विभिन्न भाइरसहरु सक्रिय हुने भएकाले यो समयमा भाइरल ज्वरोको जोखिम उच्च हुन्छ।
मानिसको शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस (९८.६ डिग्री फरेनहाइट) हो। शरीरको तापक्रम यो भन्दा एक डिग्री मात्रै बढेमा पनि त्यसलाई ज्वरो मान्ने गरिन्छ। ज्वरो आफैँमा एउटा रोग नभइ यो अन्य रोगको लक्षण पनि हुन सक्छ। कुनै पनि ब्याक्टेरिया या भाइरसको आक्रमणलाई शरीरले प्रतिरक्षा गर्दा ज्वरो आउने गर्छ।
भाइरल ज्वरो के हो?
कुनै पनि भाइरसका कारणले आउने ज्वरो नै भाइरल ज्वरो भएको बताउँछन्, भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा भोजराज अधिकारी। भाइरल ज्वरो विभिन्न भाइरसका कारणले हुन सक्ने डा अधिकारीले बताए।
डा अधिकारीले भने, ‘भाइरल ज्वरो एकै प्रकारका भाइरसका कारणले हुँदैन। भाइरस धेरै प्रकारका छन् र तिनले निरन्तर आफ्नो स्वरुप र स्वभाव पनि परिवर्तन गर्ने गर्छन्। सामान्य भाइरल इन्फेक्सनले आउने ज्वरोदेखि डेंगु ज्वरोसम्म सवै भाइरल ज्वरो नै हुन्।’
एकै प्रकारका मात्रै भाइरसले ज्वरो नआउने भएकाले यसको यकिन उपचार नहुने उनले बताए। यो विभिन्न माध्यममार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने उनको भनाइ छ।
‘भाइरल ज्वरो संक्रमित व्यक्तिको र्याल, खकार आदिबाट सर्छ। विशेष प्रकारका भाइरल ज्वरो अन्य भेक्टर (माध्यम)बाट पनि सर्न सक्छ। जस्तै लामखुट्टेबाट डेंगु र सुँगुर, बंगुरबाट स्वाइन फ्लु,’ उनले भने।
भाइरल ज्वरोका लक्षणहरु
डा अधिकारीका अनुसार भाइरल ज्वरो आउँदा शरीरको तापक्रम १०५ डिग्री फरेनहाइटसम्म पुग्छ। शरीरको तापक्रम बढ्नुको साथै अन्य लक्षणहरु पनि देखिने उनले बताए।
उनले भने, ‘भाइरल ज्वरो आउँदा शरीरको कुनै एक भागमा मात्रै असर गर्दैन। रगतको माध्यमबाट भाइरस शरीरमा फैलिने हुँदा यसको असर शरीरको सवै भागमा हुन्छ। अर्थात शरीरको कुनै एउटा मात्रै अंग होइन शिरदेखि पाउसम्म नै यसले असर गर्छ।’
भाइरल ज्वरो आएमा पुरै शरीरमा दुखाइ महशुस हुने, शरीर काप्ने, टाउको दुख्ने, विशेषगरी आँखा पछाडिको भाग दुख्ने, मांशपेशी दुख्ने, कमजोर महशुस हुने, शरीरमा डाबर आउने जस्ता लक्षणहरु देखिने उनले बताए। भाइरल ज्वरोका कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले यो समयमा अन्य ब्याक्टेरियाले पनि आक्रमण गर्न सक्ने उनको भनाइ छ।
भाइरल ज्वरो के कारणले आउँछ?
भाइरल ज्वरो आउनुको मुख्य कारण भाइरसको इन्फेक्सन हो। भाइरस मानव शरीरमा प्रवेश गरेपछि शरीरका कोषहरुमा यसको तिब्र रुपमा बृद्धि हुन्छ। भाइरसको आक्रमणलाई प्रतिरक्षा गर्दा शरीरको तापक्रम बढ्छ र ज्वरो आउँछ।
हामी वरपरको वातावरण भाइरल ज्वरोको मुख्य कारण भएको डा अधिकारी बताउँछन्। बद्लिदो वातावरणमा भाइरस सक्रिय हुने उनले बताए।
‘हामी वरपरको वातावरण बद्लिदो छ, विकास भइरहेको छ, निर्माण कार्यहरु भइरहेका छन्’ डा अधिकारीले भने, ‘बद्लिदो वातावरणमा भाइरसहरु पनि सक्रिय हुन्छन्।’
भाइरस भएको खानेकुराका कारणले पनि भाइरल ज्वरो आउन सक्ने उनले बताए। जसमा नोभो-भाइरस र एन्टे-रोभाइरस जस्ता भाइरसहरु खानाको कारणले मानव शरीरमा प्रवेश गर्ने उनको भनाइ छ। त्यस्तै लामखुट्टेको टोकाइ, सुँगुर-बंगुरसँगको सम्पर्क आदिले पनि भाइरल ज्वरो आउने उनले बताए।
भाइरल ज्वरो कसरी ठीक हुन्छ?
सामान्यतया भाइरल ज्वरोको कुनै विशेष उपचार नहुने डा अधिकारी बताउँछन्। सामान्यतया घरमै आराम गरेर पनि भाइरल ज्वरो आफै निको हुने उनले बताए।
उनले भने, ‘यो समयमा आराम गर्नु निकै जरुरी हुन्छ। किनकी भाइरल ज्वरो आएको बेलामा शरीरको प्रतिरक्षा क्षमता कमजोर हुन्छ, त्यसैले बाहिर हिँड्दा ब्याक्टेरियाले आक्रमण गर्न सक्छ। रक्तचापमा पनि परिवर्तन हुने भएकाले बेहोस हुन पनि सकिन्छ।’
भाइरल ज्वरो आउदा शरीरमा पानीको कमी हुने भएकाले डिहाइड्रेसन हुन नदिन प्रशस्त पानी पिउनु पर्ने उनको सुझाव छ।
कति बेला डाक्टरलाई देखाउने?
सामान्यतया भाइरल ज्वरो धेरै चिन्ता लिनुपर्ने समस्या नभएको अधिकारीको भनाइ छ। तर अत्याधिक टाउको दुख्ने, बान्ता हुने, होस् गुम्ने, बर्बराउने, स्वासप्रस्वासको गति बढ्ने, नाक मुख तथा दिशामा रगत आउने, शरीरमा डाबर आउने आदि भएमा चिकित्सकलाई देखाउनु पर्ने उनको सुझाव छ।
भाइरल ज्वरोबाट बच्ने उपाय
भाइरल ज्वरोबाट बच्नको लागि स्वस्थ बानी व्यवहार अपनाउन डा अधिकारी सुझाव दिन्छन्।
‘कम्तिमा ३० सेकेण्ड जति लगाएर साबुन पानीले हात धुनुपर्छ। गुम्सिएको कोठामा बस्नु हुँदैन। खुल्ला रुपमा हावा खेल्ने ठाउँमा बस्नुपर्छ। मौसम अनुसारको लुगा लगाउनु पर्छ। पानी अरु तरीकाले शुद्धिकरण गरेर भन्दा उमालेर खानु नै राम्रो हुन्छ,’ अधिकारीले भने।