
विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको समूह 'बी' को खेलमा नेपालले बलियो अस्ट्रेलियाको सामना गर्दै छ। विश्वकपमासमेत सहभागिता जनाउँदै आएको अस्ट्रेलिया बलियो र अनुभवी टोली हो।
नेपाली टोलीका प्रशिक्षक योहान कालिन अस्ट्रेलिया बलियो टोली भएको बताउँछन्। उनले नेपाल र अस्ट्रेलियाबीचको खेलको प्रिम्याच कन्फ्रेन्समा आफूहरु अन्डरडग भएर पनि आत्मविश्वासी रहेको बताए।
'हामी आफ्नो क्षमतामा विश्वास गर्छौ। हाम्रो तर्फबाट सक्दो प्रयास गर्ने छौं,' उनले भने, 'अस्ट्रेलियाका खेलाडीहरु बलिया र अनुभवी छन्। नेपाल अन्डरडग टिम हाे। तर, हामी डराएका छैनाैं।'
नेपाली टोलीले यसअघि २ खेल खेलेको छ। जसमा पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भयो भने दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो। नेपाल र अस्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे जियो स्टेडियम क्यानबेरामा सुरु हुनेछ। नेपाल रहेको समूह बी मा कुवेत, नेपाल, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन्।
समूह 'बी'मा कुवेत, नेपाल र चाइनिज ताइपेईले २ खेल खेलेका छन् भने जोर्डन र अस्ट्रेलियाले १ खेल खेलेका छन्। २ खेल खेलेका कुवेत र नेपाल १ खेलमा जित र १ खेलमा पराजय भोग्दै ३ अंक जोडेका छन्। १ खेलमा मात्र खेलेका अस्ट्रेलिया र जोर्डनले पनि जित निकाल्दै ३ अंक नै जोडेका छन्। चाइनिज ताइपेइ भने आफ्ना दुवै खेलमा अंकविहीन बन्दै तालिकाको पुछारमा छ। गोल अन्तरको आधारमा कुवेत तालिकाको शीर्ष स्थानमा छ।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ