PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अभावै अभाव झेल्दै पोखराको ट्राफिक प्रहरी, ‘हातखुट्टा बाँधेर दगुर् भनेजस्तो भएको छ’



विष्णु गौतम

अभावै अभाव झेल्दै पोखराको ट्राफिक प्रहरी, ‘हातखुट्टा बाँधेर दगुर् भनेजस्तो भएको छ’

पोखरा : नेपालकै दोस्रो ठूलो ट्राफिक समस्या भएको सहर हो, पोखरा। यति ठूलो सहरमा पनि ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्रीहरुको जोहो भने शून्य बराबर नै रहेको छ।

‘हामीलाई हातखुट्टा बाँधेर दगुर भनेजस्तो भएको छ,’ पहिलोपोस्टसँग कुरा गर्दै ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले भने।

मिश्रका अनुसार पोखरामा करिब दैनिक १५ हजार सवारीसाधन गुड्ने भए पनि तिनका चालकको मादक पदार्थ सेवन (मापसे) जाँचका लागि ट्राफिक प्रहरीसँग जम्मा एक थान मात्र ब्रेथलाइजर मेसिन छ। उनले भने, ‘दैनिक कति जनालाई हा गर्नुस् त भन्ने?’ ट्राफिक प्रहरीलाई समस्याका बीच जनताको सेवा गर्न असहज भएको उनले बताए।

यातायात व्यवस्था कार्यालयका प्रमुख अच्युत रेग्मीका अनुसार पोखरा क्षेत्रमा यातायातका करिब २० हजार सवारीसाधन रहेका छन्। जसमा एक हजार ६ सय ट्याक्सी, सात सय पर्यटक सवारीसाधन, एक हजार ५ सय सार्वजनिक बस तथा मिनिबसहरु, दुई हजार दुई सय निजी चारपांग्रे सवारी, १५ हजार जति मोटरसाइकल र १ हजार जति अन्य सवारीसाधनहरु दैनिक सञ्चालनमा रहने गरेका छन्। ती सबै सवारीलाई दैनिक रुपमा व्यवस्थापन गर्ने जिम्मा भने ट्राफिक कार्यालय कास्कीमा रहेका ९७ जना ट्राफिक प्रहरीहरुलाई छ। त्यसमा पनि मुख्य मुख्य चाडहरुमा भने त्यो समस्या अझ धेरै हुने गरेको पनि ट्राफिक प्रहरी प्रमुख मिश्रको अनुभव छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले यो वर्षको दशैँ लक्षित रणनीति पूरा भएको जानकारी दिएको छ। ट्राफिक प्रमुख मिश्रले रणनीति सार्वजनिक आउँदो पूर्णिमाको दिन हुने भए पनि दशैँका मुख्य दिनहरु सकिएकाले कास्कीको ट्राफिक प्रहरी सफल भएको धारणा राखेका हुन्।

उनले भने, 'हामीले घटस्थापनादेखि पूर्णिमासम्मका १५ दिनको ट्राफिक व्यवस्थापनको प्रगति विवरण सार्वजनिक गरे पनि आजसम्मको प्रगति हेर्दा हामी निकै सफल भएका छौं।'

के थियो रणनीति

दशैँका बेलामा चेकिङका लागि शंका लागेका सवारीमा मात्रै ध्यान केन्द्रित गरेको बताउँदै उनले यो बेला आफूहरुले राजस्व संकलनभन्दा पनि सवारीलाई व्यवस्थापन र सडकलाई सहज बनाउने रणनीति लिएको बताए।

उनले भने, ‘हामीसँग जम्मा ९७ जना मात्रै ट्राफिक साथीहरु छन्, त्यसैले उनीहरुलाई कसरी धेरै स्थानमा परिचालन गर्न सकिन्छ भनेर काम गरेका हौं। यो बीचमा अधिकतम यात्रुको गुनासो सिट पाइएन भन्ने नै हुँदो रहेछ, त्यही भएर मैले नै संयोजनकारी भूमिका खेलेर पृथ्वी बस व्यवसायी संघका साथीहरुसँग अनुरोध गरेँ। त्यही अनुसार काम भयो अनि त्यो समस्या पनि भएन।’

बढी भाडा लिनेहरुलाई आफैँ अगाडि बढेर कारबाही गरेको उनले बताए। सादा पोशाकमा ट्राफिक परिचालन गरेकाले पनि सो कार्य प्रभावकारी भएको उनले बताए। 

ट्राफिकलाई सहयोग नै गर्दैनन् पोखरेलीहरु

पोखरामा सार्वजनिक सवारीका लागि ट्याक्सी सबैभन्दा पहिलो नम्बरमा आउँछ। तर छड्के जाँचका क्रममा पोखराका कुनै पनि ट्याक्सीले मिटर प्रयोग नगरेको पाएको ट्राफिक प्रमुख मिश्रले बताए। यस्तो अवस्थामा यात्रुले पनि आफूहरुलाई सहयोग नगर्ने उनले बताए। 

‘यात्रुले यसबारे हामीलाई उजुरी गर्नुहुन्न। हामीले थाहा पाएर पनि यात्रु ठग्ने चालक र सवारीलाई कारबाही गर्न सकेका छैनौँ। यही अवस्था हुने हो भने अबको केही वर्षमा पोखराले काठमाडौंलाई जित्छ अनि कसैले पनि नियन्त्रण र व्यवस्थापन गर्न सक्दैन,’ मिश्रले भने।

सवारीलाई नियमन गर्ने विषयमा रुटका बारेमा कहाँ रोक्ने कहाँ नरोक्ने जस्ता कुराहरु महानगरले निर्क्यौल नगर्दा पनि समस्या भएको उनले बताए। उनले भने, ‘पोखरामा स्थानीयस्तरमा साह्रै बेथिति छ। हामीले त सहयोग गर्ने हो, नमाने नियमअनुसार कारबाही अगाडि बढाउने हो र महानगरले हामीलाई त्यसको लागि वातावरण बनाइदिनु पर्ने हो तर त्यो भएको छैन।’ 

दशैंमा समाधान गर्न नसकेका समस्याहरु

चाहेर पनि बढी भाडा लिनेलाई कारबाही गर्न नसकेको मिश्रले बताए। यो दशैँमा सबैभन्दा बढी भाडाको समस्या काठमाडौंबाट आउने सवारीमा देखिएको उनको भनाइ छ।

उनले भने, ‘पोखरा त अन्तिम विन्दु हो, त्यसैले हामीले केही गर्न नै सकेनौँ तर काठमाडौं र राजमार्गहरुमा हुने चेकिङले त्यति राम्रो काम गरेन।’ 

यो समयमा रातो नम्बर प्लेटका सवारीले पनि भाडामा मान्छे ओसारेको उनले बताए।

उनले भने, ‘हामीलाई जनगुनासो आएको हो तर पनि कारबाही गर्न सकेनौँ। हामीलाई राता प्लेटका सवारीले भाडामा मान्छे बोकेको थाहा छ तर चेकिङ गर्‍यो यात्रुहरुले नै यो त मैले चिनेको हो, मामा हो काका हो, दाइ हो भनेर भन्ने। त्यसैले गर्दा पनि महँगो भाडामा यात्रा गर्न बाध्य भए यात्रुहरु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell