PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

४० वर्षपछि आज इरानका महिलाहरुले पनि स्टेडियममा बसेर फुटबल हेर्ने



पहिलोपोस्ट

४० वर्षपछि आज इरानका महिलाहरुले पनि स्टेडियममा बसेर फुटबल हेर्ने

इरान र कम्बोडियाबीच आज हुने खेलमा इरानी महिलाहरुले पहिलो पटक स्टेडियममै बसेर हेर्न पाउने भएका छन्। इरानमा पछिल्लो ४० वर्षयता महिलालाई स्टेडियममै गएर कुनै पनि खेल हेर्न अनुमति दिइएको यो पहिलो पटक हो।

पछिल्लो समय फुटबलको सर्वोच्च निकाय फिफाले विवादास्पद 'पुरुष मात्र' नीति लिएको भन्दै इरानको फुटबललाई सस्पेन्ड गर्ने चेतावनी दिएको थियो। इरानमा पछिल्लो ४ दशकयता महिलालाई पुरुष भएको वातावरणमा जान नहुने तथा पुरुषले आधा कपडा मात्र लगाएको हेर्न नहुने बताउँदै स्टेडियम जानबाट वञ्चित गरिँदै आएको थियो।

 

पछिल्लो महिना फिफाले महिलालाई पनि बिनारोकटोक स्टेडियम प्रवेश गर्न पाउने अवस्था सिर्जना गर्न इरानलाई निर्देशन दिएको थियो।

इरानको सरकारले फिफाको आदेश तथा पछिल्लो महिना भएको 'ब्लू गर्ल' को मृत्यु पछि दबाबमा आएर महिलालाई पनि फुटबल स्टेडियममा प्रवेस गर्न मिल्ने व्यवस्था गरेको हो।

ब्लू गर्ल को घटना के हो?

इरानकी २९ वर्षीया सहर खोडियारी फुटबलको समर्थक थिइन्। गत मार्चमा भएको एउटा खेल हेर्न उनी पुरुषको जस्तै कपडा लगाएर फुटबल हेर्न स्टेडियम पुगेकी थिइन्। यसै क्रममा उनी गिरफ्तार भइन्। उनलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो। तर, उनले जेल जाने डरले आफैंलाई आगो लगाएर आत्महत्या गरिन्। उनलाई मनपर्ने टिम एस्टेगल फुटबल क्लब थियो, जसको रंग निलो थियो। त्यसैले गर्दा सामाजिक सञ्जालमा उनी ब्लू गर्ल को नामले चिनिन थालिन्।

उनले अदालतको आदेशअघि ३ दिन जेलमा बिताएकी थिइन्।

मार्चमा अरु ३५ जना महिलाहरु पनि पक्राउ परेका थिए। उनीहरुलाई पनि प्रहरीले हिरासतमा लिएको थियो। यस क्रममा जनैव नामकी एक महिलाको फुटबल स्टेडियमको एउटा फोटो भाइरलसमेत भएको थियो।

आज ३५०० महिलाहरुले फुटबल हेर्ने

फिफाको निर्देशन तथा ब्लू गर्लको मृत्यु पछि इरानले फुटबलमा महिलाको प्रतिबन्ध हटाएको छ। यसका लागि इरान फुटबल एसोसिएसनले स्टेडियममा ३५०० महिलाहरु बस्नका लागि छुट्टै अतिरिक्त सिटहरु बनाएको छ। एसोसिएसनले महिलाका लागि खोलेको टिकट केही समयमै बिक्री भएको थियो।

त्यसो त इरानमा महिलालाई खेल हेर्न रोक लगाउने कुनै कानुन छैन। सन् १९७९ को इस्लामिक क्रान्तिपछि महिलाहरुलाई विशेष अवस्थामा मात्र स्टेडियममा प्रवेश दिने बताइएको थियो। त्यसपछि सन् २००१ मा एउटा महत्वपूर्ण खेल हेर्न २० जना इरानी महिलाहरुलाई अनुमति दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell