दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ तयारीमा जुटेका छन् फुटबलका मुख्य प्रशिक्षक मिलन हाडा। राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक हाडा केही महिना यता व्यस्त छन्। राष्ट्रिय फुटबल टोली अन्तर्गत यू २३, उमेर समूह, तथा राष्ट्रिय महिला फुटबल टोलीको तयारी भ्याइनभ्याइ छ उनलाई। नेपाली टोलीको प्रशिक्षणको नेतृत्व तहमा रहेर सहजिकरणको जिम्मा उनकै काँधमा रहेकाले उत्तिकै सजग पनि।
हाडा नेपाली फूटबल टोलीका पूर्व डिफेन्डर हुन्। सन् १९८७ देखि ९३ सम्म नेपाली राष्ट्रिय टोलीबाट उनले खेलेका थिए।
‘मुख्य चाहिँ डिफेन्डर हो। तर, टिमको आवश्यकता अनुसार गोल किपरबाहेक सबै पोजिसनमा खेलियो,’ राष्ट्रिय खेलकुद परिषदको परिषरमा हाडाले सुनाए।
भक्तपुरको सैनिक टुँडिखेलबाट उनले फुटबल खेल्न थालेका हुन्। सानैदेखि रहरैरहरले फुटबल खेल्न थाले। त्यतिबेला राष्ट्रिय टिमबाट खेल्ने या व्यवसायिक फुटबल खेल्ने उनले सोचेका थिएनन्।
भक्तपुरमा फुटबल खेल्दै गर्दा नेपाल पुलिसका तत्कालीन प्रशिक्षक विराटकृष्ण श्रेष्ठले उनलाई काठमाडौं आएर खेल्न सघाए। पछि उनले त्यतिबेलाको योङ एनआरटी क्लबबाट फुटबल खेले।
राष्ट्रिय टिमको ढोका भने उनलाई नेपालगञ्जमा भएको नट ट्रफीबाट खुलेको थियो। ‘त्यही ४२/४३ सालतिर नेपालगञ्जमा ‘सगरमाथा अञ्चल’ बाट ‘नट ट्रफी’ खेलेँ। त्यहीँबाट राष्ट्रिय टिमको क्लोज क्याममा बोलाए,’ हाडा सम्झिन्छन्, ‘त्यतिबेला रहरको लागि खेलिन्थ्यो। अहिले त खेलक्षेत्र धेरै व्यवसायिक भइसक्यो’
उनको समयमा फुटबल रहरले मात्र खेलिन्थ्यो। अझ अर्को तहमा पुगे फुटबलबाट इज्जत कमाउने मात्र हुन्थ्यो। त्यसैको लोभले पनि फुटबल खेलेको याद छ उनलाई।
उनले २ पटक साफ खेले। उनले खेलेको बेलामा नेपालले स्वर्णपदक समेत ल्याएको थियो। उनले युथ टिममा तथा ओलम्पिकमा जाँदा नेपाली टिमको कप्तानीसमेत गरेका थिए।
आफूले खेल खेल्दा ढाका साफमा गोलकिपर उपेन्द्रमान सिंहले बिट गरिसकेको गोल देवनारायण चौधरीले बचाएको क्षण उनलाई खेल जीवनकै महत्वपूर्ण क्षण लाग्छ। उनी फुटबलका विगतका कुराहरु गर्दै गर्दा भावुक देखिन्छन्।
कहिलेकाहिँ खेलमा सारै अनौठा अवस्थाहरु आउने देखेका छन् उनले। सन १९९१ मा भुटानमा भएको एउटा खेल सम्झिँदै भने, ‘रेफ्रीले दुइवटा येल्लो कार्ड देखाएर पनि रेड कार्ड दिएनन्।’
त्यो रेफ्रीको अयोग्यताको कारण त्यस्तो भएको हुन सक्ने उनलाई लाग्छ।
रणनीति बनाउँदै स्लो गेम
मिलन हाडा त्यस बेला आफूले अवस्था हेरी एकदमै स्लो गेम खेल्ने गरेको बताउँछन्।
‘एकपटक जर्मनको भयङ्कर खत्रा टोली नेपाल आएको थियो। त्यो टिमलाई जतिसक्दो कम गोल खाएर रोक्नु पर्ने थियो,’ उनले सन् १९९३ को एउटा खेल सम्झँदै भने, ‘म आरसिटी क्लबमा थिएँ। त्यतिबेला ढिला खेल खेलेरै हामीले त्यो टिमसँग गोलान्तर कम गर्यौं।’
त्यतिबेला अधिकांश राष्ट्रिय टिमका खेलाडी सम्मिलित टोली त्यो जर्मन टिमसँग ७–० ले पराजित भएको सम्झिँदै ठट्टा गर्दै हाडाले भने, ‘हामी त १–० लेमात्र हार्यौं।’
त्यस्तै भुटानमा भएको त्यस्तै एउटा खेलमा गेम स्लो भएको भन्दै अफिसियलसम्मै गुनासो आइपुगेको उनको अनुभव छ। ‘दर्शकले फास्ट गेम रुचाएका छन, मिलन हाडाले सारै गेम स्लो बनाए’ भनेर अफिसियललाई गुनासो पुगेको रहेछ। त्यो चाहिँ उनले पछिमात्रै थाहा पाए।
उनको खेल स्लो भयो भन्नेहरुलाई उनी जवाफ दिन तयार हुन्थे - खेल रणनीतिमा खेल्ने हो, दर्शकको चाहना अनुसार होइन।
प्रशिक्षणमा रुची
फुटबल खेलेसँगै उनलाई टिम मिलाउन र गेम स्ट्रक्चरमा पहिलैदेखि चासो थियो। राष्ट्रिय खेलकुद परिषदमा प्रशिक्षकका रुपमा २०५२ सालमा आवद्ध भएका हाडा खेलाडी हुनु र प्रशिक्षक हुनु अलगअलग रहेको बताउँछन्।
उनी भन्छन्, ‘धेरै फरक छ। खेलाडी हुनुमा, कोच हुनुमा र रेफ्री हुनुमा।’
उनलाई टिम बनाउन सानैदेखि रुची थियो।
‘फुटबल खेल्दा देखि नै भक्तपुरतिर क्लब बनाएर खेलाउँथेँ। कोच बन्न सारै रहर लाग्थ्यो,’ उनी थप्छन्, ‘कोच भयो भने सबैले मान्छन् भन्ने मनोविज्ञान थियो। पब्लिक रिलेसन पनि राम्रो बनाउन सकिन्छ भन्ने लाग्थ्यो।’
हाडा सानैबाट फुटबललाई अध्ययन गर्ने रुची राख्थे। उनी पहिल्यैदेखि फुटबलको इतिहासदेखि विश्वफुटबलका क्रियाकलापमा चासो दिन्थे।
खेलाडीले निर्देशन अनुरुप खेल्ने हो तर प्रशिक्षण दिन प्लानिङ गर्ने सक्ने कला चाहिने उनको भनाइ छ। खेलाडीमा स्किल र प्रशिक्षकमा प्लानिङ अनिवार्य हुने बताउँछन् उनी।
‘प्रशिक्षकमा प्लानिङ चाहिन्छ, जुन खेलेर मात्रै जानिने कुरा होइन,’ उनले भने।
यस्तो छ साफ तयारी
दक्षिण एसियाली खेलकुद नजिकिँदै छ। यही मंसिरमा साग हुँदैछ, त्यो पनि नेपालमै। यसका लागि नेपाली टिमलाई माझिरहेका छन् हाडा। हाडालगायत बालगोपाल महर्जन, राजेश महर्जन, मृगेन्द्र मिश्र, हरि खड्का, अरुणा गुरुङ, अस्मिता खवास लगायतका प्रशिक्षकहरु सबैको ध्येय एउटै छ।
यद्यपि, मैदान अभावका कारण समय तालिका मिलाउन कठिन भइरहेको भने देख्न सकिन्छ। यसैले गर्दा नेपाली महिला टोली पोखरामा अभ्यासको लागि गएको छ।
दक्षिण एसियामा लगभग सबै टोली एकैनासको भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘लगभग सबै उस्तै टिम हुन्, कहिले को, कहिले को माथि देखिनेमात्र हो।’
फुटबलमा कुनै टिम कमजोर भएको भन्दा पनि पछिल्लो ३० वर्षमा कमजोर टिमहरु चाहिँ माथि आएको हाडाको ठहर छ। अहिले नेपाली फुटबलमा चाहिँ अन्तर्राष्ट्रियस्तरको मैदानको ट्डकारो आवश्यकता रहेको उनी बताउँछन्।
उनी खेलमा मैदानले धेरै फरक पार्ने बताउँछन्। समग्र खेलको अवस्थालाई सुधार गर्न पनि अन्तराष्ट्रिय मापदण्डको खेलमैदान आवश्यक पर्ने उनको ठहर छ।
प्रशिक्षक हाडा अहिलेको युथ टिमको खेलहरुलाई नजिकैबाट नियालिरहेका छन्। युथ टिममा जुन स्वभाव देखिनुपर्ने हो, त्यो नदेखिएको बताउँछन्। यसलाई अझ स्पस्ट पार्न उनी भन्छन्, ‘भर्खर मोटरसाइकल कुदाउन थालेको युवाले र बीसौं वर्षदेखि मोटरसाइकल कुदाइ रहेको मान्छेमा के फरक हुन्छ? हो मैले यही स्वभावको कुरा गरेको हो।’
उनी नेपाली महिला फुटबल टोली दक्षिण एसियामा राम्रो टिम भएको बताउँछन्। नेपाली टोली भित्रैबाटै बलियो छ। उनले भर्खरै नेपाल उपविजेता भएको फर्किएका नाडेज्दा कपको उदाहरण दिँदै दक्षिण एसियामा नेपाल एउटा राम्रो टोली भएको बताए। तर, भारत पनि बलियो टोली भएकाले साफमा ठूलो प्रतिस्पर्धा हुने उनको बुझाइ छ।
त्यस्तै साफमा यू २३ मा पनि सिनियर टिमका १३ जना खेलाडीहरु रहेकाले टिम बलियो रहेको उनको बुझाइछ।
‘दक्षिण एसियामा कहिले कुन टिम कहिले कुन टिम माथि तल भइरहन्छ,’ उनले भने। हाडाका अनुसार दक्षिण एसियाली फुटबलमा कहिले नेपाल बलियो देखिन्छ, कहिले बंगलादेश बलियो देखिन्छ त कहिले श्रीलंका बलियो देखिन्छ। त्यस्तै भारतले पनि बलियो उपस्थिति देखाउँछ। तर, इतिहासलाई हेर्दा एउटै टिम सँधै बलियो भएर नअडिएको उनको बुझाइ छ।
त्यस्तै, दक्षिण एसियाली फुटबलमा सबै टिमको सबैसँग टक्कर हुने उनी बताउँछन्। दक्षिण एसियाको फुटबलको इतिहासलाई हेर्दा कुनै पनि टिमले अर्को टिमलाई जित्नसक्ने क्षमता राख्ने उनले बताए।
पछिल्लो समय दक्षिण एसियामा माल्दिभ्सले फुटबलमा राम्रो विकास गरिरहेको उनले ठानेका छन्।
युवा खेलाडीलाई सुझाव
एउटा खेलाडी भइसके पछि मर्यादा, मानसम्मान र स्वभिमानलाई ख्याल गर्नुपर्ने सुझाउँछन् उनी। उनका अनुसार ८/१० वर्षसम्म सबै खेलाडी बराबरका हुन्छन्। तर, त्यसपछि आआफूले स्किल टिप्दै जाने भएकाले खेलाडीमा फरकपन आउँदै जाने बताउँछन्।
‘स्किल खेलाडीमा हुन्छ। कोचले त त्यसलाई पोलिस गर्ने हो। निख्खार ल्याउने हो,’ उनले भने।
त्यस्तै, खेलमा अब्बल बन्न सानैदेखि पौष्टिक आहारमा जोड गरिनुपर्ने उनको बुझाइ छ। हाडा भन्छन्, ‘पौस्टिक आहारले खेलाडीको शारीरिक, मानसिक रुपमा र स्किल विकासमा महत्वपूर्ण भूमिका खेल्छ।’
उनी अहिले फुटबलमा व्यक्तिवादी टोनमा गएकोमा उनको विमति छ।
‘अन्तर्राष्ट्रियस्तरमा भएका खेलहरुमा फलानोले खेलाडीले गर्दा गेम जिते भन्ने जुन धारणा छ त्यो गलत हो,’ उनी भन्छन्, ‘खेल टिमको गेमले जितिने हो।’
फुटबलमा बढ्दो व्यक्तिवादी धारणाले खेलमा नकारात्मक असर गर्ने उनको बुझाइछ। उनी व्यक्तिवादी भएर खेल्ने भन्दा पनि टिम गेम खेल्नु पर्ने सुझाउँछन्।