
टाइगर श्राफ अभिनित एक्सन थ्रिलर 'वार' प्रदर्शनरत् छ। फिल्म बक्स अफिसमा सफल ठहरियो। एक्सन अवतार र नृत्यमा अब्बल ठहरिएका टाइगर भने पुन: नयाँ फिल्मका लागि जुटिसके। उनी फिल्म 'बागी'को तेस्रो संस्करणको सुटिङमा व्यस्त छन्।
फिल्ममा उनी रुनीका रुपमा देखिदै छन्। त्यस्तै पहिलो संस्करणमा उनीसँग जोडी बाँधेकी श्रद्धा कपुर पुन: तेस्रो सिक्वेलमा देखिने भएकी छिन्। दोस्रोमा भने दिशा पटानी रहेकी थिइन्।
मुम्बईमा फिल्मको छायांकन भइरहेको र टोली बाँकी छायांकनका लागि सर्बिया जाने तयारीमा रहेको बलिउड हंगामाले जनाएको छ।
हालसम्म टाइगरको द्वन्द्वको दृश्य खिचिएको छ जसको सेट निर्माणकै लागि १५ दिन लागेको थियो। उक्त दृश्यको निर्देशन फिल्म निर्देशक अहमद खानसँगै चर्चित द्वन्द्व निर्देशकहरु राम र लक्ष्मणले गरेका हुन्। सो सिक्वेन्समा मात्र करिब ४०० वटा कारको प्रयोग भएको र अन्त्यमा तीमध्ये प्रायः ध्वस्त पारिएको बलिउड हंगामाको रिपोर्टमा उल्लेख गरिएको छ।
फिल्मको मुम्बई छायांकन भने अक्टोबर ११ मा सकिनेछ। त्यसपछि सर्बिया, दिल्ली र आग्रामा बाँकी दृश्य खिचिनेछ।
बागीको तेस्रो संस्करणका लागि टाइगरले स्टन्ट डिजाइनिङमा पनि काम गरेका छन्। फिल्ममा अन्य कलाकार अंकिता लोखन्डे, सतिश कौशिक पनि रहनेछन्। फिल्म ६ मार्च, २०२० मा रिलिज गर्ने टार्गेट छ।