.png)
चेन्नई : चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिवार नेपाल आउनुअघि शुक्रवार भारतको तमिलनाडु राज्य पुग्दैछन्। चेन्नईमा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक वार्ता हुने कार्यक्रम रहेको छ। सीको स्वागतका लागि मोदी केही समय अघि चेन्नई पुगिसकेका छन्।
Tamil Nadu: Prime Minister Narendra Modi arrives in Chennai. He has been received by Governor Banwarilal Purohit & Chief Minister Edappadi K Palaniswami. Chinese President Xi Jinping and PM Narendra Modi will begin their second informal meeting in #Mahabalipuram today. pic.twitter.com/YFw7NlJ2lr
— ANI (@ANI) October 11, 2019
सीको भ्रमणलाई लक्षित गर्दै चेन्नईमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय मिडियाहरुले जनाएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। सुरक्षालाई मध्यनजर गर्दै प्रहरी र अन्ना विश्वविद्यालयका वैज्ञानिकहरुको सक्रियतामा ६ वटा ड्रोनमार्फत सुरक्षा अवस्थाको मूल्यांकन भइरहेको बताइएको छ।
सो ड्रोनहरुले हालसम्म करिब ३० हजार तस्बिरहरु लिइसकेको बताइएको छ। ड्रोनबाट सुरक्षा मूल्यांकन भइसकेपछि आवश्यक्ता अनुसार सडकमा र्यापिड एक्सन फोर्स, क्विक रिएक्सन टिम र स्पेशल टास्क फोर्स परिचालन गरिनेछ।
भारतमा हालसम्म भएको उच्चस्तरीय भ्रमणहरुमा ड्रोनमार्फत 'फोटोग्रामेटिक म्यापिङ' प्रयोग भएको थिएन। चिनियाँ राष्ट्रपति सीको भ्रमणमा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सुरक्षा अवस्थाको बारेमा जानकारी दिन सीको भ्रमणको समयमा फेरि ड्रोनको प्रयोग गरिनेछ। ड्रोनको सञ्चालन गर्न प्रहरीलाई विशेष तालिम दिइएको छ।
सीको भ्रमणमा कुनै औपचारिक सम्झौता वा सन्धीमा हस्ताक्षर हुने कार्यक्रम नरहेको बताइएको छ। दुई नेताको वार्तामा आर्थिक र सीमा विवादका बारेमा छलफल हुनसक्ने अनुमान गरिएको छ। यद्यपि भ्रमणका क्रममा कश्मीरको मुद्दाले प्रवेश पाउन सक्ने भारतीय मिडियाले जनाएका छन्। सी भारत पुग्नुअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बेइजिङमा सीसँग भेटेर कश्मीरको मुद्दा उठाएका थिए।
सी शुक्रवार भारतमै बस्नेछन्। शनिवार मध्यान्ह सी नेपाल आउने कार्यक्रम रहेको छ। दुईदिने नेपाल भ्रमणका क्रममा चीन र नेपालबीच द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुनेछ। विशेष गरी रेलमार्ग, सडक मार्ग र विद्युतीय ट्रान्समिसनको एजेन्डालाई नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरिरहेको छ।