PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

सीको स्वागतको लागि तयार चेन्नई : विमानस्थलमा सीलाई 'पूर्ण कुम्भम्'ले सम्मान गरिने



पहिलोपोस्ट

सीको स्वागतको लागि तयार चेन्नई : विमानस्थलमा सीलाई 'पूर्ण कुम्भम्'ले सम्मान गरिने
फोटोः Xinhua/Getty Images

चिनियाँ राष्ट्रपति सी जिनपिङ अब केही घण्टामा नै भारतको चेन्नई पुग्दैछन्। सीको भ्रमणलाई लक्षित गर्दै अहिले तमिलनाडुमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्न सक्ने अनुमान गरिएको छ। मोदी आजै चेन्नई पुगिसकेका छन्। विमानस्थलमा नै सीलाई गार्ड अफ अनर प्रदान गरिनेछ।

विमानस्थलमा नै सीलाई मलयपुरेमा रहेको कपालेश्वर मन्दिरका पाँच पुजारीले 'पूर्ण कुम्भम्' प्रथाबाट स्वागत गर्ने दि हिन्दुले उल्लेख गरेको छ।  कलशमा चोखो पानी, आँपको पात र नरिवल राखेर गरिने अभिषेकलाई 'पूर्ण कुम्भम्' अति विशिष्ट व्यक्तिहरुलाई मात्रै प्रदान गरिँदै आएको छ।

विमानस्थलमा सीको स्वागतका लागि करिब  दुई हजार विद्यार्थीहरु रहने बताइएको छ। उनीहरुले सीको अनुहारको मास्क लगाउनुका साथै भारत र चीनको झण्डा बोक्नेछन्। विमानस्थलमा नै सीको सम्मानमा सांस्कृतिक कार्यक्रम हुन सक्नेछ।

त्यसपछि सी र मोदीसँगै गुइन्दीस्थित होटल प्रस्थान गर्नेछन्। होटलबाट करिब ५ बजेर १५ मिनेटमा सी गुइन्दीबाट ५ किलोमिटर टाढा रहेको महाबलीपुरम पुग्नेछन्। त्यहाँ सीले विश्व सम्पदामा सूचीकृत शोर मन्दिर, ७  औं शताब्दीमा अर्जुन तपस्या बसेको स्मारक, पंचरथ मन्दिरको अवलोकन गर्ने बताइएको छ। महनबलीपुरमसँग चीनको ऐतिहासिक सम्बन्ध रहेको बताइएको छ। पल्लव शासकहरुको बेलामा महनबलीपुरमसँग चीनको सम्बन्ध विस्तार भएको मानिन्छ।

सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिवार बिहान चेन्नईमा नै अनौपचारिक वार्ता हुनेछ। अनौपचारिक वार्ता भनिएपनि भारतले सीको भ्रमणलाई उच्च प्राथमिक्तामा राखेको छ। दुवै नेताबीच सीमा विवादका साथै आर्थिक मुद्दामा शिखर वार्ता हुने बताइएको छ।

भेटमा कश्मिरको विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सी भारत पुग्नु अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खान बेइजिङ पुगेर सीसँग कश्‍मिर मुद्दामा वार्ता गरेका थिए। यद्यपि, अनौपचारिक वार्तामा चीन भारतसँग व्यापारिक सम्बन्ध सुधार गर्नैमा रहने देखिएकोले मोदी र सीको भेटमा कश्मिर मुद्दा छायामा पर्न सक्ने अनुमान गरिएको छ।

शनिवार मध्यान्ह सी नेपाल आउनेछन्। दुईदिने नेपाल भ्रमणमा आउन लागेका सीको स्वागतको तयारी लगभग अन्तिम चरणमा पुगेको सरकारले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell