
काठमाडौं: नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण दिन स्विजरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन्।
राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील साहीको पहलमा एक हप्ताका लागि उनी नेपाल आएका हुन्।
'नेपाली खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा नपठाएसम्म नेपालमा नै विदेशी प्रशिक्षकमार्फत् खेलाडीहरुको खेल स्तर वृद्धि गर्नुका साथै सागमा बढीभन्दा बढी पदक हासिल गर्ने उद्देश्यले स्विजरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षकलाई एक हप्ताको लागि नेपाल बोलाईएको हो,' साहीले भने।
उनको प्रशिक्षणलाई हेरेर तथा खेलाडीहरुलाई प्रशिक्षणमा विदेश पठाउन कठिनाई भएमा प्रशिक्षक पाभेललाई अझै केही समयसम्म राख्न सकिने समेत संयोजक साहीले जानकारी दिए।
प्रशिक्षक पाभेलले जर्मनीमा ९ वर्ष, स्विजरल्यान्ड टिममा १८ वर्ष, श्रीलंका र चेकमा समेत प्रशिक्षण दिएको अनुभव रहेको छ। यस्तै २०१६–२०१८ मा बेस्ट ट्रेनर अफ द इयरबाट समेत उनी सम्मानित भइसकेका छन्। उनलाई नेपाली प्रशिक्षकसरह दैनिक भत्ता र एकतर्फी हवाई टिकटमा नेपाल बोलाइएको हो। उनले यसअघि पनि नेपाली खेलाडीहरुलाई प्रशिक्षण प्रदान गरिसकेका छन्।