PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टायर पन्चर भयो भन्दाभन्दै गाडी गुडाए, एकैछिनमा गम्राङगुम्रुङ गइहाल्यो नि : घाइते सरस्वती भट्टराई



नेत्र तामाङ

टायर पन्चर भयो भन्दाभन्दै गाडी गुडाए, एकैछिनमा गम्राङगुम्रुङ गइहाल्यो नि : घाइते सरस्वती भट्टराई

काठमाडौं: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ९ सिपाटारबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेका घाइते अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याइपुर्‍याएको छ।

बा २ ख २७१५ नम्बरको बस दुर्घटनाका अधिकांश घाइतेलाई सेनाको हेलिकप्टरमार्फत ट्रमा सेन्टर ल्याइपुर्‍याएको ट्रमा अस्पतालका सूचना अधिकारी अर्जुनप्रसाद भेटवालले जानकारी दिए।

घाइतेको उद्धारका लागि स्थानीय सरकार पनि तदारुकतासाथ लागिपरेको स्थानीयले जनाएका छन्।

कसरी भयो घटना?

इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौंको लागि छुटेको हेलम्बु यातायातको बस सडकबाट २ सय मिटर तल खस्दा चालक केदार माझीसहित एघारको मृत्यु भएको छ।

बिहान ८:३० बजे सिपाटारबाट छुटेको बस करिब ९:३० बजे भोटसिपामा दुर्घटनामा परेको स्थानीय विजय लामाले जानकारी दिए।

दुर्घटनामा परी विनोद श्रेष्ठ, हीरा श्रेष्ठ, रितेश आचार्य, संगीता पुर्कोटी, जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी, मीना मगरको मृत्यस भएको र मृतक एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। दुर्घटनामा परी ४८ जना घाइते भएका छन्। घाइतेहरुको धुलिखेल अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकी सिपाटारकी सरस्वती भट्टराईका अनुसार चालकले टायर पन्चर भएको ख्याल नगर्दा घटना भएको हो।

ट्रमा सेन्टरमा उपचाररत सरस्वतीले भनिन्, 'टायर पन्चर भयो भनेर एकछिन रोके। त्यसपछि चेक पनि गरेनन्। गाडी चलाइहाले। एकैछिनमा गम्राङगुम्रुङ गइहाल्यो नि। त्यसपछि त केही थाहा पाइनँ।'

बसको छतमा समेत टन्न यात्रु रहेको उनले बताइन्। भनिन्, 'टन्नै थिए मान्छे छतमा। म त ढोका छेवैमा उभिएकी थिएँ।' सरस्वतीका श्रीमान विकास र ८ वर्षीय छोरा वृजेश पनि घाइते छन्।

'श्रीमानको दुबै खुट्टामा नराम्रो चोट लागेको छ रे। कसैलाई हेर्न दिएको छैन रे,' ट्रमाको शैय्यामा पल्टिरहेकी सरस्वती विकासको दुवै खुट्टामा गहिरो चोट लागेकोमा चिन्ता व्यक्त गर्दै थिइन्। सरस्वती यसो भन्दै गर्दा वृजेश आफ्नो एक्सरे हेर्दै थिए। वृजेशलाई खासै चोट नदेखिए पनि आमा घाइते भएकोमा उनी चिन्तित देखिन्थे।

सरस्वतीले आफूलाई तल्लो पेटमा चोट लागेको चिकित्सकहरुलाई बताउँदै थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell