
दक्षिण एसियाली खेलकुद अन्तर्गतकाे साफ यू १५ महिला च्याम्पिनयनसिपमा आज भएको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ। भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो।
आज भएको खेलमा नेपाल पहिलो हाफमै २–० ले पछि परेको थियो। बंगलादेशका लागि सहेदा अख्तरले पहिलाे हाफमै गोल गरेकी थिइन्। उनले खेलकाे १२ मिनेटमै गाेल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। फेरि २५ औं मिनेटमा पेनाल्टी मार्फत कप्तान संसुनहरले गोल गर्दा बंगलादेशले पहिलो हाफमै २–० गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफमा नेपालले खेल सुधार्दै पटकपटक आक्रमणको प्रयास गरेको थियो। खेलको ६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काउन खोजे पनि नेपालले दोस्रो गोल थप्न नसक्दा बंगलादेशसँग २–१ ले पराजित हुन पुग्यो।
नेपाली टाेलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले खेलाडीहरुले पाएकाे अवसरकाे सदुपयाेग गर्न नसक्दा पराजय भाेग्नुपरेकाे प्रतिक्रिया दिएका छन्।
'नेपालले पाएको अवसरको सदुपयोग गर्न सकेन। खेलाडीले पनि आफ्नो शतप्रतिशत दिन सकेनन्। पहिलो हाफमा सोचे जस्तो खेल्न सकेन। तर, दोस्रो हाफमा नेपाल खेलमा फर्किए पनि गोल गर्न सकेन,' श्रेष्ठले भने, ' पहिलो गोलपछि नेपाली खेलाडी आत्तिए झैं देखिए। भुटानसँगको खेलमा राम्रो गर्ने प्रयास गर्नेछन्।'
नेपाल यसअघिको खेलमा भारतसँग ४–१ को गोल अन्तरले पराजित भएको थियो। अर्कोतर्फ बंगलादेशले भुटानलाई २–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो।