PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

रेड कार्पेटमा हिँड्नका लागि नेपाल आउने होइनन् चिनियाँ राष्ट्रपति, के नेपालसँग छ दीर्घकालीन खाका?



विधुर ढकाल

रेड कार्पेटमा हिँड्नका लागि नेपाल आउने होइनन् चिनियाँ राष्ट्रपति, के नेपालसँग छ दीर्घकालीन खाका?

सिचुवान : जनगणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ आज काठमाडौंमा अवतरण गर्दैछन्। दक्षिणी छिमेकी भारत हुँदै नेपाल प्रवेश गर्न लागेका चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौं सिंगारिएको छ।

निरन्तर पाँच वर्षको पर्खाइपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल कसरी बनाउने भन्ने प्रश्न अझै हामीमाझ छ। यस प्रश्नको जवाफ आज र भोलिमा प्राप्त हुने नै छ। त्यसका अलावा नेपालले भ्रमणबाट कसरी फाइदा उठाउने भन्ने प्रश्न मूल रुपमा हो।

चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न उनका तस्विर सहितका स्वागतद्वारहरु काठमाडौंमा ठडिएका छन्। सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट भ्रमण हुन लागेको हो।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका अगाडि प्रकाशित भएको उनको लेखेमा उनले ‘बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई)मा नेपाल सहभागी भएको र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गरिरहेको बताएका छन्। त्यस्तै उनले हिमालयवारिपारि ‘कनेक्टिभिटी नेटवर्क’को निर्माण विस्तारै भइररहेको र यसबाट दुवै देशमात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुने बताएका छन्।

अब हामीमाझ त्यसबाट कसरी फाइदा लिने भन्ने सवाल पैदा भएको छ। चीनले यसबाट पक्कै पनि फाइदा लिने छ। हामीले कति लिने हो त्यो हाम्रो क्षमतामा भर पर्छ।

सीको आलेखमा चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकीको रुपमा ब्याख्या गरिएको छ। हामीले चीनबाट कति सिकेका छौं? त्यसमा पनि प्रश्न उठ्छ। सन् १९७८ सम्म गरिबीको रेखामुनि रहेको चीनले सन् २०२० मा गरिबीलाई उन्मुलन गर्दै छ। हामीले कहिले गर्ने? विकासमा पछाडि परेको चीन खुला अर्थतन्त्रलाई अंगाल्दै सन् २००१ मा डब्लुटिओमा प्रवेश गरेसँगै लगातार व्यापार बृद्धि गरिरहेको छ। हामीले के गर्‍यौं त?

वीच्याटमा एक चिनियाँ मित्रले म्यासेजमा सोधिन्- ‘किन यति धेरै तस्विर? सीले तेरो देशलाई के गरेका छन्? के उनी सेलिब्रेटी हुन र?’

मैले उनलाई चिनियाँ राष्ट्रपति नेपाल जाँदै छन् भन्दै सीको स्वागतको तयारीको तस्विर उनलई देखाएको थिएँ।

उनको प्रश्नले अलिक गम्भीर बनायो। साँच्ची हामी दुई देशको मित्रताको कुरा गर्दै छौँ कि दुई राष्ट्रपतिको?

भर्खरै चीनले आफ्नो स्थापनाको ७० औं वर्षगाँठ मनायो। चीनले ७० औं वर्षगाठ मनाउँदा कहीँ कतै मैले सीको फोटो देखिन। सडकभरि राष्ट्रिय झण्डा मात्र। उनीहरुमा राष्ट्रियता कति धेरै? बच्चादेखि वृद्ध सम्मको हातमा राष्ट्रिय झण्डा। सी जिनपिङको विचारधाराबारे बहस चले पनि कसैले उनको तस्विर बोकेको देखिएन।

सम्झिएँ ‘नयाँ युगको सुरुवात’ पोलपोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसँग आएको नयाँ युगको सुरुवात।

तर, कार्यान्वयनको अवस्था उस्तै।

चीन नेता भन्दा पनि नीतिमा विश्वास गरेर अगाडि बढेको देश हो। हामी नीति भन्दा बढी नेतामा विश्वास गर्छौँ। राष्ट्रिय झण्डा भन्दा पनि कुनै नेताको तस्विर बोक्ने राष्ट्रवादी कहलिन्छ, हाम्रोमा।

दुई दिन अगाडि मेरो रिसर्चको बारेमा छलफलका लागि युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी)को स्कुल अफ पव्लिक एडमिनिस्ट्रेसन एण्ड अफियर्सका भाइस डीन प्रोफेसर हान होङले आफ्नो अफिसमा बोलाए। त्यहाँ पुग्दा उनले राष्ट्रपति सीको नेपाल भ्रमणको चर्चा निकाले।

उनले अहिलेसम्म दुई देशबीच भएका सन्धी सम्झौताको कार्यान्वयन हेर्न भने। उनले यति भन्दै गर्दा अब हुने सम्झौताहरुको कार्यान्वयन माथि घुमाउरो प्रश्न थियो।

नेपाल दुई ठूला अर्थतन्त्रबीचको पुल बन्नेतर्फ कुरा भन्दा पनि कामको आवश्यता रहेको उनको तर्क थियो।

प्रधानमन्त्री ओलीलाई यही विषयमा सुझाव दिँदै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुझाव दिएका छन् - लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो चीन भ्रमणका क्रममा दुई देशबीच लिपुलेकलाई केन्द्रमा राखेर द्विदेशीय व्यापार मार्गमा सम्झौता भएको थियो। नेपालले यसलाई कसरी आफू प्रवेश गरी आफू स्वार्थ अनुकुल प्रयोग गर्ने भन्ने प्रश्न पनि छ।

बीआरआईमा नेपालको सहभागितासँगै चीनसँग रेल, सडक लगायतका कनेक्टिभिटी बिस्तारको विषय चर्को रुपमा उठेको छ। चिनियाँ राष्ट्रपतिको आलेखमा पनि यस विषयले प्रवेश पाएको छ। यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने नेपालको प्रस्ताव महत्त्वपूर्ण हुनेछ।

त्यस्तै, नेपाल र चीनबीच बढ्दै गएको व्यापार घाटालाई कम गर्न नेपालमा उत्पादकत्व बढाउने विषयमा पनि ठोस प्रस्वात आउन जरुरी छ।

सीले आफ्नो आलेखमा भनेका छन्- ‘नयाँ युगमा चीन – नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ। यसका लागि उच्चस्तरीय आदान प्रदान कायम गर्नुपर्छ। आपसी राजनीतिक विश्वास बढाउनु पर्दछ। एक अर्काको मुख्य चासोका विषयहरुमा आपसी सहयोगलाई अझै सुदृढताका साथ जारी राख्नुपर्दछ। देशको सुशासन तथा विकासको अनुभव सम्बन्धी आदान प्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नु पर्दछ।’

उनले स्पष्ट रुपमा सम्बन्धका दीर्घकालीन खाका चाहेका छन्। नेपालले नेपालको हित अनुकुलका स्पष्ट खाका प्रस्तुत गर्न सक्नुपर्दछ। राष्ट्रपति सीले नेपालको उत्पादकत्वमा जोड दिँदै चिनियाँ बजारमा स्वागत गरेका छन्। तर, हामीले यसबीच उत्पादकत्व बढाउने विषयमा ठोस योजना ल्याउन जरुरी छ।

चिनियाँहरु गफ भन्दा काममा बढी विश्वास गर्छन्। हामीले काम देखाउन जरुरी छ। राष्ट्रपति सीले दुई देशबीच उच्चस्तरीय भ्रमणको निरन्तरतामा समेत जोड दिएका छन्। उनले यस्तो भनिरहँदा यस भ्रमण कतिको सफल हुन्छ त्यसमा चीनबाट आगामी दिनमा हुने उच्चस्तरीय भ्रमणहरुको निरन्तरतामा पनि टिकेको छ।

यसपटक नेपालले ठोस प्रस्ताव र ठोस योजना प्रस्तुत गर्न सके नेपाल र नेपालीसँगै चीन र चिनियाँको हितमा योजना दिन सके चीनको ध्यान सँधै नेपालतिर रहिरहने छ। नत्र भन्नका लागि मात्र सफल र सम्बन्ध थप उचाइमा पुग्यो भन्ने अभिव्यक्ति दिनका लागि मात्र भ्रमण सीमित भए, दुवै देशलाई फाइदा हुने छैन। चीनले यो चाहेको पनि छैन। चीनले ठोस उपलब्धी चाहेको छ। न कि नेपालको आतिथ्य सत्कारमात्र हेर्न चाहेको।

हामी नेपाली अतिथिको स्वागतका लागि कुनै कसर बाँकी राख्दैनौं। सडकमा तस्विर सहितका स्वागत द्वार र रेडकार्पेटमै हिँड्नका लागि मात्र सी नेपाल उत्रिन लागेका होइनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell