सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थापनाको झण्डै दशक वित्नै लाग्दा हालसम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थी मारमा परेका छन्। पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थी बाह्य सामग्रीको भर पर्नुपर्ने अवस्था छ।
विश्वविद्यालयले आठ वटा विभिन्न संकाय अन्तर्गतका पाठ्यक्रम निर्माण गरेपनि अहिलेसम्म कुनै पनि संकायका पाठ्यपुस्तक उपलब्ध गराउन सकेको छैन।
त्यस्तोमा विश्वविद्यालयले भने आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था नगरी आंगिक क्याम्पस बनाउने र अध्यापन गराउने विषय थप्दै जाने होडमा छ। तर, विद्यार्थी र शिक्षकलाई नभई नहुने पाठ्यपुस्तक उपलब्ध गराउने तर्फ कुनै ध्यान दिएको पाइन्न।
ईन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थी बालकृष्ण घर्ती मगरले विश्वविद्यालयले पाठ्यक्रम निर्माण गरेपनि पाठ्पुस्तक उपलब्ध गराउन नसक्दा समस्या भएको बताए।
‘विश्वविद्यालयले पाठ्यक्रम निर्माण गरेर पनि पुस्तक उपलब्ध गराउन सकेको छैन’ उनले भने, ‘विश्वविद्यालयमा दक्ष जनशक्ति नभएर पनि हुनसक्छ, तर अध्यापन गराउने विषयको आवश्यक जनशक्ति व्यवस्थापन गरेर मात्रै अध्यापन सुरु गराउनुपर्छ। तब मात्र विद्यार्थी र शिक्षकलाई सहज हुन्छ।’
विश्वविद्यालयमा पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक नपाउँदा शिक्षक र विद्यार्थीले गुगल, इन्टरनेट, अन्य विश्वविद्यालयको पाठ्यपुस्तक र भारतबाट समेत किताब मगाउँदा चर्को मूल्य तिरेर अध्ययन गर्न बाध्य भएको उनले बताए।
‘हामीले आफ्नै विश्वविद्यालयको पुस्तक नहुँदा गुगल, इन्टरनेटमा खोज्नुपर्छ। पोखरा, त्रिभुवन विश्वविद्यालयका किताव पढ्नुपर्छ’ मगरले भने, ‘अझै पर्याप्त किताब पाउन पनि सकिदैँन, इन्डियन राइटरका पुस्तक चर्को मूल्य तिरेर मगाउनु परिरहेको छ।’
विश्वविद्यालयमा पढ्ने सवै विद्यार्थीको अवस्था उस्तै छ। अहिलेसम्म कुनै पनि संकाय अन्तर्गतका पाठ्यपुस्तक छैनन्। व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी पुष्प विसीले पनि पाठ्यपुस्तक नहुँदा विद्यार्थीलाई दैनिक अध्ययन गर्नै समस्या हुने गरेको बताए।
विसीले भने, ‘विश्वविद्यालय स्थापना भएको दशक वित्न लाग्दा पनि न्युनतम आवश्यक पूर्वाधार तयार गर्न तर्फ पदाधिकारीको ध्यान पुगेको छैन। न्युनतम पूर्वाधारविनै विश्वविद्यालय आगिंक बनाउने होडमा लाग्यो अहिले हजारौँ विद्यार्थी पाठ्यपुस्तक विनै पढ्न बाध्य छन्।’
उनले थपे, ‘विद्यार्थीलाई गाईड गर्ने महत्वपूर्ण पुस्तक नै नहुँदा विश्वविद्यालयको शैक्षिक गुणस्तर कमजोर हुने र कमजोर जनशक्ति उत्पादन हुने निश्चित छ। जसले गर्दा विश्वविद्यालयबाट उत्पादित जनशक्ति बजारमा बिक्न र टिक्न मुश्किल छ।’
यता विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले आठ वटा संकाय अन्तर्गतका पढाई हुने विषयका पाठ्यक्रम निर्माण गरिसकेको जनाएको छ। तर कार्यक्रम भने ६ वटा संकायका मात्रै सञ्चालनको अवस्थामा छ। पाठ्यक्रम अनुसार पाठ्यपुस्तक विश्वविद्यालयले छाप्न सम्भव नहुने र प्रकाशकहरुले पनि पाठ्पुस्तक छाप्न आनाकानी गर्ने हुदाँ समस्या भएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा लिलाधर तिवारी बताउँछन्।
‘हामीले अहिलेसम्म आठ वटा संकाय अन्तर्गतका पाठ्यक्रम निर्माण गरिसकेका छौँ’ उनले भने, ‘विश्वविद्यालयले पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छाप्न दुई/तीन वटा समस्या छ। जसमा प्रकाशन गृहले थोरै किताव छाप्नुपर्दा छाप्न् नमान्ने, विश्वविद्यालय भनेपछि विद्यार्थीले पाठ्यपुस्तक मात्रै पढेर हुँदैन विभिन्न बाह्य सामग्री पनि खोज अनुसन्धान गरेर पढ्नुपर्ने हुन्छ। विश्वविद्यालयले पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छाप्न पनि असम्भव जस्तै छ।’
शैक्षिक सत्र शुरु भएलगत्तै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन विश्वविद्यालय प्रशासन गम्भीर बनोस् भन्ने विद्यार्थीको चाहना छ। आवश्यक पूर्वाधार र जनशक्ति तयार गरि अध्ययन, अध्यापन गराउने वातावरण सिर्जना भए गुणस्तरीय शिक्षा प्रवाह हुने विद्यार्थी बताउछन्।