PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

तीनकुने 'छोप्दा' सरकारले ढाक्न नसकेका यी 'लाजहरु...'



नेत्र तामाङ

तीनकुने 'छोप्दा' सरकारले ढाक्न नसकेका यी 'लाजहरु...'

काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ केही घन्टाभित्रै नेपालमा अवतरण गर्दैछन्।

उनको स्वागतका लागि सरकार दशैं नभनी सडक कालोपत्रे भ्यायो भने सजिसजाउमा पनि जुट्यो। आज बिहानै प्रधानमन्त्री ओली आफैँ निस्किए - एयरपोर्टदेखि चिनियाँ राष्ट्रपति बस्ने होटल सोल्टीसम्मै।

सडकका दुवैतर्फ चिनियाँ राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका फोटोहरु चिटिक्क सजिएका छन्।

तीनकुनेको 'धुलौटे पार्क' रातारात हरियो बनेको छ। सडक कालो र चिल्लो। रोड डिभाइडर, जेब्राक्रसिङ र सडक पेटीका किनारामा पनि रङहरु पोतिएका छन्। तीनकुने चिटिक्क पार्दा त्यसको नजिकै रहेको त्रिभुवन विमानस्थलको परिसरमा रोडाको पहाड भने यथावत नै देख्न सकिन्छ। यद्यपि, त्यो पहाड विमानस्थलको रनवे बनाउने जिम्मा पाएको चिनियाँ कम्पनीले नै थुपारेको रोडाबाट बनेको हो।

यता, संविधानसभा भवन वरपरदेखि माइतीघर मण्डलासम्मको सजिसजाउ भव्य देखिएको छ। बबरमहलको निर्माणाधीन पुल छोपेको विषयले भने सामाजिक सञ्जाल तात्यो। 'केही जड्याँ'ले त्यहाँ टाँगिएको फ्लेक्स च्याते पनि।

आज राष्ट्रपति सी हिँड्ने बाटो, त्रिभुवन विमानस्थलबाट सोल्टी होटलसम्म हो।

राष्ट्रपति सी सोल्टी प्रस्थान गर्दैगर्दा त्रिपुरेश्वरको चोकबाट दशरथ रंगशाला देख्न सकिन्छ। जुन निर्माणाधीन छ। लथालिंग छाडिएको रंगशालामा सीको नजर पर्ला वा नपर्ला कसैले सोचेको देखिएन। तीनकुनेमा छोपिएको लाज यहाँ भने उदाङ्गै छ।

दशरथ रंगशाला नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल रंगशाला हो जुन भूकम्पले क्षतिग्रस्त भएपछि अहिलेसम्म बन्न सकेको छैन।

माइतीघरसम्मको बाटो सरकारले सक्दो चिटिक्क बनाए पनि त्रिपुरेश्वरबाट कालीमाटीतिर लागेपछि बिजुलीका तारको लठारो नसुहाउनेखालकै छ। त्यसमाथि राष्ट्रपतिद्वयको फोटो पनि शोभनीय देखिन्न।

पप्पु कन्स्ट्रक्सनले बनाएको टेकुको विष्णुमती पुललाई ढपक्कै छोपिएको छ - फ्लेक्सले। शक्तिको आडमा जबरजस्ती बनाइएको यो पुल गुणस्तरहीन भेटिएपछि मोटर गुड्न रोक लगाइएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सी ६: ३० मा शीतल निवासमा त्रिपुरेश्वरको बाटो हुँदै जानेछन्। उक्त समयमा सीको नजर धरहरा निर्माणस्थलमा पनि पर्नेछ र पर्नेछ भत्किँदै गरेको गोश्वारा हुलाकतिर पनि।

प्रधानमन्त्री केपी शर्मा ओली आफैले 'म बनाउँछु मेरो धरहरा' अभियान सफल नभएपछि राष्ट्रिय पुनर्निमाण प्राधिकरणमार्फत् बन्ने गरी गत वैसाखमा फेरि उद्घाटन भयो। दुई वर्षमा काम पूरा गर्ने लक्ष्यका साथ निर्माण गरिएको धरहराको कामको गति भने सुस्त नै छ।

यता रानीपोखरी, जसको निर्माण यसै भद्रगोल छाडिएको छ। सायद सीको नजर सबैभन्दा बढी यसैले तान्ला। पुनर्निमाण हुँदै गरेको रानीपोखरीको दृश्य सडकबाट सजिलै देख्न सकिन्छ। त्यसको ठीक अगाडि चिनियाँ सहयोगमा बनिरहेको दरबार स्कुल देखेर पनि सी गमक्क होलान् कि!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell