
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण ऐतिहासिक हुने बताएका छन्। सीको भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ हुँदै नयाँ उचाइमा पुग्ने ओलीको दावी छ।
चिनियाँ समाचार संस्था सिन्ह्वासँग कुरा गर्दै ओलीले भने सन् १९९५ देखि नेपाल र चीनबीच कुटनीति सम्बन्ध स्थापना भएको सम्झँदै त्यसबखतदेखि दुई देशबीचको मित्रता बलियो हुँदै गएको बताए।
भने, 'नेपाल र चीन राम्रा छिमेकी हुन्। हामी राम्रा साथी, राम्रा दाजुभाई दिदी बहिनी हौं। हामीबीच आपसी सहमति छ र राम्रो मित्रता छ।'
२३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धहरु बलियो हुँदै जाने ओलीले विश्वास व्यक्त गरे।
सीको भ्रमणले दक्षिण एसियामा शान्ति र स्थायित्व कायम गर्नुका साथै एसिया क्षेत्रमै मित्रता, आर्थिक विकास र सहमतिको सम्भावना रहने ओलीको तर्क थियो।
चीनले छोटो समयमा नै विश्वको आर्थिक शक्ति बनेको भन्दै चीनले प्राप्त गरेको सफलताको मोडल विश्वकै लागि अनुकरणीय रहेको बताए।
भने, 'चीनले विश्वमा शान्ति, समानता र न्यायको सुरक्षा गर्न अहम् भूमिका निर्वाह गरेको छ।'
ओलीले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायत द्विपक्षीय परियोजनाहरुमा ध्यान दिइरहेको बताए। उनले चीनसँगको सहकार्यमा सडक, रेल र हवाई क्षेत्रको विकासमा निरनतर सहयोगको अपेक्षा व्यक्ति गरे।
ओलीले २०७२ सालको भूकम्पछि पुनर्निर्माणमा चीनले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै भने, 'विपतको समयमा चीनले हाम्रा लागि सबैभन्दा धेरै सहयोग गर्यो। चीनले भूकम्पपछि राहत सामाग्री मात्रै सहयोग गरेन, उसले भूकम्प पछिको पुनर्निर्माणमा समेत हामीलाई धेरै सहयोग गरेको छ।'
सीको स्वागतको लागि तयार रहेका ओलीले भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटक भित्रिने विश्वास व्यक्त गरेका छन्।