PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सी काठमाडौंमा उत्रिँदा ३० जना हिरासतमा, के भारतको धर्मशालाबाट विरोधका लागि आएका थिए?



सविन ढकाल

सी काठमाडौंमा उत्रिँदा ३० जना हिरासतमा, के भारतको धर्मशालाबाट विरोधका लागि आएका थिए?

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्दा ३० जना शंकास्पदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फ्री तिब्बत मुभमेन्टमा संलग्नहरुको चिनियाँ राष्ट्रपतिविरुद्ध हुनसक्ने गतिविधिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३० जनालाई पक्राउ गरेको हो।

राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं उत्रिसकेका छन्। उनको आगमनअघिदेखि नै सुरक्षा निकायको बलियो उपस्थिति छ काठमाडौंमा। तीनवटै सुरक्षा निकाय सी जिनपिङविरद्ध हुनसक्ने विरोध प्रदर्शनको विषयलाई लिएर अलर्ट अवस्थामा छन्।

सुरक्षा निकायले चीनविरोधी गतिविधि हुनसक्ने स्थानहरुमा पहिलेदेखि नै आफ्नो उपस्थिति बलियो बनाइरहेको थियो। राष्ट्रपति सी जिनपिङ नजाने भए पनि बौद्ध, स्वयम्भू लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमा यसअघि पनि स्वतन्त्र तिब्बतको मुभमेन्ट चलाउनेहरुले आत्मदाहसम्मका गतिविधि गरेकाले चिनियाँ चासो सुरक्षामा सधैं हुने गर्छ।

त्यसलाई सम्बोधन गर्न सरकारले सुरक्षा निकायलाई भरपुर प्रयोगमा ल्याएको हो। प्रहरीले बटुवा र सवारी चालकलाई कालो मास्कसमेत प्रयोग नगर्न अनुरोध गर्दै विरोधको संकेत हुने कुनै पनि चिन्ह प्रयोगमा रोक लगाएको छ।

सी नेपाल उत्रिँदा बौद्ध क्षेत्रबाट कालो बेलुन उडाउने तयारी भएको प्रहरीकहाँ सूचना पुगेको थियो भने कतिपय सुरक्षा संवेदनशील सूचनाहरु चिनियाँ दूताबासबाट पनि प्रहरीकहाँ पुगेको थियो। तिब्बती मुलका नागरिकहरुमाथि सुरक्षा निकायले कडा निगरानी राख्नुको मुल कारण यही पनि हो। चिनियाँ उच्च पदस्थ नेता आउँदासमेत सक्रिय भएर आफ्नो उपस्थिति जनाउने फ्रि तिब्बत मुभमेन्टसँग जोडिने सम्भावना रहेकामाथि प्रहरीले कडा निगरानी राख्दै आएको थियो।

स्वयम्भूको जंगल र गोकर्णको जंगललाई समेत प्रहरीले कडा निगरानीमा राखेको छ। यी क्षेत्रबाट कालो बेलुन उडाउने सूचना प्रहरीले पाएको थियो। साथै, भारतको धर्मशालाबाट सीको विरोधका लागि ठूलै समूह नेपाल भित्रिएको सूचना पाएका कारण पनि प्रहरीले शतर्कता अपनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell