PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आफ्नै आमालाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ



एम बम

आफ्नै आमालाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

कैलाली : कैलाली प्रहरीले आफ्नै आमालाई करणीको प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर १ बादी टोलमा आफ्नै आमालाई जबरजस्ती गर्न खोज्ने २० वर्षीय कमल बादीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरि शरण भट्टका अनुसार उनलाई शुक्रवार बेलुका प्रहरी नियन्त्रणमा लिइएको हो। शुक्रवार बेलुका साढे ८ बजे तिर घटना भएको थाहा पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीविरुद्ध उजुरी भने शनिवार बिहान मात्रै आएको भट्टले बताए।

‘शनिवार बिहान मात्रै कारबाहीको माग गर्दै उजुरी आए पनि निजलाई हामीले शुक्रवार बेलुका घटना भएको थाहा पाएलगत्तै नियन्त्रणमा लिएका थियौँ’ उनले भने, ‘निजले शुक्रवार साँझ खाना खाई सुत्ने क्रममा एक्कासि आमाको कोठामा पुगेर हातपात गरी बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे स्थानीयले हामीलाई खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।’

कमल भारतमा मजदुरी गरी ११ महिनापछि दशैँ मनाउन घर फर्किएका थिए। उनकी आमा भने एकल महिला हुन्। उनी लामो समयदेखि घरमा एक्लै बस्दै आएकी थिइन्।

पीडक युवकमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइने कैलाली प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell