काठमाडौँः चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न चीनले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
दुई दिने नेपाल भ्रमणमा आएका सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गरेको 'स्टेट डिनर' मा सम्बोधन गर्दै सीले नेपाल अब भूपरिवेष्ठित राष्ट्र नहुने बताएका हुन्।
भने, 'भूपरिवेष्ठित राष्ट्र हुनुको पीडाबाट मुक्त हुने नेपालको सपनामा चीनले सहयोग गर्नेछ।'
यस्तै, राष्ट्रपति सीले केरुङ-काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने घोषणा समेत गरेका छन्।
दुई दिने नेपाल भ्रमणमा आएका सीले सोल्टी होटलमा आयोजित रात्रीभोजमा हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन्।
राष्ट्रपति सीले नेपालले राख्न लागेका अधिकांश प्रस्तावमा संबोधन गर्दै आफ्ना धारणा राखेका छन्। सीको भ्रमणको अन्तिम दिन आइतबार ठूला पूर्वाधार आयोजनामा सम्झौंता हुने सरकारी उच्च स्रोतले बताएको थियो।
सीले नेपालले प्रस्ताव गर्ने ठूला पूर्वाधार आयोजना बारे सम्बोधन गर्दै परियोजनामा सम्झौता हुने संकेत समेत दिएका छन्। नेपालले केरुङ-काठमाडौं रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको थियो। यो रेलमार्गको निर्माणको मोडालिटी तय भएको छैन भने डिपिआर समेत तयार छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि केरुङ- काठमाडौं रेलमार्ग निर्माणको मोडालिटी तय हुने बताएका थिए। रेल विभागका अनुसार चीनले ५० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण र २५ प्रतिशत नेपालले लगानी गर्नुपर्ने प्रस्ताव गरेको छ। यो मोडालिटीमा नेपालले अझै आफ्नो जोखिम कम गर्न चाहेको छ। स्रोतका अनुसार ओली र सीबीच हुने बैठकबाट मोडालिटी टुंग्याउन खोजिएको छ। लगानी मोडालिटी तय नभए डिपिआर निर्माणको सम्झौता हुनेछ।
चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा पूर्व सम्भाव्यता अध्ययन समेत भइसकेको छ। चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्ट्रिच्युटले करिव तीन महिना अध्ययन गर्दा केरुङ-काठमाडौं रेल परियोजना सम्भव देखाएको थियो। चिनियाँ कम्पनीले दिएको रिपोर्ट अनुसार यो रेलमार्ग करिव ७२ किलोमिटर लामो हुनेछ। जसमा ७ वटा सुरुङ हुनेछन् । सुरुङमार्ग समेत लामो हुनेछ। त्यस्तै करिव ७० मिटर उचाईसम्मका पुलहरु निर्माण गर्नुपर्नेछ।
९० प्रतिशत भन्दा बढी भाग टनेल र पुलमा रहनेछ। रसुवागढीबाट करिव २ हजार मिटर ओरालो रेल झरेर काठमाडौं आइपुग्नुपर्ने भएकाले सिङगल इन्जिनको रेल संचालन गर्न नसकिने रिपोर्टमा उल्लेख छ। यो रेलमार्ग बनाउन २ खर्ब ५६ अर्ब लाग्ने प्रारम्भिक अनुमान उक्त रिपोर्टमा गरिएको छ। डिपिआर नबनेका कारण मोडालिटीको टुङगो लागेको छैन्। उनले नेपालले प्रस्ताव गर्न लागेको सुरुङमार्गको समेत सहयोग गर्ने संकेत गरेका छन्। नेपालले टोखा -छहरे सुरुङमार्ग निर्माणका लागि चीनलाई प्रस्ताव गर्दैछ।
टोखा-छहरे सुरुङमार्ग करिव ७ किलोमिटर हुनेछ। यो सुरुङमार्ग जोडेर वेत्रावतीसम्म पुग्ने करिव ३२ किलोमिटर सडक डबल लेनमा निर्माण गर्नुपर्ने छ। यो सडकको अध्ययनदेखि निर्माणसम्म गरिदिन प्रस्ताव गर्न लागिएको हो। यो सडकका लागि ३० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।
यो सुरुङमार्ग र सडक निर्माण गर्न सके चीनसँगको दुरी घट्नेछ। यो सुरुङमार्ग र सडक निर्माण भए साढे दुई घण्टामा केरुङ पुग्न सकिनेछ। चीनलाई रसुवागढी पुग्ने सडक खण्डकै धुन्चेमुनी वेत्रावती-स्याफ्रुवेशी सुरुङमार्ग समेत बनाउन प्रस्ताव गर्न लागिएको छ। यो सडकमा सुरुङमार्गसँगै पहिरो गैरहने स्थानमा स्लोव स्टेवलाईजेसन र रक सेटको प्रस्ताव समेत समेटिएको छ। राष्ट्रपति सीले अरनिको राजमार्ग स्तरोन्नतीमा समेत सहयोग गर्ने आश्वासन दिएका छन्। तातोपानी नाकासम्म पुग्ने सडक दुईलेनमा विस्तारको लागि नेपालले आइतबार प्रस्ताव गर्दैछ।
धुलिखेलदेखि मितेरीपुलसम्म करिव ८४ किलोमिटर लम्वाईको यो सडकको अध्ययन र निर्माण दुवैका लागि नेपालले ३र४ पटक प्रस्ताव गरिसकेको थियो। यो सडकलाई नारायणगढ(मुग्लिन सडकको स्ट्याण्डर्डमा विकास गर्ने योजना सरकारले बनाएको छ।
हालको सडकलाई स्तरोन्नती गरेर करिव ९ मिटर चौडाईको बनाउन लागिएको हो। यो सडकमा ३.५ र ३.५ मिटरको दुईवटा लेन हुनेछ भने बाँकी २ मिटरमा फुटपाथ लगायतका संरचना हुनेछ।
यो सडक २ लेनमा विस्तार गर्न सके १५ देखि २० बर्षसम्म सहज हुनेछ। उनले यो वाहेक थप नाका खोल्ने समेत प्रतिवद्धता जनाएका छन्। उनले दुई देशले अझै घनिष्ट राजनीतिक सम्वन्ध राख्ने बताउँदै विकास र समृद्धिमा रणनीतिक साझेदारी गर्ने घोषणा गरेका छन्।