काठमाडौँः शनिबारदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन्। राष्ट्रपति सीले आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सी’बीच शनिबार साँझ नै भेटवार्ता भइसकेको छ।
बिहान ८ः३० बजेदेखि सी’ले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ। उनी बसेको सोल्टी होटलमै भेटवार्ता हुनेछ।
प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुनेछ। भेटका क्रममा केही महत्वपूर्ण सन्धि-सम्झौतामा हस्ताक्षर हुने तयारी छ।
दुई दिने नेपाल भ्रमणमा आएका सी’ले सोल्टी होटलमा आयोजित रात्रीभोजमा हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिसकेका छन्। राष्ट्रपति सीले नेपालले राख्न लागेका अधिकांश प्रस्तावमा संबोधन गर्दै आफ्ना धारणा राखेका थिए। सी’को भ्रमणको अन्तिम दिन आइतबार ठूला पूर्वाधार आयोजनामा सम्झौता हुने सरकारी उच्च स्रोतले बताएको थियो।
सीले नेपालले प्रस्ताव गर्ने ठूला पूर्वाधार आयोजनाबारे सम्बोधन गर्दै परियोजनामा सम्झौता हुने संकेत समेत दिएका छन्। नेपालले केरुङ-काठमाडौं रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको थियो। यो रेलमार्गको निर्माणको मोडालिटी तय भएको छैन भने डिपिआर तयार छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि केरुङ–काठमाडौं रेलमार्ग निर्माणको मोडालिटी तय हुने बताएका थिए। रेल विभागका अनुसार चीनले ५० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण र २५ प्रतिशत नेपालले लगानी गर्नुपर्ने प्रस्ताव गरेको छ। यो मोडालिटीमा नेपालले अझै आफ्नो जोखिम कम गर्न चाहेको छ। स्रोतका अनुसार ओली र सीबीच हुने बैठकबाट मोडालिटी टुंग्याउन खोजिएको छ। लगानी मोडालिटी तय नभए डिपिआर निर्माणको सम्झौता हुनेछ।
चिनियाँ आर्थिक र प्राविधिक सहयोगमा पूर्व सम्भाव्यता अध्ययन समेत भइसकेको छ। चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाइन इन्स्ट्रिच्युटले करिव तीन महिना अध्ययन गर्दा केरुङ–काठमाडौं रेल परियोजना सम्भव देखाएको थियो। चिनियाँ कम्पनीले दिएको रिपोर्ट अनुसार यो रेलमार्ग करिव ७२ किलोमिटर लामो हुनेछ। जसमा ७ वटा सुरुङ हुनेछन् । सुरुङमार्ग समेत लामो हुनेछ। त्यस्तै करिव ७० मिटर उचाईसम्मका पुलहरु निर्माण गर्नुपर्नेछ।
९० प्रतिशत भन्दा बढी भाग टनेल र पुलमा रहनेछ। रसुवागढीबाट करिव २ हजार मिटर ओरालो रेल झरेर काठमाडौं आइपुग्नुपर्ने भएकाले सिङगल इन्जिनको रेल संचालन गर्न नसकिने रिपोर्टमा उल्लेख छ। यो रेलमार्ग बनाउन २ खर्ब ५६ अर्ब लाग्ने प्रारम्भिक अनुमान उक्त रिपोर्टमा गरिएको छ। डिपिआर नबनेका कारण मोडालिटीको टुङगो लागेको छैन्।
सी’ले नेपालले प्रस्ताव गर्न लागेको सुरुङमार्गको समेत सहयोग गर्ने संकेत गरेका छन्। नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चीनलाई प्रस्ताव गर्दैछ।
यो सुरुङमार्ग र सडक निर्माण गर्न सके चीनसँगको दुरी घट्नेछ। यो सुरुङमार्ग र सडक निर्माण भए साढे दुई घण्टामा केरुङ पुग्न सकिनेछ।
चीनलाई रसुवागढी पुग्ने सडकखण्डकै वेत्रावती–स्याफ्रुवेशी सुरुङमार्ग समेत बनाउन प्रस्ताव गर्न लागिएको छ। यो सडकमा सुरुङमार्गसँगै पहिरो गैरहने स्थानमा स्लोव स्टेवलाईजेसन र रक सेटको प्रस्ताव समेत समेटिएको छ।
राष्ट्रपति सीले अरनिको राजमार्ग स्तरोन्नतीमा समेत सहयोग गर्ने आश्वासन दिएका छन्। नेपालले तातोपानी नाकासम्म पुग्ने सडक दुईलेनमा विस्तारको लागि नेपालले आइतबार प्रस्ताव गर्दैछ।
धुलिखेलदेखि मितेरीपुलसम्म करिव ८४ किलोमिटर लम्वाईको यो सडकको अध्ययन र निर्माण दुवैका लागि नेपालले ३/४ पटक प्रस्ताव गरिसकेको थियो।
भ्रमण सकेर राष्ट्रपति सी आजै स्वदेश फर्कनेछन्।