PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिनियाँ राष्ट्रपति सी नेपालमा रहँदा भारतीय मिडियामा रेलमार्गको चासो



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपति सी नेपालमा रहँदा भारतीय मिडियामा रेलमार्गको चासो

चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले नेपाल भ्रमणमा छन्। दुईदिने नेपाल भ्रमणका क्रममा शनिवार काठमाडौं आएका सीले नेपाललाई ठूलै सरप्राइज दिन सक्ने आकलन भइरहेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने 'वान टु वान' वार्ताका साथै दुवै राष्ट्रका प्रतिनिधिसँगको संयुक्त बैठकमा अनुमान गरिएको सरप्राइज घोषणा हुन सक्छ।

यद्यपि, शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सीको सम्मानमा आयोजना गरेको 'स्टेट डिनर' लाई सम्बोधन गर्दै सीले दुई वटा महत्वपूर्ण घोषणा गरे। नेपालले चिनियाँ सहयोगको अपेक्षा राखेको केरुङ-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीले घोषणा गरे। यस्तै नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्र बनाउन सहयोग गर्ने सीको घोषणाले निकै चर्चा पायो।

२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई नेपालले जति महत्व दिएको छ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि सी भ्रमणको समाचारलाई प्राथमिकता दिएका छन्। विशेष गरी भारतीय मिडियाले नेपाल र चीनबीच रेलमार्ग सञ्चालनका विषयलाई प्राथमिकता दिएका छन्।

एएनआईले राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणालाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ।

रेलमार्गसहित रसुवागढी-छहरे-काठमाडौं सुरुङमार्ग बनाउन सहयोग गर्ने आश्वासन सीले दिएको भन्दै एएनआईले नेपालले चीनको 'बेल्ट एन्ड रोड एनिसिएटिभ'को स्वागत गरेको उल्लेख गरेको छ।

सी दुईदिने भारत भ्रमणबाट शनिवार दिउँसो मात्रै काठमाडौं आएका थिए। भारतको चेन्नइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेटमा सीले भारत र चीनले सीमा विवादकै कारण द्विपक्षीय सम्बन्धलाई असर गर्न नहुने तर्क गरेका थिए।

यता, भारत लगत्तै नेपाल आएका सीले नेपालमा चीनको दबदबा कायम गर्न कोसिस गरेको भारतीय मिडियाको विश्लेषण छ। केरुङ-लुम्बिनी रेल मार्गका साथै चीन-नेपाल सीमासम्म सडक सञ्जालको विकासले नेपाल चीनसँग बढी नजिक हुने उनीहरुको तर्क छ।

इन्डिया टुडेले पनि नेपाल र चीनबीच आज हिमालपारी रेलमार्ग निर्माण हुन सक्ने उल्लेख गरेको छ। तिब्बतदेखि काठमाडौंसम्म रेलमार्ग निर्माणका लागि काठमाडौं आतुर रहेको इन्डिया टुडेले उल्लेख गरेको छ।

यो रेलमार्ग चीनको बिआरआई प्रोजेक्ट अन्तर्गत हुने उसको दाबी छ।

टाइम्स अफ इन्डियाले चीनले नेपालसँग भौतिक विकासमा मात्रै सहयोगको अपेक्षा नगरेको उल्लेख गरेको छ। चीनले नेपालसँग सैन्य सहयोगका साथै सीमा सुरक्षामा समेत गम्भीर हुने अपेक्षा लिने विश्वास लिएको उल्लेख गरिएको छ।

चीनदेखि काठमाडौं-लुम्बिनीसम्म रेलमार्ग विस्तार भएमा भारतमाथि सुरक्षा चुनौती बढ्ने भारतीय मिडियाहरुले पहिलेदेखि नै रिपोर्टिङ गर्दै आएका थिए। यद्यपि, केहीले भने काठमाडौंसम्म रेल आउँदा भारतलाई खतरा नहुने भन्दै भारतले सीमा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

यता, चिनियाँ मिडियाहरुमा भने चीन र नेपालबीच युगौँयुगसम्म मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने सहमति भएको उल्लेख गरेको छ।

सिन्हवाले चीन र नेपालका राष्ट्रप्रमुखले एक भएर कठिनाईको सामना गर्ने, सहकार्य र साझा जीत 'विन-विन'को भावनालाई कायम राख्दै चीन र नेपालबीच विकास र समृद्धितर्फ उन्मुख युगौँयुगसम्म मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गरेको उल्लेख गरेको छ।

यता, जापान टाइम्सले पनि भारतसँगको निर्भरता तोड्दै नेपालले चीनसँग रेलमार्ग विस्तारमा सम्झौता गर्ने प्रयास गरिरहेको उल्लेख गरेको छ।

रसुवाको टिमुरेका चोवाङ स्याङबोसँग गरेको कुरा उल्लेख गर्दै जापान टाइम्सले यसबाट 'भारतीय दादागिरी' अन्त्य हुने विश्वास त्यहाँका स्थानीयले लिएको उल्लेख गरेको छ।

रेलमार्गको विस्तारसँगै नेपाल र चीनबीच व्यापारमा वृद्धि हुने अपेक्षा त्यहाँका स्थानीयले लिएका छन्।

भारतले गत वर्ष रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने परियोजना सार्वजनिक गर्नुलाई चीनसँगको रेलमार्ग विस्तार छायामा पार्ने प्रयास रहेको विश्लेषण नेपाली वुद्धिजीवीहरुले गरेको जापान टाइम्सले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell