PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

आइसिसीको बैठक आज बस्दै, क्यानको निलम्वन फुकुवा होला?



मुकुन्द घिमिरे

आइसिसीको बैठक आज बस्दै, क्यानको निलम्वन फुकुवा होला?

काठमाडौं: लामो समययता चासोको रुपमा हेरिएको नेपाल क्रकेट संघ (क्यान)को निलम्वन फुकुवाका बारेमा आज निर्णय हुने सम्भावना रहेको छ। निलम्वन फुकुवाको लागि आइसिसीकै निर्देशनमा क्यानले निर्वाचनलगायत सबै प्रक्रिया पुरा गरिसकेको छ। आइसिसी प्रतिनिधिको आश्वासन अनुसार नै आजको आइसिसी बैठकले क्यान निलम्वन फुकुवाबारे निर्णय गर्ने सरोकारवालाहरुको बुझाइ रहेको छ। 

क्यान निलम्वनमा परेसँगै नेपाली क्रिकेट पछिल्लो ३ वर्षयता थलिएको छ। राजनीतिक  हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले क्यानलाई २०७३ सालमा निलम्वन गरेको थियो। निलम्वन पछि नेपाली क्रिकेटमा धेरै आरोह अवरोहहरु आए। यद्यपि आइसिसीकै रोडम्याप अनुसार क्यानको जिल्ला प्रदेश हुँदै केन्द्रको पनि निर्वाचन सम्पन्न भइसकेको छ।

निलम्वनको फुकुवाको शर्त अनुरुप असोज ११ गते क्यानको केन्द्रीय निर्वाचन सम्पन्न भयो। चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भए। उनीसँगै क्यानको सम्पूर्ण कमिटीसमेत आइसिसी, राष्ट्रिय खेलकुद परिषद, स्वतन्त्र कमिटीलगायतको रोहवरमा निर्वाचित भयो।

क्यानको नेतृत्वमा निर्वाचित भएसँगै अध्यक्ष चतुरबहादुर चन्दले क्यान सञ्चालनका लागि आइसिसीको निलम्वन फुकुवाको टड्कारो आवश्यकता रहेको औंल्याएका थिए। उनले अक्टोबर १३ मा (आज) बस्ने आइसिसीको बैठकले क्यान निलम्वन फुकुवाको निर्णय गर्ने आश्वासन मिलेको र आफूहरुले निलम्वन फुकुवाका लागि अनौपचारिक तयारी सुरु गर्ने बताएका थिए।

क्यानका महासचिव अशोक प्याकुरेलले आफूहरुले क्यानमा पछिल्लो समय भएका प्रगतिबारे सबै जानकारी र विवरणहरु आइसिसी र एसियन क्रिकेट काउन्सिल (एसिसी)मा पठाइसकेको बताएका छन्। 'हामीले यहाँ भएको कुराहरुको जानकारी पठाइसक्यौं। चुनावलगायतका आवश्यक जानकारीहरु आइसिसी, एसिसीलगायत सम्वन्धित निकायमा पुगिसकेको छ।' महासचिव प्याकुरेलले भने, 'उहाँहरु नेपाल आउँदा पनि १३ तारिख पछि मात्र औपचारिक कुराहरु अघि आउने बताउनु भएको थियो। अब आजको बैठकले के निर्णय गर्छ, त्यो हामी भन्न सक्दैनौं।'

त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पनि भदौ ३० गते आइसिसी तथा स्वतन्त्र कमिटीसँग बैठकपछि पहिलोपोस्टसँग कुरा गर्दै बैठकमा ४ वटा सहमति भएको बताएका थिए। जसमा क्यान निलम्वन फुकुवाबारे अक्टोवर १३ मा बस्ने आइसिसीको बैठकले निर्णय गर्ने बताएका थिए।

त्यस्तै आइसिसीका प्रतिनिधीहरुले पनि क्यानको केन्द्रीय निर्वाचनमा आफूहरुले नेपालको खेल गतिविधिहरु नजिकबाट नियालिरहेको बताउँदै आफूहरु सकारात्मक भएको बताएका थिए। आइसिसीका प्रतिनिधि समेत रहेका स्वतन्त्र कमिटीका सदस्यहरुले नेपालको क्रिकेट गतिविधिलाई नियाली रहेको बताएका थिए। क्यानको केन्द्रीय निर्वाचनसम्म आइपुग्दा नेपालले लामो बाटो तय गरेको छ,' आइसिसी प्रतिनिधी मोहम्मद अलीले भनेका थिए, 'नेपालमा क्रिकेट सम्बन्धी भएका गतिविधिबारे आइसिसी जानकार छ।'

आइसिसीकै अर्की प्रतिनिधि एवं स्वतन्त्र कमिटीकी सदस्य नितिसा कोठारीले नेपालको क्रिकेट अहिले सकारात्मक पथमा गइरहेको बताएकी थिइन्। ‘नेपालले डिभिजन ५ देखि एक दिवसिय मान्यता पाएसम्म सबै गतिविधि हेरिरहेका छौं’ उनले भनेकी थिइन्, ‘हामीले यहाँ प्रगति भइरहेको देखेका छौ, क्यान निलम्वन फुकुवा हुनेमा हामी सकारात्मक छौ।'

आइसिसीको आजको बैठक नेपाली क्रिकेटलाई दिशानिर्देश गर्न महत्वपूर्ण छ। निलम्वन पछि आइसिसी आँफैले नेपाली क्रिकेटलाई हेरिरहेको अवस्थामा आइसिसीकै रोडम्यापमा निर्वाचित भएको क्यान आफ्नो भुमिका खोजिरहेको छ। बाँकी आइसिसीको आजको बैठकले निर्णय गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell