PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मासिक ७० हजार रुपैयाँमा घर भाडामा लिएर मिनी क्यासिनो : लाखौंको हारजित, पर्खाल नाघेर भागे जुवाडे



पहिलोपोस्ट

मासिक ७० हजार रुपैयाँमा घर भाडामा लिएर मिनी क्यासिनो : लाखौंको हारजित, पर्खाल नाघेर भागे जुवाडे

काठमाडौं: शनिवार राति प्रहरीलाई एउटा सूचना आयो, 'बूढानीलकण्ठमा भएको एउटा घरमा मिनी क्यासिनो नै बनाएर लाखौंको जुवा खेल भइरहेको छ।' महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोली गोकर्णेश्‍वर नगरपालिका वडा नम्वर ९ आरुबारीस्थित एक घरमा पुग्यो। तीनतले घर। घरभित्र खचाखच सवारीसाधन।

प्रहरीलाई आएको सूचना सत्य होला भन्ने संकेत भयो। प्रहरीले घरमा छापा हान्यो। प्रहरी नै चकित भयो। २१ जनाभन्दा बढी मानिस जम्मा गएर लाखौंको जुवा खेलाइरहेका थिए। बौद्धका नोर्बु लामाको घरबाट प्रहरीले २१ जनालाई नियन्त्रणा लिन सफल भयो। तीन जना भाग्न सफल भए। 'हामीले यति धेरै होलान् भन्ने सोचेका थिएनौं। हाम्रो टोलीभन्दा जुवाडे धेरै भएकाले तीन जना पर्खाल नाघेर भाग्न सफल भए,' महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले भने।

प्रक्राउ पर्नेमा राजकुमार गुरुङ, रमेश तामाङ,प्रथमबहादुर तामाङ, अन्नत लामा, विष्णु थापामगर, चन्द्र लामा, जयराम आचार्य, राम श्रेष्ठ, आनन्द पुडासैनी, अर्जुन गौतम, राजेन लामा, निखिल कुवँर, प्रेमबहादुर तामाङ, फुर्वा, निराजन, सुराजन ठकुरी, रिन्जिन लामा, आशिष राई, केदारप्रसाद अधिकारी र जमेरदिन मियाँ रहेका छन्।

लामाको घर कपनका स्थायी निवासी रमेश तामाङले भाडामा लिएर जुवा खुलाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीले जुवाको खालबाट १८ लाख ९२ हजार रुपैयाँ समेत बरामद गरेको छ। प्रहरीबाट उम्किएका तीन जनाले लाखौं रुपैयाँ लिएर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 'खालको प्रकृति हेर्दा भागेका उनीहरुले अरु पैसा लिएर भागेको हुनसक्ने देखिन्छ। थप अनुसन्धान गरिरहेका छौं,' डिएसपी सिंहले भने।

तामाङले मासिक ७० हजार रुपैयाँमा घर भाडामा लिएर जुवा खेलाउने गरेको प्रहरीको दाबी छ। तामाङ पहिले क्यासिनो जाने र नेपालीलाई बन्द गरेपछि घरमा नै जुवा खेलाउने गरेको डिएसपी सिंह बताउँछन्। प्रहरीले घरबाट १२ वटा स्कुटर र मोटरसाइकल समेत बरामद गरेको छ। त्यस्तै ३ वटा गाडी पनि नियन्त्रणमा लिएको छ। क्रेटाको गाडीको चाबी भाग्नेले नै लगेकाले प्रहरीले वृत्तमा ल्याउन सकेको छैन। 'उनीहरु गाडी लिएर नै जुवा खेल्न आएको देखियो,' डिएसपी सिंहले भने।

चाडपर्वको अवसरमा जुवातास खेल्नेको संख्या बढ्ने भएकाले प्रहरीले विशेष अभियान चलाएको छ। गत बुधवार प्रहरीले टोखा नगरपालिका ११ स्थित पूर्ण लिम्बूको कोठाबाट ११ जना जुवाडेलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell