PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर



पहिलोपोस्ट

नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं: नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। आज सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा समझदारी पत्रहरुको आदानप्रदान भएको थियो।

नेपालको सरकार प्रमुख र चीनका राष्ट्राध्यक्ष तथा प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ता केहीबेरअघि सम्पन्न भएको छ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित विचारविमर्श भएको थियो।

चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान गरेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार मन्त्री पनि उपस्थित थिए।

यसका साथै वार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलगायत वरिष्ठ चिनियाँ अधिकारी सहभागी थिए।

सो सम्झौतापछि प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिङपिङबीच वन टु वन वार्ता हुँदैछ। दुई दिने नेपाल भ्रमणमा आएका सी’ले सोल्टी होटलमा आयोजित रात्रिभोजमा हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिसकेका छन्।

वार्तापछि सी आजै स्वदेश फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell