PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

चिनियाँ राष्ट्रपतिको नेकपा नेतालाई सुझाव: कम्युनिष्ट पार्टीमा अनुशासन महत्वपूर्ण हुन्छ



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपतिको नेकपा नेतालाई सुझाव: कम्युनिष्ट पार्टीमा अनुशासन महत्वपूर्ण हुन्छ
रासस

काठमाडौं: नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा जनताको समर्थन र सद्भावले आफूहरु स्थापित भएको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटमा सो कुरा बताएका हुन्।

सीले कम्युनिस्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्ने बताए। उनले चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेका कारणले त्यसैको आधारमा मात्रै आफूहरु स्थापित नभएको भन्दै अनुशासन महत्वपूर्ण भएको बताएका हुन्।

सीले दुई देशबीच सरकार, जनता र कम्युनिस्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का शीर्ष नेतासँग आग्रह समेत गरेका छन्।

ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको विकासमा सहयोग गर्न तत्पर रहेको बताएको जानकारी दिए।

 सीलाई उद्दृत गर्दै प्रवक्ता श्रेष्ठले भने 'हामीहरुबीचको सम्बन्धलाई सरकार जनता, पार्टीको तहमा अगाडि बढाउनुपर्छ । दुई कम्युनिस्ट पार्टी भएकाले हाम्राबीचको राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्छ ।'

नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिस्ट पार्टीसँगको मित्रतालाई ने क पाले महत्व दिएको र एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

सोल्टी होटेलमा भएको भेटवार्तामा ने क पाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell