PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

अमेरिकी सेना साउदी अरेबियामा राख्न राजा सलमान बिन अब्दुलअजिजले दिए स्वीकृति



पहिलोपोस्ट

अमेरिकी सेना साउदी अरेबियामा राख्न राजा सलमान बिन अब्दुलअजिजले दिए स्वीकृति
फोटोः रोयटर्स

साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजिज अल साउद र युवराज सलमान बिन मोहम्मद दुवैले साउदी अरबमा थप अमेरिकी सेना तथा सामरिक उपकरण तैनाथ गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।

अब साउदी अरेबियामा ३ हजार अमेरिकी सैनिक अझै थपिनेछन्। सैनिकसँगै युद्ध बन्दोबस्तीका सामरिक उपकरण समेत थपिनेछन्। गत महिना साउदी अरेबियाको तेल उत्खनन तथा प्रशोधन केन्द्रमा रकेट आक्रमण भएपछि साउदी अरेबियाले अमेरिकी सैनिक थप गर्न लागेको साउदी अरबको सरकारी समाचार एजेन्सी एसपिएले शनिवार जानकारी दिएको रोयटर्सले जनाएको छ।

साउदी राजा सलमान र युवराज मोहम्मदको स्विकृतिपछि अब अमेरिकाले सैनिकसँगै बमवर्षक लडाकु विमानका साथै मिसाइल प्रतिरक्षा विशेषज्ञहरुसमेत साउदी अरेबियामा तैनाथ गर्ने जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरबमा थप अमेरिकी सैनिक, प्रतिरक्षा विशेषज्ञ र लडाकु विमान राख्दा लाग्ने सबै खर्च बेहोर्न साउदी अरेबिया तयार भएको जानकारी दिएका छन्। उता, साउदी समाचार एजेन्सी एसपिएले भने दुई देशबीच रहेको ऐतिहासिक सम्बन्ध र असल साझेदारीका कारण अमेरिकाले थप सैनिक तथा सामरिक उपकरण तैनाथ गर्न लागेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell