
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी र नेताहरुबीच आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गरेका छन्।
आइतवार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसँग लोकतन्त्रको लागि सँगै लडेको स्मरण गर्दै सम्बन्ध राम्रो भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले भने, 'साढे चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले हाम्रोबीचमा एउटा गहिरो समझदारी र मित्रता कमसेकम लोकतन्त्रको लागि सँगै लड्ने र लोकतन्त्रको मूल्यमान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता छ। त्यसकारण हाम्रो सम्बन्ध राम्रो छ।'
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग विगत ४५ वर्षदेखि साथी भएको र लोकतन्त्र प्राप्तिका लागि सँगै लडेको स्मरण गरेका थिए। त्यस्तै सम्बन्ध बिग्रिए पनि यसरी चाडपर्वको अवसरमा आयोजित कार्यक्रमले थप समधुर बनाउँदै लैजाने दाबी गरेका हुन्। 'सम्बन्ध बिग्रियो भने पनि यस्ता चाडहरुले समधुर बनाउँदै लान्छ। म निम्ता मान्न आएपछि सम्बन्ध नराम्रो भए पनि राम्रो हुन्छ। अहिले त सम्बन्ध राम्रो छ। झन् सुदृढ हुन्छ,' प्रधानमन्त्री ओलीले भने।
त्यस्तै पत्रकारहरुले सोधेको कांग्रेसले लोकतन्त्रबारे प्रश्न उठाएको छ नि? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, 'अहिले शुभकामना आदानप्रदानका बेला झुलोचकमक लगाउने काम नगरौं।'