PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेसको चियापान : व्यवस्थापन कम्युनिस्टबाट सिकेको माधव नेपालको दाबी, प्रधानमन्त्री ओलीको 'झुलो चकमक'देखि प्रचण्डको घुर्कीसम्म

कांग्रेसको चियापान : व्यवस्थापन कम्युनिस्टबाट सिकेको माधव नेपालको दाबी, प्रधानमन्त्री ओलीको 'झुलो चकमक'देखि प्रचण्डको घुर्कीसम्म

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं: कोजाग्रत पूर्णिमाको अवसरमा कांग्रेसले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न दलका प्रमुख नेताहरुको उपस्थिति रह्यो।

ललितपुरको सानेपामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान समारोह दिउँसो एक बजेबाट शुरु भई पाँच बजेसम्म चल्यो।

यस्तो देखियो कार्यक्रम

चियापानका लागि कांग्रेसले पुरानो गेटबाट 'इन' र नयाँ गेटबाट 'आउट' हुने गरी व्यवस्थापन गरेको थियो। खोलातिरको बाटोमा भिआइपीदेखि अन्य सवारी पार्किङको व्यवस्था थियो। भित्र केन्द्रीय सदस्यबाट स्वागत गर्ने र शुभकामना आदानप्रदानका साथै अन्तिममा सभापति शेरबहादुर देउवासँग भेटको सुविधा मिलाइएको थियो। कार्यकर्ताका लागि लाइनको व्यवस्था थियो भने भिआइपीका लागि छुट्टै बाटो।

भित्र शीर्ष नेताका लागि शुभकामना दिने मञ्च तयार थियो भने ठीक अगाडि प्रेसका लागि मञ्च। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राष्ट्रिय जनता पार्टीका महन्थ ठाकुरसम्मले शुभकामना व्यक्त गरेका थिए।

कसले के भने?

व्यवस्थापन कम्युनिस्टबाट सिकेछन्: माधव नेपाल

नेकपाका नेता माधव नेपालले यसपटकको चियापान अघिल्लोपटकभन्दा व्यवस्थित देखिएको भन्दै प्रशंसा गरे। उनले भने, 'यसपटक व्यवस्थित देखियो। नत्र व्यवस्थित हुँदैन थियो। कम्युनिस्टबाट सिकेछन्। राम्रै भयो। राम्रो कुरालाई सबैले सिकौं। हाम्रा राम्रा कुरालाई तपाईहरुले सिकौं। तपाईहरुका राम्रा कुरालाई हामीले सिकौं।'

प्रधानमन्त्रीको प्रश्न : शुभकामनामा के को झुलो चकमक?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी र नेताहरुबीच आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गर्दा सञ्चारकर्मीले लोकतन्त्रमाथि नेकपाले धावा बोलेको कांग्रेसको आरोपबारेको धारणा मागे।

जवाफमा ओलीले भने, 'अहिले शुभकामना आदानप्रदानका बेला झुलो चकमक लगाउने काम नगरौं।'

प्रधानमन्त्री ओलीले कांग्रेस कार्याकर्तालाई जय नेपाल गर्दै

कांग्रेस सभापति देउवासँग ४५ वर्षदेखि साथीको सम्बन्ध भएको र लोकतन्त्र प्राप्तिका लागि सँगै लडेको स्मरण गरे।

सभामुख र उपसभामुखका विषयमा सत्तारुढलाई प्रश्न

शुभकामना दिने क्रममै सभामुख र उपसभामुखका बारेमा प्रश्न सोधिएपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ यसबारे पार्टीमा छलफल भइनसकेको बताए।

एक कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए। सभामुखको पद रिक्त भएसँगै अब सभामुख को बन्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको साथ हेरिएको छ। यसै विषयमा समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईसँग पनि प्रश्न सोधिएको थियो। उनले यसबारेमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने पक्षमा आफू रहेको बताए।

देउवाले भने : मलाई सी जिनपिङले चीन भ्रमणको निम्तो दिए

देउवाले अतिथि र पार्टीका नेता सबैलाई धन्यवाद दिँदै शुभकामना कार्यक्रमले भेटघाटको संस्कृति राम्रो भएको उल्लेख गरे। उनले भने, 'यस्ता कार्यक्रममा ठुला समस्याहरुबारे छलफल हुने तथा समाधानसमेत हुन सक्छ।'

सी जिनपिङको भ्रमणबारे नेपाली कांग्रेसले स्वागत गरेको उल्लेख गर्दै देउवाले दोस्रो राष्ट्रपतिका रुपमा नेपालमा आइपुगेको बताए। देउवाले एक चीन नीतिमा स्वीकार गर्दै आएको जनाउँदै भोलिका दिनमा पनि चीनले सहयोग गर्ने आशा गरेको छु।

उनले आफूलाई सीले चीन भ्रमणको निम्तो दिएको समेत बताए। 'चीनका राष्ट्रपति सीले चीन भ्रमणको निम्तो  दिनुभयो। मैले हुन्छ भने,' देउवाले भने।

प्रचण्डको घुर्की : हेर्दै जाऊँ आउने दिनमा राजनीतिले कसरी कोल्टे फेर्छ

नेकपाका नेता पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालासँगको सहकार्यबारे उल्लेख गर्दै घुमाउरो पारामा राजनीतिमा असम्भव केही नहुने बताए। प्रचण्डले भने, 'राजनीति यस्तै हो। राजनीतिमा असम्भव भन्ने केही हुँदैन। तपाईंहरुबीच आउँदा सहयात्रीसँगैको भेटघाटमा आएको अनुभव हुन्छ। हेर्दै जाऊँ आउने दिनमा राजनीतिले कसरी कोल्टे फेर्दै जान्छ।'

राजनीतिले कोल्टे फेरे पनि कांग्रेससँगको सहयात्रा जारी रहने उनको भनाई थियो। 'मलाई विश्वास छ, तर पनि हाम्रो सहकार्य जारी रहनेछ। हाम्रो एकता र शान्त्तिप्रतिको हाम्रो संकल्प जारी रहनेछ। सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढिरहनेछौं,' प्रचण्डले भने।

सीको भ्रमणबारे बाबुराम : मामा आउँदा के ल्याइदिए भन्ने नसोचौ

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा भट्टराईले सी जिनपिङको भ्रमण महत्वपूर्ण रहेको बताए।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा भट्टराईले सीको नेपाल भ्रमण सफल भएको समेत उल्लेख गरे।

डा भट्टराईले भने, 'यो भ्रमण अत्यन्त महत्वपूर्ण थियो। यो भ्रमणको लागि चिनियाँ सरकार र नेपाल सरकारलाई धन्यवाद र बधाई दिन चाहन्छु। भ्रमण मूलतः सफल नै रह्यो।'

मित्र राष्ट्रसँगको सम्बन्ध राजनीतिक र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्ने बताउँदै उनले विदेशी पाहुनासँग धेरै आशा राख्न नहुने बताए।

'विदेशी पाहुना आउँदा घरमा मामा आउँदा जसरी के ल्याइदिए भन्ने जस्तो सोच राख्नु हुँदैन,' उनले भने, 'मित्र राष्ट्रसँगको सम्बन्ध राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ। चीनसँग सदैव हाम्रो यही प्रयास हुँदै आएको छ। यो अर्थमा पनि सीको भ्रमण सफल रह्यो।'

शुभकामनापछि समोसा र चिया

शुभकामनापछि नेता कार्यकर्तालाई तल्लो तल्लामा समोसा, जेरी र नमकिनले स्वागत गरिएको थियो। लगत्तै कांग्रेसले अहिले सुचारु गरेको प्रांगणमा चियापान राखिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell