PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीको उपचार खर्च बेहोर्न लगाएर अर्बौं ठग्ने मेडिकल कलेजलाई उन्मुक्ति दिन खोजेको डा. केसीको आरोप



पहिलोपोस्ट

प्रधानमन्त्रीको उपचार खर्च बेहोर्न लगाएर अर्बौं ठग्ने मेडिकल कलेजलाई उन्मुक्ति दिन खोजेको डा. केसीको आरोप

काठमाडौं : डा गोविन्द केसीले सरकारले पटक-पटक सम्झौता गरेर उल्लंघन गर्नु ३ करोड नेपालीमाथिको बेइमानी भएको बताएका छन्। उनले आज पत्रकार सम्मेलनमा सम्झौता उल्लंघनले स्वास्थ्य क्षेत्र सुधारका  अभियानकर्ताका लागि मात्र नभएर ३ करोड नेपालीमाथिको बेइमानी भएको बताएका हुन्।

डा केसीले सरकारले दशौं अर्बको ठगी गरेर विद्यार्थी र अभिभावकको शोषण गर्ने निजी मेडिकल कलेजलाई संरक्षण गरेको आरोप समेत लगाए। उनले कारबाहीको माग गर्दै भने, 'बढी शुल्क असुल्ने निजी मेडिकल कलेजलाई सरकारले तत्काल कारबाही गर्नु पर्छ।'

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले करोडौं उपचार खर्च बेहोर्न लगाएर मेडिकल कलेज सञ्चालकहरुलाई दशौं अर्बको ठगीबाट उन्मुक्ति दिने काम गरेको आरोप पनि लगाएका छन्। प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले बेहोर्नुपर्ने उनको भनाइ थियो।

उनले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा पार्टीका कार्यकर्ता नभइ पीडितलाई विश्वास दिलाउने व्यक्ति नियुक्त गर्न आग्रहसमेत गरेका छन्।

सांसद र मन्त्रीहरुले आफ्नो जिम्मेवारी वहन गर्न नसकेकाले पनि आजको स्थिति उत्पन्न भएको उनको भनाइ छ।

डा केसीले ६ बुँदे माग राख्दै कात्तिक ८ गतेसम्म माग पूरा गर्न अल्टिमेटम पनि दिएका छन्। ‍आफ्ना मागहरु पूरा नभए १३ गतेबाट अनशन बस्ने पनि बताए।

आजबाट डा केसीले त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकाश पनि पाएका छन्। सेवाबाट अवकाश पाए पनि चिकित्सा क्षेत्रको सुधार र विद्यार्थीहरुको हकहितका लागि संघर्ष गरिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरे। उनले भने, 'अबको दिनमा आफूले के गर्ने भन्ने निश्चित भइसकेको छैन तर पनि म चिकित्सा क्षेत्रबाट टाढा हुन्नँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell