PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रपति सीको नेपाल र भारत भ्रमणले क्षेत्रीय सहकार्यमा नयाँ सम्भावना : चिनियाँ विदेशमन्त्री  वाङ



पहिलोपोस्ट

राष्ट्रपति सीको नेपाल र भारत भ्रमणले क्षेत्रीय सहकार्यमा नयाँ सम्भावना : चिनियाँ विदेशमन्त्री  वाङ

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणले दुवै राष्ट्रबीचको सम्बन्धमा नयाँ सम्भावनाहरु थपिएको चीनका परराष्ट्र मन्त्री वाङ यीले बताएका छन्। सी स्वदेश फर्किएपछि सिन्हवासँग कुरा गर्दै वाङले राष्ट्रपति सीको भ्रमणबाट नेपाल र भारतसँगको सम्बन्ध सुधार भएको भन्दै यसबाट क्षेत्रीय सहकार्यका लागि समेत नयाँ सम्भावना थपिएको उनले बताए।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै राम्रो सम्बन्ध रहँदै आएको भन्दै वाङले एक दुवै देशले एकअर्काको सम्मान गर्दै सहकार्य र विश्वास गर्दै आएको बताउँदै भने, 'नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। सी र नेपाली नेताहरुबीच भएको वार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई भविष्यमा थप बलियो बनाउँदै जाने सहमति भएको छ।'

नेपालले एक चीन नीतिप्रति पहिल्यैदेखि समर्थन गर्दै आएको बताउँदै उनले नेपालले चीनप्रति अंगालेको नीति कहिल्यै परिवर्तन नहुने समेत बताए।

सीले नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्र बनाउन सहयोग गर्न गरेको घोषणालाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) ले सहयोग गर्ने वाङले दाबी गरे।

उनले दुवै राष्ट्रले हिमालय सीमापार मल्टी डाइमेनसनल कनेक्टिभिटी नेटवर्कको सम्भाव्यता अध्ययन गर्ने सहमति गरेको भन्दै यसबाट चीन र नेपालबीच सडक, रेल, विमान, सुरुङ र सञ्चार क्षेत्रमा सहयोग आदानप्रदान हुने बताए।

सी अक्टोबर ११ मा भारतको दुईदिने भ्रमणमा चेन्नई पुगेका थिए। त्यहाँ सी र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक वार्ता भएको थियो। वार्ताका क्रममा सीले भारत र चीन विश्वमा उदीयमान राष्ट्र भएको भन्दै भारत र चीनबीच सीमा विवादका कारण द्विपक्षीय सम्बन्धमा समस्या आउनु नहुने बताएका थिए।

सी अक्टोबर १२ मा नेपाल भ्रमणमा आएका थिए। दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गरेका थिए।

चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो।

सीको सम्मानमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गरेको 'स्टेट डिनर' मा सम्बोधन गर्दै सीले नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यस्तै, राष्ट्रपति सीले केरुङ-काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने घोषणा समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell