PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भीम रावलको प्रश्न : 'नेपालमा भारतबाट रेल ल्याउन हुने, चीनबाट नहुने?'



एम बम

भीम रावलको प्रश्न : 'नेपालमा भारतबाट रेल ल्याउन हुने, चीनबाट नहुने?'

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सुदूरपश्चिम इन्चार्ज भीम रावलले भारत जसरी नै चीनसँगका सीमानाका विस्तार गर्नतर्फ पनि जोड दिनुपर्ने बताएका छन्। धनगढीमा सुरु भएको ने क पा सुदूरपश्चिम प्रदेशको दोस्रो बैठकलाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणअघि बालुवाटारमा प्रधानमन्त्रीले डाकेको बैठकमा आफूले उक्त कुरा उठाएको रावलले बताए।

‘बालुवाटारमा भएको छलफलमा समेत मैले यो कुरा उठाएको थिएँ,’ रावलले भने, ‘भारतबाट सीमामा सबैतिर रेल जोडौँ भन्ने, रक्सौलबाट काठमाडौं पनि रेल ल्याऊँ भन्ने, अनि चीनमा नजोडौँ भन्ने? यो मिल्छ र एउटा स्वतन्त्र राष्ट्रको लागि?’

नेपाल चीन र भारतको बीचमा रहेको भूपरिवेष्ठित राष्ट्र भएकाले धेरैभन्दा धेरै नाकाहरू खोल्नुपर्नेमा रावलले जोड दिए।

उनले सीको नेपाल भ्रमणले नेपाल कम्युनिस्ट पार्टी देश र जनताप्रति समर्पित, गरिब जनताको जीवनस्तर माथि उकास्ने र हाम्रा श्रोत, साधनहरूलाई राष्ट्रको हितमा अधिकतम उपयोग गर्ने एक शक्तिशाली पार्टीको रुपमा स्थापित भइसकेको देखाएको बताए। 

सीको भ्रमण नेपाललाई आर्थिक हिसाबमा अघि बढाउने कुरामा र नेपालको पूर्वाधार निर्माणमा अत्यन्त महत्त्वपूर्ण भएको उनले बताए।

‘उहाँले रात्रिभोजमा मन्तव्य दिइरहेको ठाउँमा म पनि थिएँ,’ रावलले भने, ‘उहाँले नेपाली जनताप्रति अत्यन्त सहयोगी भावना र सद्भाव राखेको त्यो मन्तव्यबाट मैले पाएँ। उहाँले हाम्रो समझदारीलाई पूर्ण कार्यान्वयन गर्ने दृढता समेत व्यक्त गर्नु भयो। उक्त भ्रमणबाट भएको समझदारी र हस्ताक्षर नेपाललाई आर्थिक हिसाबमा अघि बढाउने कुरामा र नेपालको पूर्वाधार निर्माणमा अत्यन्त महत्वपूर्ण छ।’

पार्टीका प्रदेश अध्यक्ष कर्ण थापाको अध्यक्षता धनगढीमा सोमवार सुरु भएको ने क पा सुदूरपश्चिम प्रदेशको दोस्रो बैठकमा रावलसहित स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री लेखराज भट्ट, प्रदेश कमिटीका सह–इन्चार्जहरू, प्रदेश कमिटीका सचिव र प्रदेश सदस्यहरूको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell