PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

मुस्कानलाई तेजाब छ्याप्नेलाई प्रहरीले जोगाउन खोजेको आरोप, कडा काराबाहीको माग



राधेश्याम पटेल

मुस्कानलाई तेजाब छ्याप्नेलाई प्रहरीले जोगाउन खोजेको आरोप, कडा काराबाहीको माग

वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगन्जकी मुस्कान खातुनमाथि भएको तेजाब प्रहारको घटनाका अभियुक्तलाई प्रहरीले जोगाउन खोजेको भन्दै अभियुक्तहरुलाई कडा कारबाहीको माग गरेका छन्। 

उनले घटनमा प्रहरी अनुसन्धान र मुद्दाको प्रक्रियाबारे समेत जानकारी लिएका छन्। पर्साका सञ्चारकर्मीहरुको रोहबरमा आज बिहानै पर्साका एसपी सोमेन्द्रसिंह राठौरसँग भेटेर उनले मुस्कान घटनाको दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न माग गरे।

गत भदौ २० गते छपकैया घरबाट बिहान साढे ६ बजे स्कुल गइरहेका अवस्थामा वीरगन्ज–२ छपकैयाकै छिमेकी दुई युवकहरुले मुस्कानमाथि तेजाब प्रहार गरी सिकिस्त घाइते बनाएका थिए। १४ वर्षीया मुस्कान रेशमकोठीस्थित त्रिभुवन माविमा कक्षा ९ मा अध्ययनरत् थिइन्। वीरगन्जमा प्रारम्भिक उपचारपछि अहिले मुस्कानको उपचार काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको छ। मुस्कानको स्वास्थ्य सुधारोन्मुख छ। 

तर मुस्कान घटनाका अभियुक्त द्वय समसाद मियाँ र मजिद मियाँलाई उनीहरुका परिवारले कारबाहीबाट जोगाउन चलखेल शुरु गरेपछि मुस्कानलाई न्याय दिलाउन सांसद यादवले मुद्दाबारे जानकारी लिएको बताए। उनीहरुका परिवारले दुवैको उमेर क्रमशः १४ र १५ वर्ष भन्दै नाबालिग भएको दावीसहित सोही अनुसार मुद्दा अघि बढाउन प्रहरीमा लबिङ गरिरहेका छन्। 

जबकि वीरगन्जस्थित नारायणी अस्पतालका ४ जना डाक्टरहरुले दिएको मेडिकल रिपोर्टमा समसादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष उल्लेख गरेको छ। त्यसैगरी, पर्सा प्रहरीले पनि प्रारम्भिक अनुसन्धानको क्रममा समसादको उमेर १७ वर्ष र मजिदको १६ वर्ष मात्र उल्लेख गरेको सांसद यादवले बताए। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेटिस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेश कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाल लगायतले मेडिकल रिपोर्टमा उमेर प्रमाणित गरेका हुन्। 

पर्सा प्रहरीले दशैंको बिदाका कारण अनुसन्धानमा ढिलाइ भएकाले पर्सा जिल्ला अदालतमा मुद्दा पेश नगरेको जानकारी दिएको छ। पर्साका एसपी राठौरले पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम नै कारबाही गरिने आश्वासन दिए। उनले २२ देखि २५ दिनभित्र अनुसन्धान सकेर अदालतमा मुद्दा पेश गर्नु पर्ने भए तापनि चाडपर्वले केही दिन ढिलाइ भएकाले ३७ दिन भएको बताए। आजभोलि नै मुद्दा जिल्ला अदालतमा पेश गर्ने उनले जानकारी दिए।

यसैगरी, बिर्तामा सञ्चालित हार्डवेयर पसलका मालिक मनीषप्रसाद मण्डलको नाममा पक्राउ पुर्जी जारी भइरहेको र उनको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ। बिनाअनुमति तेजाबलगायत अन्य रासायनिक पदार्थ बिक्री गरेको आरोपमा उनीमाथि ज्यानसम्बन्धी मुद्दा र तेजाब खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ। कानुन बमोजिम ज्यानसम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell