PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चिनियाँ पर्यटक आकर्षण गर्न पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड हुँदै



विष्णु गौतम

चिनियाँ पर्यटक आकर्षण गर्न पोखरामा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड हुँदै

पोखरा : खेल र साहसिक पर्यटनमार्फत नेपालको पर्यटनको विकास गर्न अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड-२०१९ को अन्तिम तयारी सकिएको छ। पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यहि असोज २९ गते बुधबार (१६ अक्टोबर)मा पोखरामा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड हुने आयोजकले जनाएका हुन्।

प्रतिस्पर्धामा चीनका २ टिम र नेपालका २५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रत्येक टिममा एक जना अनिवार्य महिलासहित तीन जना हुने छन्। यो प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने टिमले चीनमा हुने प्रतियोगितामा सहभागी हुन पाउने पनि कार्यक्रममा जानकारी दिइयो। सो प्रतियोगितामा व्यक्तिगततर्फ ३० जना चिनियाँ खेलाडीको सहभागिता रहने पनि आयोजकले जनाएका छन्।

कार्यक्रमका संयोजक विश्व शंकर पालिखेले सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

उनले भने, 'हामीले पर्यटकलाई आउ भनेर मात्रै हुँदैन त्यसका लागि उपयुक्त वातावरणको सृजना पनि गर्न सक्नु पर्छ।'

कार्यक्रमको महत्वको वारेमा जानकारी दिदै संयोजक पालिखेले यहाँ आएका पर्यटकहरुको बसाई लम्ब्याउन अतिरिक्त क्रियाकलापका साथै साहसिक पर्यटनको पर्याय नेपाल हो भन्ने कुरालाई पटक-पटक दोहोर्‍याउँदै पुष्टी गर्नुपर्ने धारणा राखे। यही उद्देश्यलाई पुरा गर्न पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टेनियरिङ एण्ड एक्पोरेसन एसोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड आयोजना गरिएको पनि उनले बताए। यो दौडलाई नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गरेको छ भने एथलेटिक सोसाइटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लबलगायत विभिन्न संघसंस्थाले सहयोग गरेको पनि उनको भनाइ थियो। 

'पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने संस्कृति विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भित्र्याउन सो ‘मेघा इभेण्ट’को आयोजना गर्न लागेका हौ,' उनले भने।

कार्यक्रममा चीनका करिब ४० जना धावक, त्यहाँका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जनाको टोली सहभागी हुने पनि आयोजकको भनाइ छ। 

दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट सुरु हुनेछ। दौडको पुरा दुरी ४२.२ किलोमिटर हुने छ जसमा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ। यो इभेण्टलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकाले व्यापक रुपले कभरेज गरि प्रचार प्रसार गराउने लक्ष्य लिइएकोले यसले चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुग्ने पनि आयोजकको अपेक्षा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell