
काठमाडौँः बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालत उपस्थित गराउने भएको छ। पक्राउ लगत्तै महरा अस्वस्थ भएको भन्दै अस्पतालमा राखिएको छ।
नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई अदालतमा उपस्थित गराउने प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरालाई स्वास्थ्यमा समस्या देखिएपछि दशैंको टीकाको दिन अस्पताल भर्ना गरिएको थियो।
महरालाई म्याद थप गर्नको लागि अदालतमा उपस्थित गराउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले घटना प्रकरणमा थप अनुसन्धान भइरहेको समेत बताए।
असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।
दशैं बिदामा अदालत बन्द भएकाले प्रहरीले अदालतमा उपस्थित गराउन पाएको थिएन।
तर प्रहरीले घटनालाई पुष्टि गर्ने सबुत प्रमाण भने संकलन गरिरहेको थियो। प्रहरीले सभामुख निवासमा खानतलासीदेखि आफन्त र पीडित महिलासँग पनि प्रारम्भिक सोधपुछ गरिसकेको छ। पीडित भनिएकी महिलाको स्वास्थ्य परीक्षण पनि भइसकेको छ। प्रहरीले म्याद थप गरेर २४ दिनसम्म अनुसन्धान गर्न पाउँछ।
अनुसन्धान सकेपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेक पक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ।
धरौटी वा पूर्पक्षको लागि थुनामा रहेमा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन्। घटनास्थलमा प्रहरीले भाँचिएको चस्मा, जुत्ता तलुवा फेला पारेको थियो।