PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

क्यान निलम्बन फुकुवाका शर्त के हुन्? अध्यक्ष चन्द भन्छन्, 'हामीलाई काम गर्ने बाटो खुल्यो'



मुकुन्द घिमिरे

क्यान निलम्बन फुकुवाका शर्त के हुन्? अध्यक्ष चन्द भन्छन्, 'हामीलाई काम गर्ने बाटो खुल्यो'

काठमाडौं : आइसिसीले नेपाली क्रिकेटको निलम्बन सशर्त फुकुवा गरेको छ। सन् २०१६ मा निलम्बन गरेसँगै स्वतन्त्र चुनावको शर्त अघि सारिएको थियो। जसलाई क्यानले आइसिसी, राष्ट्रिय खेलकुद परिषद् तथा स्वतन्त्र कमिटीकै रोहबरमा पूरा गरेको थियो।

अहिले चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित १७ सदस्यीय कमिटी छ। आइसिसीकै रोडम्यापमा चुनाव भइसक्दा उसले आश्वासन दिएजस्तो निलम्बन फुकुवा त गरेको छ तर सशर्त।

अध्यक्ष चन्द आइसिसीको निर्णयसँगै आफूहरूलाई काम गर्ने बाटो पूर्ण रुपमा खुलेको बताउँछन्।

चन्दले निलम्बन सशर्त फुकुवा भएपछि पहिलोपोस्टसँग भने, 'शर्तको बारेमा अहिले स्पष्ट भइसकेको छैन। हामीलाई केही दिनमा चिठी आउला। पहिले पनि नेपाली क्रिकेट केही विवादित थियो। त्यसले गर्दा प्रशासनिक र आर्थिक विषयसमेत उठाइएका थिए। त्यसले गर्दा संयुक्त रूपमा आइसिसीसँग बसेर एउटा योजना बनाउने खालको अवस्था देखिएको छ। नियमित सम्पर्कमा रहेर प्रक्रिया अघि बढाउने अनौपचारिक कुरा छ। ठ्याक्कै हामीलाई पनि चिठी नआउन्जेल थाहा हुन्न।'

तर, चन्दले आर्थिक पारदर्शिता र प्रशासनिक विषयमा आइसिसी अझै आश्वस्त हुन चाहेको हुनसक्ने बताए।

'ठूला ठूला हौवा खडा गरे पनि ९५ प्रतिशत हाम्रै पक्षमा आइसकेको हो। अब ५ प्रतिशतमा आर्थिक पारदर्शिता र कर्मचारीबारे विधान अनुसारको सिइओ, फाइनान्सियल म्यानेजर राख्ने जस्ता विषय हुन सक्छन्' चन्दले भने, 'एउटा एसोसिएट राष्ट्रले पालना गर्नुपर्ने नियम पूरा गरिसक्नु छ।'

पारदर्शिताको चुनौती

क्यान नेतृत्वमा आएसँगै अध्यक्ष चन्दले आइसिसीलाई आश्वस्त पार्नु आफ्नो चुनौती हुने बताएका थिए। उनले भनेका थिए, ‘आइसिसीसँग समन्वय गर्ने चुनौती रहेको छ। अझै पनि आइसिसीले नेपाली क्रिकेटलाई चुस्त दुरुस्त रूपमा चल्दैन कि भनेर शंकाको  दृष्टिले हेरेको छ। त्यसलाई चिर्दै राम्रो सम्बन्ध बनाएर नेपाली क्रिकेटको विकास गर्ने हाम्रो लक्ष्य छ।’

त्यसो त क्यानमा पहिलेदेखि नै आर्थिक अपारदर्शिताको आरोप लाग्दै आएको थियो। अध्यक्ष चन्दले पनि विगतमा क्यान आर्थिक अपारदर्शिताबाट गुज्रिएको स्विकार्दै आएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि चन्दले पारदर्शितामा सुधार गर्नुपर्ने आफ्नो ठूलो चुनौती भएको बताएका थिए।

आइसिसीका अध्यक्ष शशांक मनोहरले पनि क्यानको आर्थिक पक्षमा आइसिसी अझै विश्वस्त भइनसकेको संकेत गरेका छन्।

'नेपाल क्रिकेट संघले निर्धारित गरिएका शर्त पूरा गरेको छ,' मनोहरले भनेका छन्, 'क्यानका लागि अहिले संक्रमणकालीन अवस्था विकसित भएको छ। क्यानलाई एसोसिएट क्याटेगोरीबाट अघि बढाउन फन्डिङ लगायतको सपोर्टको आवश्यकता छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell