
नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणको खेलमा आज बलियो प्रतिद्वन्दी जोर्डनको सामना गर्दै छ। समूह 'बी' अन्तर्गतको आजको खेलमा नेपालले अनुभवी र बलियो जोर्डनको सामना गर्न लागेको हो। खेल आज बेलुकी पौने १० बजे जोर्डनस्थित अम्मान इन्टरनेशनल स्टेडियममा हुनेछ।
नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले जोर्डनसँगको खेल नेपालका लागि एक अवसर भएको बताएका छन्। प्रिम्याच कन्फ्रेन्समा कालिनले भने, 'यो क्वालिफायर्समा जोर्डन बलियो टोली हो। हाम्रो लागि यो अवसर हो। हामी हाम्रो तर्फबाट उत्कृष्ट खेल खेल्ने छौं।'
नेपाल र जोर्डन यसअघि २ पटक आमनेसामने भएका छन् जसमा पहिलो खेलमा जोर्डनले नेपाल माथि ९–० को सहज जित निकालेको थियो भने दोस्रो खेल १–१ को बराबरीमा रोकिएको थियो।
फिफा वरीयतामा पनि जोर्डन नेपालभन्दा धेरै अगाडि छ। नेपाल वरीयताको १६१ स्थानमा छ भने जोर्डन ९८ स्थानमा छ।
नेपाल रहेको समूह 'बी' मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्। समूहमा अस्ट्रेलिया २ खेल खेल्दै शतप्रतिशत जित निकालेर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै ३ खेल खेलेर १ जित, १ बराबरी र १ हार बेहोरेको कुवेत ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। तालिकाको तेस्रो स्थानमा ४ अंक नै जोडेको जोर्डन छ। उसले २ खेल खेलेकोमा १ जित र १ बराबरी खेलेको छ। नेपाल भने तालिकाको चौथो स्थानमा छ। नेपालले यसअघि ३ खेल खेल्दै १ जित र २ हार बेहोरेको छ। त्यस्तै तालिकाको पुछारमा रहेको चाइनिज ताइपेई २ खेल खेल्दै जितविहीन छ।
नेपाल समूह चरणको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो। तेस्रो खेलमा अनुभवी अस्ट्रेलियासँग ५–० गोलान्तरको पराजय भोगेको नेपालले आज जोर्डनको सामना गर्न लागेको हो।