PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

एनआरएनएको नेतृत्वमा कम्युनिस्ट र कांग्रेसको भीडन्त: बालुवाटारले जित्ला कि बूढानीलकण्ठले?



नेत्र तामाङ

एनआरएनएको नेतृत्वमा कम्युनिस्ट र कांग्रेसको भीडन्त: बालुवाटारले जित्ला कि बूढानीलकण्ठले?

काठमाडौं : नेपालमा लगानी भित्र्याउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएन) अहिले नवौँ विश्व सम्मेलनका लागि काठमाडौँको होटेल हयातमा जुटेको छ।

८१ मुलुकमा आफ्नो सञ्जाल भएको दाबी गर्ने एनआरएनएको विश्व सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) उद्घाटन गर्दैछिन्। बुधबार नयाँ नेतृत्वको लागि निर्वाचन हुनेछ।

'म, मेरो एनआरएनए र मेरो नेपाल' थिममा आयोजना हुन लागेको विश्व सम्मेलनमा राजनीतिक चहलपहल भने तीव्र रूपमा बढेको छ।

नेतृत्वमा कम्युनिस्ट र कांग्रेसको रस्साकस्सी

चीनका राष्ट्रपति सी जिनपिङको बिदाइ लगत्तै अहिले राजधानीमा एनआरएनए राजनीतिको लडाइँ सुरु भइसकेको छ।

नेपाल सरकार नै आयोजक रहेको एनआरएनको विश्व सम्मेलनको नेतृत्व चयनका लागि नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका नेताहरू आफ्नो पक्षको उम्मेदवार जिताउन खटिएका छन्।

यसपटक अध्यक्षमा दुई जनाले दाबेदारी पेश गर्ने देखिन्छ। अध्यक्षका बलिया प्रत्याशी कुमार पन्तले असोज ३ गते उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। गोर्खा फुजेलका पन्त जर्मनीमा व्यवसाय गर्छन्। उनी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) समर्थित उम्मेदवार हुन्। हालका उपाध्यक्षसमेत रहेका पन्तलाई जिताउन ने क पाका नेताहरूले जोडबल गरिरहेका छन्।

पन्तको प्यानलमा बेलायतका डा हेमराज शर्माले महासचिवमा उम्मेदवारी दिएका छन्। उनको पक्षमा डा. बद्री केसी (रुस) र सोनाम लामा (अमेरिका) ले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। आफ्नो पक्षको उम्मेदवारलाई कुनै पनि हालतमा जिताउन ने क पाले प्रवासी नेपाली मञ्चदेखि एनआरएनए नेता कार्यकर्तालाई ह्विप जारी गरिसकेको छ।

यता अर्का दाबेदार कुल आचार्यले सोमवार दरबारमार्गस्थित रोयल सिंगेमा प्यानलसहितै उम्मेदवारी घोषणा गरे। हालका उपाध्यक्षसमेत रहेका बेलायतका कुल कांग्रेस समर्थित उम्मेदवार हुन्। पर्वतमा हुर्केका उनलाई जिताउन कांग्रेस नेताहरू जोडतोडका साथ लागिरहेका छन्। उसो त फुर्सदमा रहेका कांग्रेस नेता कार्यकर्ता अहिले एनआरएनएका नेता/डेलिगेट्ससँगै देख्न भेट्न सकिन्छ।

कुलले प्यानलै उम्मेदवार प्रस्तुत गरिसकेका छन्। उनको प्यानलबाट उपाध्यक्षहरुमा डा केशव पौडेल (अमेरिका), नरेन्द्र भाट (कतार), मन केसी (अस्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन्। यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा रहेका छन्। कांग्रेसले आफ्नो पार्टीले समर्थन गरेको उम्मेदवारलाई भोट हाल्न जनसम्पर्क समितिहरूमा ह्विपसमेत जारी गरेको छ।

राजधानीका अधिकांश होटेल रेस्टुरेन्टसमेत एनआरएनए र पार्टीका कार्यकर्ताले भरिभराउ देखिन्छन्।

कसले मार्ला बाजी?

यसपटकको एनआरएनए नेतृत्वमा अध्यक्षमा पन्तको सम्भावना प्रबल देखिएको एनआरएनए डेलिगेट्सले दाबी गर्दै आएका छन्। वर्तमान अध्यक्ष भवन भट्टको साथले यो दाबीलाई बलियो आधार बनाएको छ। अघिल्लो कार्यकालमा अध्यक्षको दाबी गरेका पन्तको बाटोमा तत्कालीन अध्यक्ष शेष घलेले श्रीमती जमुना घलेलाई अघि सारेपछि उनले भवन भट्टलाई साथ दिएका थिए। घले दम्पत्तीले पुरानो रिस साँधेमा नेतृत्व कुलको पोल्टामा जाने समेत अर्थ्याइन्छ। पूर्व अध्यक्ष जीवा लामिछानेसमेत घले दम्पत्तीको लाइनमा देखिएका छन्।

अहिले अध्यक्ष र महासचिव कसले बाजी मार्ने भन्नेमा घले दम्पत्तीलाई 'कि पर्सन'का रुपमासमेत हेरिएको एनआरएनएकर्मीहरु बताउँछन्।

यता महासचिवमा बेल्जियमकी जानकी गुरुङलाई धेरैले रोज्ने दाबी गरिएको छ। कांग्रेस समर्थित जानकीले महासचिवका आकांक्षी अमेरिकाका डा केशव पौडेललाई मनाएर आफ्नो प्यानलमा एकल उम्मेदवारी पेस गर्न सफल भइन्। उनका प्रतिस्पर्धी पन्त समूहका डा हेमराज शर्मा हुन्। शर्मा नेकपा समर्थित उम्मेदवार भए पनि कमजोर उम्मेदवार भएको बताइन्छ।

गिर्दो साख, चर्को उम्मेदवारी शुल्क

स्थापनाकालदेखि शेष घलेको नेतृत्वसम्म एनआरएनएले उल्लेख्य मान पाए पनि अहिले भने एनआरएनएको साख गिर्दो छ। सन् २००३ मा स्थापना भएको यस संघलाई उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले नेतृत्व प्रदान गरिसकेका छन्।

स्वदेशमा उद्योगधन्दा विस्तार गर्ने र वैदेशिक रोजगारी घटाउने उद्देश्यले राम्रै चर्चा कमायो। दोहोरो नागरिकता र लाप्राकमा भूकम्पपीडितलाई एकीकृत बस्ती बनाउने विषयमा पनि एनआरएनले स्याबासी पाएकै थियो। यद्यपि यी दुवै काम विवादरहित भने रहेनन्। एनआरएनएको अहिलेको केन्द्रीय भवनसमेत 'बालुवाटार जग्गा काण्ड' विवादमा मुछिएको छ। लाप्राक बस्ती बस्न योग्य नभएको भन्दै स्थानीयले गुनासो थालिसकेका छन् भने दोहोरो नागरिकतालाई भने सरकारले सम्बोधन गर्ने देखिएको छ।

विवादको घेरामा पर्दै आएको एनआरएनएले यसपटक उम्मेदवारबाट चर्को शुल्क असुल्ने भएको छ। यसपटक अध्यक्ष पदका लागि निर्वाचन समितिले दश लाख रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकेको छ। भने उपाध्यक्ष र महासचिवका लागि ६ लाख रुपैयाँ दर्ता शुल्क तोकेको छ। यसैगरी सचिव र कोषाध्यक्षलाई पाँच लाख तोक्दा एनआरएनए आइसीसी सदस्यका लागि एक लाख दर्ता शुल्क तोकेको छ।

स्वदेशको विकासका लागि भिजन भएका तर खर्च नभएकाले भने अब एनआरएनको नेतृत्वमा दाबी गर्ने बाटो नै बन्द भएको एनआरएनकर्मीहरु बताउँछन्। दर्ता शुल्क, मतदाता रिझाउन खर्च र प्रचार खर्चले एनआरएन नेतृत्वका ढाड भाँच्चिने देखिएको उनीहरूले गुनासो गर्न थालेका छन्।

छैनन् एजेन्डा

विशेष तामझामका साथ उम्मेदवारी प्रस्तुत गरिएका एनआरएनएको कुनै खास एजेन्डा यसपटक छैनन्। दोहोरो नागरिकता र एनआरएनको सचिवालयजस्ता विषय अघिल्ला नेतृत्वले समेटिसकेकोले पनि यसपटकको नेतृत्वले खासै एजेन्डा नभेटेको हुन सक्छ।

अध्यक्षका दाबेदार कुल आचार्यको १० बुँदे कार्ययोजनामा खासै आकर्षक योजना छैनन्। उनले संघमार्फत् गैरआवासीय नेपाली र नेपालीलाई जोड्न आफूहरूको पुँजी र सीप नेपालको विकासमा लगाउने, त्यसका लागि ‘समृद्ध नेपाल हाम्रै जीवनकालमा’ भन्ने नारा अघि सारेका छन्। आचार्यले मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका लागि आफूले पसिना फन्डको परिकल्पना गरेको उल्लेख गरेका छन्। वैदेशिक रोजगारीमा गएकाहरूलाई समस्या बुझ्न हटलाइन सेवा सञ्चालन गर्ने उल्लेख गर्दै उनले पर्यटन वर्ष २०२० सफल बनाउन भूमिका निर्वाह गर्ने बताए।

अध्यक्षका अर्का प्रत्याशी पन्तका एजेन्डा पनि उस्तै छन्। उनले  सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेकाले धेरैभन्दा धेरै पर्यटक नेपाल पठाउन एनआरएनएहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भिजन २०२० मा निरन्तरता दिने र वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने बताएका छन्। यसै गरी उनले विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा लाग्ने र हरेक गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिने प्रतिबद्धता जारी गरेका छन्।

विभिन्न पदमा ४२ जना चुनिँदै

एनआरएनए सम्मेलनले विभिन्न १२ पदमा ४२ जना चयन गर्नेछ।

अध्यक्ष एक जना, उपाध्यक्ष ५ जना (एक महिलासहित), महासचिव १ जना, सचिव २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुनेछन्।

प्रत्येक क्षेत्रीय समितिबाट एक/एक जना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन्।

क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुनेछन्। विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजकका लागि निर्वाचन हुनेछ।

एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन्। उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनेछन्।

यसैगरी प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने एनआरएनए निर्वाचन समितिले जनाएको छ। सम्मेलनका लागि विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी हुन एनआरएनए सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell