काठमाडौं: रौतहटमा भएको एक बम काण्डको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलमलाई अदालतले अनुसन्धानको लागि थप हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई मंगलवार बिहान रौतहट जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले प्रहरीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि सात दिनको म्याद दिएको छ। 'आज नै अदालतमा उपस्थित गराएर सात दिनको म्याद पनि पाइसकेका छौं। हामी थप अनुसन्धान गर्छौं,' जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले भने।
२०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लगाइँदै आएको छ। पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।
आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत हुन्। आइतवार बिहान निवासबाटै आलम पक्राउ परेका हुन्।