PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सरकारी वकिलको कार्यालयमा महराको पौन दुई घण्टा बयान : स्वास्थ्य समस्या देखाउँदै आलटाल !



सविन ढकाल

सरकारी वकिलको कार्यालयमा महराको पौन दुई घण्टा बयान : स्वास्थ्य समस्या देखाउँदै आलटाल !

काठमाडौं : बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलवार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ।

नर्भिक अस्पतालबाट महरालाई सीधै सरकारी वकिल कार्यालय लगिएको थियो। करिब पौने २ घण्टा सरकारी वकिल कार्यालयमा महराको बयान लिइएको छ। शुरुमा महराले आफू अस्वस्थ भएको भन्दै बयान दिन आनाकानी गरेका थिए। तर, वकिलले बयान जहिले भए पनि लिनैपर्ने अडान राखेपछि उनी बयान दिन सहमत भएका थिए।

'पहिले अस्वस्थ छु बोल्न मिल्दैन भन्दै हुनुहुन्थ्यो। तर, हामीले जहिले भए पनि बयान त दिनै पर्छ भनेपछि बयान भयो,' सरकारी वकिल कार्यालयका एक कर्मचारीले भने।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। प्रहरीको अनुसन्धानमा महरा पीडित महिलाको कोठामा गएको देखिएको थियो। सरकारी वकिलसँग भएको बयानमा महराले आफूले पीडित महिलालाई चिनेको स्वीकार गरेका छन्।

'धेरै कुरा मिडियामा आए जस्तै नै बयानमा पनि भन्नु भएको छ,' ती कर्मचारीले पहिलोपोस्टसँग भने।

प्रहरीले पीडित भनिएकी महिलाको कोठाबाट भाँचिएको चस्मा, जुत्ताको तलुवा, रक्सीको बोतल लगायत सामाग्री बरामद गरेको थियो। महराको भनिएको चस्मा र तलुवा हो कि होइन छुट्याउनका लागि फरेन्सिक परीक्षण भइरहेको छ। फरेन्सिक परीक्षणका लागि प्रहरीले महराको डिएनए परीक्षण गर्ने भएको छ।

'हामी निरन्तर अनुसन्धान गरिरहेका छौं। प्रमाणको लागि आवश्यक सबुत प्रमाण संकलन भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने।

महरालाई आजै म्याद थपका लागि अदालत उपस्थित गराइएको छ। अदालतले म्याद दिएपछि प्रहरीले २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। प्रहरीले अनुसन्धान सकिएपछि त्यसको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेकको प्रक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ।

धरौटी वा पूर्पक्षको लागि थुनामा रहेमा महरा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell