पूर्व सिनेमा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म 'छ माया छपक्कै' अहिले प्रदर्शनरत छ। यसअघि घामपानी र गोपीको निर्देशन गरेका लामाको तेस्रो फिल्ममा 'थी डी'को समायोजन छ- दीपकराज गिरी, दीपाश्री निरौला र दीपेन्द्र लामा। अघिल्ला दुई फिल्मलाई फरक रुपमा प्रस्तुत गरेर अलग पहिचान बनाउने होडमा हिँडेका लामा यतिखेर मूलधारे व्यावसायिक फिल्म बनाउने टीमसँग 'टीम अप' भएर मैदानमा उत्रिए। त्यसैको प्रतिफल हो, छ माया छपक्कैले व्यावसायिक सफलता हासिल गर्ने क्रम जारी छ। राम्रो फिल्म बनाएर नचल्नुभन्दा चल्ने फिल्मलाई थोरै भए पनि सुधार्ने प्रयासको परीक्षणका रुपमा लिएका छन् छ माया छपक्कैलाई। फिल्मले दीपकराज गिरीको टीमको भ्यालुसँगै दीपेन्द्र लामाको सामाजिक इस्युलाई उठाउने प्रयास, दुवै गरेको छ। यिनै सन्दर्भमा निर्देशक लामासँग गरिएको कुराकानीको अंश :
दीपेन्द्रको सिनेमा बनाउने एउटा फरक ट्र्याक थियो। तर, मूलधारतिर आउन खोजेको देखियो अहिले। यहाँनेर आउँदा त्यो आफ्नो ट्र्याक भत्किएको हो?
ट्र्याक छाडेको होइन। मेरा लागि यो एक किसिमले एक्सपेरिमेन्ट पनि हो। मास ओरियन्टेड फिल्म पनि गरौं र त्यसले कस्तोखाले रियाक्सन दिँदो रहेछ भन्ने थियो। अनि मास ओरियन्टेड फिल्म बनाउनेहरुलाई थोरैमात्र भए पनि चेन्ज गर्न सकिन्छ कि भन्ने पनि थियो। त्यो चेन्जको जश मलाई जान्छ भन्ने लोभ पनि हो। अनि फिल्म भनेको फरक फरक जनरामा गर्न सकिन्छ। छ माया छपक्कै एक किसिमले मेलो ड्रामा हो। यो मूलत: मेरा लागि प्रयोग हो।
एउटा कडा समीक्षक अनि फरक धारको फिल्म निर्देशकलाई के बाध्यताले यस्तो फिल्म बनाउन प्रेरित गर्यो?
एकथरी मेकरले पैसा कमाइरहने। अर्कोथरी मेकरले चाहिँ फिल्म राम्रो बनाइररहने तर पैसा चाहिँ नकमाउने। फिल्म राम्रो बनाइरहने तर प्रोड्युसर चाहिँ घाटामा गइरहने स्थिति पनि राम्रो होइन। पहिलो फिल्म (घामपानी)बाट १५/२० लाख फाइदा भयो। सेकेन्ड फिल्म गोपी त डुब्यो। घाटा भयो। नेशनल अवार्डमा वेस्ट फिल्म पायो अथवा यताउति सराहना गरे भनेर मात्र चित्त बुझ्दैन। लगानी पनि उठेको भए राम्रो हुन्थ्यो। लगानी उठाउन सकेन भने फेरि प्रोड्युसर पाउन गाह्रो हुन्छ। कम्तीमा पनि डेढ करोड जति पैसा चाहिन्छ। त्यसका लागि पनि अलिकति पैसा कमाउने फिल्म बनाउनु पर्यो।
बलिउडमा सञ्जयलीला भन्सालीले गुजारिसजस्तो गम्भीर फिल्म बनाएर पैसा रित्याउने र राउडी राठौर जस्तो फिल्म बनाएर कमाउने गर्छन्। त्यस्तैबाट प्रेरित हुन खोजेको हो?
अझ राजकुमार हिरानी हेरौं न। गम्भीर विषयलाई लाइट इन्टरटेन हिसाबले उठाउँछन् नि। जस्तो कि पिकेमा। गम्भीर विषयलाई फन्नी तरिकाले देखाउने शैली छ उनको। त्यतिसम्ममात्रै गर्न सकियो भने पनि नेपाली फिल्ममा धेरै उपलब्धी हुन्छ।
त्यसबाहेक काम गराइमा भेरिएसन पनि चाहिन्छ भन्ने हो। पत्रकारितामा नै हेरौं न- कान्तिपुरको साप्ताहिकमा पनि काम गर्न पर्ला, देशान्तर वा बुधवार साप्ताहिकमा पनि काम गर्न पर्ला। यी सबै फरक हुन् त। सबैतिर काम गर्दा फरक शैली अपनाउनै पर्छ, पाठक पनि फरक हुन्छन् तिनका।
यसरी काम गर्दा आफ्नो पहिचान त रहन्न होला नि?
जुन जनरामा काम गरे पनि पर्फेक्ट हुनुपर्यो। त्यसो भयो भने निर्देशकको सिग्नेचर भन्ने देखिन्छ। तर, अहिले नै मेरो बेला भएको छैन, सिग्नेचर बनाउने। अहिले त म कुन बाटो हिँड्ने भन्ने थाहा पाउने नै समय हो।
नविन सुब्बा अनि छिरिङ रितारजस्ता अल्टरनेटिभ फिल्म बनाएर उदाएकाहरु नटिकेको देखेर डराएको त होइन?
इन्टरनेशनल स्तरमा पुग्नेगरी फिल्म बनाउनका लागि एउटा फिल्ममा ४/५ वर्ष समय दिनुपर्छ। कालो पोथी, सेतो सूर्य जस्ता फिल्म बनाउन ४/५ वर्ष समय लाग्छ। स्क्रिप्ट तयार पार्न नै वर्षभन्दा बढी लाग्छ। सुटिङमै वर्ष दुई वर्ष लाग्छ। सिजन अनुसारको दृष्य चाहिने हो भने अझै लाग्छ। अब फन्डिङका लागि प्रपोजल लेख्न पर्यो। पिआर मेन्टेन गर्न पर्यो। धेरै गाह्रो छ। अब यहीँको स्रोतमा ६० लाखमा वा एक करोडमा बनाएको फिल्म विदेशी फेस्टिबलमा जान योग्य बन्दैन। टेक्निकल्ली रिच पनि हुँदैन। स्तर पनि हुँदैन। अब त्यति धेरै मेहनत गर्ने मेरो धैर्य नभएको हो।
दीपेन्द्रले फिल्मको रिपोर्टिङ गर्दा नविन सुब्बा वा छिरिङ रितारको कामलाई आदर्श नै मान्थ्यो। उनीहरुका सिनेमाले मुलधारे सिनेमालाई धक्का दिएको थियो। तर ब्यापारमा उनीहरु सफल भएनन्।
नविन दाइ र छिरिङ दाइहरुले फिल्म बनाउने समयमा मेन स्ट्रिम र अलग धार भन्ने थियो। उहाँहरुले अलग धारको फिल्म बनाउनुभयो। अहिले चाहिँ त्यतिबेला मेन स्ट्रिम भन्ने निर्देशकहरु पलायन भइसकेका छन्। अहिले चाहिँ सबै मेन स्ट्रिम भयो। छ माया छपक्कै पनि मेन स्ट्रिम, बुलबुल पनि मेन स्ट्रिम नै हो। हरि पनि। अब पहिले झै डिमार्केसन नै रहेन। त्यतिखेर प्राय फिल्म हिन्दी फिल्मको कपी गरेर चारवटा गीत, चारवटा फाइट हालेर बनाउथे। आजकल त्यो फर्मुला छैन। छ माया छपक्कैमा पनि एउटा गीत मुस्किलले अटाएको छ। बुलबुलमा पनि एउटा गीत छ। अब ठ्यासाम ढिसुम फाइट भन्ने छैन। अब कसैले एक्सन फिल्म नै बनाउला। त्यो फरक जनरा हो। अब फिल्मको वर्गीकरण चाहिँ ठूलो स्टारले खेल्यो भने ठूलो भन्ने जमाना आयो।
यस फिल्ममा दीपकराज गिरीको पहिचान पूरै फरक देखियो। एउटा हाँस्य कलाकार दीपकको त्यो इमेज चाहिँ सिनेमामा देखिएन। यसरी उनको पहिचान नै फेर्दा असहज भएन?
यो सिनेमाको कथा मेरो भए पनि स्क्रिप्ट राइटर दीपकराज गिरी नै हो, उहाँले नै क्यारेक्टर तय गरेको। त्यो क्यारेक्टरका लागि ८/१० केजी तौल घटाउनुभयो। अनि गेटअप पनि त्यस्तै बनाएर बस्नुभयो। ५/६ महिनासम्म जुँगादारी त्यत्तिकै राख्नुभयो। आफ्नो क्यारेक्टर बनाउनमा उहाँले धेरै मेहनत गर्नु भएको छ।
अर्को कुरा, कमेडी आर्टिस्टले सिरियस रोलमा एक्टिङ गरेको यो पहिलो चाहिँ होइन। बलिदानमा हरिवंश आचार्यले गर्नुभएको थियो। अरुले कमेडी आर्टिस्टले सिरियस रोल गर्न सक्दैन भन्छन्। मलाई के लाग्छ भने नर्मल एक्टरले कमेडी गर्न सक्दैन तर कमेडी एक्टरले सिरियस रोल गर्न सक्छ। कमेडी एक्टर भनेको गड गिफ्टेड हो। सेन्स अफ ह्युमर सबै एक्टरमा हुँदैन, कमेडी एक्टरमा त्यो थप हुन्छ। दीपकराज गिरीले पहिले सिरियस क्यारेक्टरमा नखेलेको होला तर यो फिल्मबाट सिरियसमा सुट हुन्छ भन्ने प्रमाणित भएको छ।
अघिल्ला दुई सिनेमा हेरेर यो सिनेमा चाहिँ व्यक्तिगत रुपमा भन्दा मन परेन। तर, एक तिहाई मानिसहरु ५० वर्षभन्दा माथिका थिए हलमा। दीपेन्द्र आफैँ चाहिँ यो फिल्मबाट कति सन्तुष्ट हो?
जति पनि क्राउड अहिले आएको छ त्यो सबै दीपराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, माग्ने बुढाकै कारण हो। यो फिल्मलाई हेर्दा धेरै कमी कमजोरी दिनप्रतिदिन रियलाइज हुँदै गएको छ। कमजोरीहरु आभाष भइरहेको छ। हामीकहाँ ६० प्रतिशत चित्त बुझे पनि चित्त बुझाउनुपर्ने अवस्था छ। ६० प्रतिशत आयो भने फस्ट डिभिजन हुन्छ भन्ने न हो। फस्ट डिभिजन ल्याउनु धेरै राम्रो भन्छन् नि। समीक्षकले पनि पर्फेक्सन खोज्छ। निर्देशकले पनि पर्फेक्ट हुन ट्राइ गर्ने हो। तर, पर्फेक्ट चाहिँ हुँदैन। कुनै न कुनै ठाउँमा काम बिग्रिएकै हुन्छ। यसलाई अझ पनि राम्रो बनाउन सकिन्थ्यो भन्ने लाग्छ। तर यो खालको फिल्म बनाउन नहुने भन्ने खालको कुरामा चाहिँ मलाई कुनै रिग्रेट छैन।
आत्म मूल्याङ्क गरेर दीपेन्द्रले अघिल्ला फिल्मसँग तुलना गर्न मिल्छ कि मिल्दैन यो फिल्मलाई?
मैले चाहिँ समग्रमा यो फिल्म बेस्ट भन्नुपर्छ। राम्रो फिल्म बनायो तर दर्शकले हेरेन भने त्यसको के अर्थ? मजा आएन नि। किताब लेख्यो सय प्रति पनि बिकेन भने मजा आएन। खाली के हो भने बिक्री भएको चाहिँ छ्या भन्ने हुनु भएन। नेपालमा मात्र होइन, इन्डियामा पनि अढाइ घन्टा राम्ररी बिताउन सक्ने भयो भने चल्छ। पब्लिसिटी र कलाकार ठीकठाक भयो भने चलिहाल्छ। हाम्रोमा भने एभरेज फिल्म पनि बनाउन सकिरहेका छैनौं। नेपालमा दर्शकलाई रिझाउन खास गाह्रो छैन।
अर्को कुरा समाजको इस्यु त मैले छोडेको छैन नि। खानेपानीको समस्या छ त। फिल्म त्यसमै केन्द्रित छ। ट्रेलरमा कतै त्यो कुरा जोडिएको छैन। त्यो चाहिँ सर्प्राइज होस् भन्ने थियो। दीपकराजहरुको फ्यान फिल्म हेर्न आउँछन् भन्ने पक्का थियो। आइसकेपछि नयाँ कथा पाउँदा त सर्प्राइज भयो नि त। त्यसमा कतिले राजनीतिक रुपमा बायसनेस भयो पनि भने। कतिले निर्दलीय पक्षणपोषण पनि भने। तर, मलाई भने सन्तुष्टि छ। दीपेन्द्र लामा भन्ने निर्देशक छ भन्ने बल्लबल्ल चिनाउँदैछ यसले। पहिले सानो घेरामा चिन्थे, अब घेरा बढ्दैछ।
अब दीपेन्द्र लामा यस्तैखाले सिनेमा निर्देशनतिर लाग्छ कि फरक खालेमा?
मेरो जिक् ज्याक नै हुन्छ। जस्तो पनि काम गर्न सक्छु म। भोलि म बुलबुलभन्दा पनि कडा खाले फिल्म पनि बनाउन सक्छु। अथवा, यो छ माया छपक्कैभन्दा पनि लाइट र हाउडे टाइपको पनि बनाउन सक्छु। भेरियसन्स चाहिँ हुन्छ मेरो काममा।
अब के आउँछ त?
दुई तीनवटा आइडियामा काम भइरहेको छ। दुई तीनवटा पार्टीसँग कुराकानी पनि भइरहेको छ। तर, फाइनल भइसकेको छैन कुन पहिला गर्ने भन्ने। अब कुन गर्दा फाइदा हुन्छ त्यही अगाडि बढाउने हो।
अन्तिम प्रश्न : दीपेन्द्र लामा हिजोजस्तै फिल्म समीक्षकका रुपमा फर्किन्छ कि फर्किन्न?
अब त्यो चाहिँ हुँदैन। फिल्ममै लाग्ने हो अब।